१२ श्रावण २०८१, शनिबार

यी हुन् दशैंमा खान सकिने शाकाहारी परिकार : कसरी बनाउने ?
  • न्युज मानसराेवर

दशैंलाई स्वास्थ्यमैत्री बनाउन कस्ता परिकार खाने भन्ने विषयमा धेरैलाई चासो हुन्छ । हिन्दूको महान् चाड दशैं सबैको घरदैलोमा आइसकेको छ । मिठो खाने र राम्रो लगाउने चाडको रूपमा चिनिएको दशैंमा अन्जानका कारण धेरैले रोगको शिकार हुनुपरेको छ ।

दशैंको खाने परिकारमा धेरैले मासुका परिकार सम्झिन्छन् । तर मासु नखानेहरूले विभिन्न शाकाहारी परिकार बनाएर दशैंलाई स्वादिलो बनाउन सक्छन् ।

पानिर आधा किलो, गरम मसला ३ ग्राम, अदुवा र लसुनको पेस्ट १ चिया चम्चा, गेडा जिरा आधा चम्चा, प्याज काटेको १ वटा, तेल २ चिया चम्चा, मसिनो गरी काटेको गोलभेडा २ पिस, टमेटो पिउरी आधाकप (१२५ एमएल), जिरा धनियाँ र खुर्सानीको धुलो आधाआधा चिया चम्चा, गरम मसलाको धुलो आधा चियाचम्चा, धनियाँ आधा मुठा, कसुरी मेथीको धुलो आधा चिया चम्चा, कूकिङ क्रिम आधा कप, काजुको पेस्ट ३ चिया चम्चा, बटर २ चिया चम्चा, नून मरिच स्वादअनुसार, मह या चिनी आधा चम्चा ।

विधिः–

बाक्लो खालको कराइ वा सते प्यान तताउनुस् । तेल हालेर जिरा, होल गरम मसला फुराउनुस् । अदुवा लसुनको पेस्ट हाल्नुस् र इन्डियन सम्पूर्ण मसला हालेर सानो आचमा भुट्नुस् ।

केही समय पश्चात गोलभेडा र गोलभेडाको पिउरी, काजु पेस्ट हालेर मज्जाले पकाउनुस् नून मरिच स्वादअनुसार हाली डाइस काटेको पनिर खन्याइदिनुस् । अरु १० मिनट पकाएर क्रिम, बटर हाल्दिनुस् ।

अन्त्यमा हरियो धनियाँ, कसुरी मेथी, मह हालेर निकाल्नुस् । तपाईंको स्वादिष्ट पनिर बटर मसला तयार भएको छ । अब तातो–तातो रोटी या पुलाउसँग खान सक्नुहुन्छ । पनिर बटर मसलालाई सिधै रेड ग्रेभीमा पनि बनाउन सकिन्छ ।

मिक्स भेज बिर्यानी

सामग्रीः–

डाइस काटेको पनिर आधा किलो, मस्रुम ३०० ग्राम, हरियो केराउ १२० ग्राम, गाजर डाइस काटेको १०० ग्राम, काउली या ब्रोकाउली १५० ग्राम, तेल ६० एमएल, होल गरम मसला ६ ग्राम, जिरा गेडा आधा चिया चम्चा, अदुवा लसुनको पेस्ट १ र आधा चिया चम्चा, प्याज २५० ग्राम, बेसार आधा चिया चम्चा, जिरा धनियाँको धुलो एक चम्चा, गरम मसलाको धुलो आधा चिया चम्चा, दही डेढ कप, धनियाँ १ मुठा, पुदिना १ मुठा, फ्राइ प्याज १५० ग्राम, ड्राइनट्स ९० ग्राम, केसर आधा चिया चम्चा, गुलाबजल ५ एमएल, घ्यू या बटर १२० ग्राम, लामो बासमती बिर्यानी चामल १ किलो, नून मरिच स्वादअनुसार ।

विधिः–

आधाभन्दा बढी होल गरम मसला हालेर २ लिटर पानी उमाल्नुस् र पखालेर चामल ओइराइदिनुस् । ठूलो आचमा चामललाई ७५ प्रतिशत पाक्ने पकाउनुस् र छान्नुस् । त्यतिन्जेल कराइमा तेल हालेर दही सहितको भेजिटेबल ग्रेभी बनाउनुस् र पाकेको मिक्स भेज ग्रेभीलाई साइड लगाइराख्नुस् ।

७५ प्रतिशत पाकेको चामलको ४ भागमा १ भाग डेक्ची या कसौडीमा हाल्नुस् र भेज ग्रेभीको ३ भागको १ भाग हाल्दिनुस् । फ्राइ गरेको ब्राउन प्याज, केसर, धनियाँ, पुदिना, घ्यू अलिअलि हालेर फेरि राइस हालेर छोपिदिनुस् । एकै तरिकाले ३ तह पूरा हुना साथ माथिबाट घ्यूमा भुटेको काजु, किसमिस, बदाम नरिवल, घ्यू, केसर, पुदिना, धनियाँ गुलाबजल, भुटेको प्याज हालेर टाइट हुने गरी छोपिदिने र सानो आचमा २० मिनेट पकाउने र पाकेपछि राइता सलादसँग स्वादिष्ट भेज बिर्यानी खान सकिन्छ ।

फलदारी कोफ्ता करी

सामग्रीः– उसिनेको आलु ५०० ग्राम, ग्रेट गरेको पनिर ३०० ग्राम, काचो केरा उसिनेर मुछेको २०० ग्राम, बेसन १ कप, तेल ४० एमएल, होल गरम मसला ३ ग्राम, अदुवा लसुनको पेस्ट १५ ग्राम, जिरा गेडा आधा चिया चम्चा, मसिनो गरी काटेको प्याज ६० ग्राम, गेलभेडा ४० ग्राम, गरम मसलाको धुलो आधा चिया चम्चा, बेसार आधा चिया चम्चा, जिरा धनियाँको धुलो १–१ चिया चम्चा, खुर्सानीको धुलो १ चिया चम्चा, नून मरिच स्वादअनुसार, हिङ आधा चिया चम्चा, काजु या मगजको पेस्ट आधा कप, टोमेटो पिउरी आधा कप, धनियाँ १ मुठा, बटर २ चिया चम्चा, कुकिङ क्रिम आधा कप, ड्राइनट २० ग्राम, रेड चेरी १ पिस ।

विधिः– आलु, पनिर, गाँजर, चप गरेको ड्राइनट, उसिनेको काँचो केरा, अदुवा लसुनको पेस्ट १ चम्चा, सिजिनिङ बेसन हालेर गोलो–गोलो गुच्चाकार कोफ्ता बनाइ तातेको तेलमा फ्राइ गर्ने र ब्राउन गरी १ साइडमा राख्ने । अर्को कराइमा तताएर तेल हाली गरम मसला र जिरा फुराउँदै ग्रेभी भनाउने र अन्त्यमा क्रिम, बटर हिङ हाली चलाउने । फ्राइ गरेको कोफ्ता ग्रेभीमा हाली २ मिनट उमाल्ने र अन्त्यमा धनियाँ हालेर रोटी या सादा भुजासँग सर्भ गर्ने ।

च्याउको छोइला

सामग्रीः–फ्रेश या क्यानको च्याउ आधा किलो, पोलेको अदुवा लसुन, २५ ग्राम, सुकेको खुर्सानी ४ पिस, भुटेको तोरीको तेल २ चिया चम्चा, हरियो खुर्सानी २ पिस, धनियाँ हरियो १ मुठा, पोलेको टमाटर २ पिस, कागतीको रस ५ एमएल, टिमुरको धुलो आधा चिया चम्चा, मेथी आधा चिया चम्चा, बेसार आधा चिया चम्चा, हरियो लसुन या प्याज २ पिस, जिराको धुलो आधा चिया चम्चा, नून स्वादअनुसार ।

विधिः–
च्याउलाई बोइल गर्नुस् र पानी निचारेर ग्यासको प्लेममा जालिमा राखेर पोल्नुस् र एक साइडमा राख्नुस् । अदुवा लसुन र सुकेको खुर्सानीलाई हल्का पोलेर भुटेको तोरिको तेलमा हालेर ब्यान्ड गर्नुस् र च्याउमा हाल्नुस् । बाँकी सम्पूर्ण सामान हालेर मुच्छनुस् । १ चम्चा तोरीको तेल तताएर मेथी डडाउनुस्  र बेसार हालेर च्याउमा झान्नुस् । यसरी च्याउ छोइला तयार हुन्छ ।

च्याउ छोइला जस्तै पनिर, तोफु, मसेउराको पनि स्वादिष्ट छोइला बनाएर स्न्याक्सको रूपमा खान सकिन्छ । च्याउ चिल्ली, पनिर चिल्ली, तोफु चिल्ली, आलु चिल्ली पनि भेज खानेका लागि इस्न्याक्सको रूपमा बनाएर पस्कन सकिन्छ ।

दशैंका लागि मिठाइमा गाँजरका हल्वा, सेलरोटी, काजुको बर्फी, गुलाब जामन, दूधबरी, रसमलाई, कुराउनी बनाउन सकिन्छ ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech