१० जेष्ठ २०८२, शुक्रबार

कार्यविधिबिना सभामुखको राजनीतिक सल्लाहकार नियुक्त, मासिक एक लाख पारिश्रमिक
  • न्युज मानसराेवर

जनकपुरधाम– प्रदेश २ का सभामुख सरोज कुमार यादवले बिना कार्यविधि राजनीतिक सल्लाहकारको नियुक्ति गरेको पाइएको छ।

प्रदेशसभा सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नरहेको अवस्थामा सभामुख यादवले अधिकृतस्तर ११ औं तहको पारिश्रमिक पाउने शर्तमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठलाई राजनीतिक सल्लाहकारको नियुक्ति दिइएको थियो।

राजनीतिक सल्लाहकारको रुपमा महासेठले गरी पाँच लाख एक हजार रुपैयाँ पारिश्रमिकको रुपमा समेत बुझिसकेका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोका ज्वाँइ अनिल महासेठलाई कार्यविधि विपरीत राजनीतिक सल्लाहकारमा नियुक्त गरी पाँच महिनामै पाँच लाख रुपैयाँ पारिश्रमिक सुविधा उपलब्ध गराइएको हो।

सभामुख यादवको राजनीतिक सल्लाहकारमा नियुक्त महासेठले गाडी सुविधासहित प्रदेशसभाबाट मासिक एक लाखका दरले २०७६ माघ १५ देखि २०७७ आसार १५ सम्म कुल पाँच लाख एक हजार रुपैयाँ बुझेका हुन्।

सचिवालय व्यवस्थापन तथा सञ्‍चालक समितिको २०७६ माघ १५ गतेको निर्णयले महासेठलाई सल्लाहकारमा नियुक्त गर्दा मासिक ५० हजार ६ सय र गाडी सुविधावापत तलबको ८० प्रतिशत गरी कानुनविपरीत कुल एक लाख रुपैयाँ निर्धारण गरिएको थियो।

कार्यालयको कार्यप्रकृति अनुसार सभामुख, उपसभामुख तथा अन्य प्रदेशसभा सदस्यहरुले पाउने सेवा सुविधामा कानुनी तथा राजनीतिक सल्लाहकार राख्‍न पाउने व्यवस्था नै नरहेको अवस्थामा राजनीतिक पहुँचको आधारमा कानुनलाई मिच्दै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका राजेन्द्र महतोका आफ्ना ज्वाइँलाई सभामुख यादवको सल्लाहकार बनाएका हुन्।

महासेठलाई राजनीतिक सल्लाहकारमा नियुक्ति गर्दा सञ्‍चालन कार्य र सेवा अवधि समेत खुलाइ सम्झौता गर्नुपर्नेमा त्यस्तो कुनै प्रक्रिया पूरा नगरिएको देखिएको हो ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech