१२ श्रावण २०८१, शनिबार

मेयरमा टिकट पक्का गर्न सभापतिमै खास भिडन्त– लुम्बिनीका ४ उपमहानगरमा को–को छन् दौडमा ?
  • न्युज मानसराेवर

बुटवल।  नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनले तीव्रता पाएको छ ।

शुक्रवार एकसाथ वडा अधिवेशन सम्पन्न भएसँगै नगर सभापतिका दाबेदारहरू आफ्नो पक्षका परिमाण पार्ने कसरतमा लागेका छन् ।

वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि मात्र कांग्रेसको नगर सभापतिको उम्मेदवार बन्न पाइने विधानमा व्यवस्था छ ।

नगर अधिवेशन यही भदौ २७ गते हुँदैछ । कांग्रेसको भदौ १८ बाट प्रारम्भ भएको अधिवेशन वडा, गाउँ/नगर, क्षेत्र, जिल्ला प्रदेश हुँदै मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।

नगरको अधिवेशनले संसदीय राजनीतिमा पनि प्रभाव पार्ने भएकाले कांग्रेसका दुवै समूह आफ्नो पक्षका उम्मेदवारहरूलाई जिताउने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामा आफ्ना उम्मेदवारलाई जिताउन घुँडा धसेर लागेका छन् ।

लुम्बिनीमा रूपन्देहीको बुटवल, बाँकेको नेपालगञ्ज र दाङका घोराही तथा तुलसीपुर उपमहानगरपालिका छन् ।

बुटवलमा भट्टराई र गिरीको भिडन्त

रूपन्देही गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला हो । बुटवल उप–महानगरपालिकामा यसपटक कांग्रेसको नगर अधिवेशनमा रोचक छ ।

नगर सभापतिमा हालका उपसभापति विमलराज भट्टराई र प्रजापाल गिरी चुनावी मैदानमा उत्रिँदै छन् ।

नगर सचिव ज्योति भण्डारी र महिला नेतृ रिता केसी आंकाक्षी देखिए पनि अन्तिममा भट्टराई र गिरीबीच नै प्रतिष्पर्धा हुने कांग्रेसका जिल्ला नेताहरू बताउँछन् । भट्टराई पौडेल समूहका हुन् भने गिरी देउवानिकट मानिन्छन् ।

गिरी यसअगाडि नगर सभापतिमा खेलराज पाण्डेसँग पराजित भएका थिए । बुटवलमा पौडेल समूह बलियो छ । यसअगाडि पनि सभापति र उपसभापतिमा पौडेलनिकट पाण्डे र भट्टराई निर्वाचित हुुन् । सम्पूर्ण शक्ति प्रयोग गरेर गिरी गएको अधिवेशनमा जिताउन लागिसकेका थिएनन् ।

गिरीलाई अहिले पनि गृहमन्त्री खाँणको साथ छ । भट्टराईलाई महामन्त्री शशांक कोइरालाले साथ दिँदै आएका छन् ।

यसपटक सभापतिमा जित्नेले आउँदो स्थानीय तहको निर्वाचनमा मेयरको टिकट पाउने सम्भावना हुने भएकाले पनि यसलाई निकै महत्वका साथ हेरिएको छ ।

गएको निर्वाचन जितेपछि सभापति लेखराज पाण्डेले मेयरमा टिकट पाएका थिए । तर, जित हाँसिल गर्न भने सकेनन् । रूपन्देहीका अन्य पालिका तुुलनामा बुटवलमा कांग्रेसको संगठन बलियो छ ।

भट्टराईले आफू दुई कार्यकाल उपसभापति भएर काम गरेकाले अहिले सभापति निर्विरोध पाउनुपर्ने बताउँछन् । ‘२०६७ देखि अहिलेसम्म उपसभापति छु । अब नेतृत्वमा लिने बेला आयो । यो पटक आफूलाई कांग्रेसका सच्चा कार्यकर्ताले विजयी गराउनेछन् । त्यही अभियानका साथ चुनावी अभियानमा छु,’ भट्टराईले भने । बुटवलमा ६५० क्षेत्रीय प्रतिनिधिले नगर सभापति चयन गर्नेछन् ।

अर्का दाबेदार गिरीले नेतृत्वका लागि आफू सही उम्मेदवार भएको बताए । ‘अहिले कांग्रेसको शक्ति वडामा छ, जे गर्छ वडाले गर्छ । यसअगाडि पराजित भएकाले यसपटक कसैलाई नेतृत्व छाड्न सकिँदैन,’ गिरीले भने ।

नेपालगञ्जमा प्रशान्त विष्ट र उमा थापा

बाँकेको नेपालगञ्ज कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाको गृहनगर पनि हो । जिल्ला र नगरमा अहिले कांग्रेसको संस्थापन पक्ष बलियो देखिन्छ । कोइरालानिकट मानिने नेताहरू अहिले देउवा समूहमा देखिन्छन् । अहिले जिल्लादेखि नगर अधिवेशनको तयारीले बाँकेलाई ढपक्कै ढाकेको छ ।

नेपालगञ्ज उपमहानगरमा अहिले तीनजना युवा नेता नेतृत्वका लागि कसरत गरिरहेका छन् । नेपालगञ्जका हालका नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र विनोद रिजाल दाबेदार छन् ।

कांग्रेस महासमिति सदस्य मेघराज वलीले विष्ट र थापाको प्रतिष्पर्धा हुुने आंकलन गरेका छन् । विष्ट देउवा निकट हुन् भने उपप्रमुख थापा कोइराला परिवारसँग निकट छन् । रिजाल भने देउवा निकट मानिन्छन् ।

विष्ट दुुई कार्यकाल नेतृत्वमा रहेकाले अबको सभापति आफूले पाउनुपर्ने थापा बताउँछिन् । तर, विष्टले नगर सपभातिभन्दा माथि चाहेजस्तो पद पाउने नदेखिएपछि फेरि दोहोरिन इच्छा व्यक्त गरेका छन्

घोराहीमा दुई पाण्डे भिड्ने तयारीमा

दाङको घोराही उपमहानगरपालिकाका अहिले नगर सभापति मनोज बुढाथोकी छन् । स्व. खुमबहादुर खड्का निकट मानिने उनले अब नेतृत्वमा नदोहोरिने बताएपछि नगर सभापतिका लागि दुई युवा नेता अगाडि सरेका छन् ।

घोराही वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डे र अर्का नेता दीपक पाण्डे नेतृत्वका लागि रस्साकस्सीमा छन् ।

यस अगाडि नगर सभापतिमा बुढाथोकीसँग झिनो मत अन्तरले सभापतिमा रमेश पराजित भएका थिए । त्यस्तै पूर्व नेविसंघ जिल्ला सभापति समेत भइसकेका दीपकले नेतृत्वका लागि लबिङ गरिरहेका छन् ।

नगर सभापति जित्नेले आउने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारको पाउने सम्भावना हुन्छ । रमेश पौडेल निकट हुन् भने दीपक देउवानिकट मानिन्छन् । रमेशले आफू नेतृत्वका लागि एकमात्र दाबेदार भएको बताए ।

उनले भने, ‘दाङका कांग्रेसलाई सशक्त बनाउने अभियानका साथ पार्टीको संगठन निर्माणदेखि कार्यकर्ताको घर–घरमा पुगेको छु । अबको नेतृत्व युवाको काँधमा आउने गरी म जुटेको छु ।’

तुलसीपुरमा गिरी र नवीन बुढाथोकी

दाङको तुलसीपुरमा नगर सभापति गेहेन्द्र गिरी छन् । उनी पनि भावी नेतृत्वका लागि दाबेदार हुुन् । त्यससँगै युवा नेता नवीन बुढाथोकी पनि नगरको नेतृत्वमा आउन पार्टीमा लबिङ गरिरहेका छन् ।

पूर्वमन्त्री दीपक गिरी, लुम्बिनी प्रदेश मन्त्री डिल्ला चौधरीको गृहनगर भएको हुँदा तुलसीपुरमा उनीहरूको प्रभाव बढी छ । उनीहरू देउवाका निकट मानिन्छन् ।

गेहेन्द्र र नवीन दुवै देउवा गुटकै भएका कारण दुईजना मध्ये एउटालाई नगरको नेतृत्वमा ल्याउने उनीहरूको इच्छा छ । तर, गेहेन्द्रले माथिका अन्य पद दिए आफू नगरसभापतिमा नदोहोरिने संकेत गरेका छन् ।

‘कांग्रेसमा इमानदार नेतालाई गनिँदैन । मलाई पटक–पटक पार्टीबाट धोका भएको छ । अब माथिल्लो पद पाए मेरो दोहोरिन इच्छा छैन,’ उनले भने ।

गेहेन्द्र पूर्व सांसद पनि हुन् । दाङका धेरै वडामा सर्वसम्मत रूपमा वडा अधिवेशन सकिएको छ । केहीमा सर्वसम्मत गर्ने प्रयास जारी छ ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech