१२ श्रावण २०८१, शनिबार

कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन
  • न्युज मानसराेवर

काठमाडौं– नेपाली कांग्रेस औपचारिक रुपमा १४औं महाधिवेशनमा प्रवेश गरेको छ। शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेर कांग्रेसमा महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

क्रियाशील सदस्यता सूचि प्रकाशित भइसकेका अधिकांश जिल्लामा शुक्रबार वडा तहको अधिवेशन सम्पन्न हुनेछ। क्रियाशील सदस्यता सूची प्रकाशित भए पनि केही जिल्लाको अधिवेशन भने यी जिल्लाहरुसँगै नहुने भएको छ। आवश्यक तयारी नपुगेको जनाउँदै कतिपय जिल्लामा शुक्रबार अधिवेशन नहुने भएको हो।

‘जिल्ला तहमा सहमति भएका स्थानमा शुक्रबार वडा अधिवेशन हुन्छ। अर्को दिन गरौं भन्ने सहमति बन्यो भने १/२ दिनपछि अधिवेशन हुन्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ। २१ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी छ। नामावली प्रकाशित हुन नसकेका जिल्लामा भदौ २६ अघि नै वडा अधिवेशन गर्ने तयारी गरिएको छ। भदौ २७ मा गाउँ/नगरपालिकाको अधिवेशनको कार्यतालिका भएकाले त्यस अघि वडाको अधिवेशन सक्नु अनिवार्य छ।

वडा तहको अधिवेशन मार्फत् क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। एकसय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिलासहित नौ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था छ।

एक सय पचास भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ जनाको सीमाभित्र रही प्रति एक सय थप क्रियाशिल सदस्यमा दुई महिलासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ।

प्रतिनिधि चयन गर्दा विधानको व्यवस्था अनुसार महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट दुई तिहाई संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा प्रतिनिधि निर्वाचित हुनेछन्।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech