८ जेष्ठ २०८१, मंगलवार

चासो राखौं चराको चिरबिरमा
  • अनुज घिमिरे

काठमाडौँ। म फार्गो डाउनटाउनमा रहेको एउटा पिज्जा पसलमा बसेर आफ्नो चिसो बियर पिउँदै पिज्जा कुरिरहेको छु। पसल बाटो छेउैमा छ। बेला साँझ–साँझ परेको छ। मैले अरुण थापाको ‘साँझको जुनसँगै आउँथ्यौ तिमी भनेर’ भन्नु परेको छैन। न त जुनेली साँझ नै छ, न त उनको प्रतीक्षा नै छ। देख्नेहरुले हामी दुईलाई भगेँराभगेँरीजस्ता देख्दा हुन्। हामी बाटो छेउको पसलमा भोक र तीर्खा मेटिरहेका छौं। पसल फुटपाथमै छ भन्दा पनि हुन्छ।

मान्छेहरू छेउबाटै हिँडिरहेका छन्। ट्राफिक लाइटमा रातो बत्ती बलेकाले गाडीहरु रोकिएका छन्। गाडीका मान्छेहरू आफ्नो गन्तव्यमा पुग्न अधीर देखिएका छन्। उनीहरुले च्यापेको गाडीको स्टेरिङको पारा हेर्दा नै कस्तो देखिन्छ भन्दा कहिले हरियो बत्ती बल्ला र गाडी बत्याउँला भन्ने देखिन्छ।

तर, सोचेजस्तो कहाँ हुन्छ र जीवन। शायद जनावरले सोच्दैन र पनि उनीहरूले जिन्दगी चलिरहेको हुन्छ। के त्यसैले उनीहरू स्वतन्त्र देखिन्छन्?

त्यही बेला हाम्रो टेबलकै छेउमा भुर्र गरेर एक बथान भँगेरा आउँछन् र भुइँमा बस्छन्। ‘आखिर तिम्रो जीजीविषाले यहाँसम्म लेरायो हैन?’ उनले त्यसो भन्दा म यथार्थको धरातलमा उत्रिएँ।

हँ ! के भनिन् उनले? मेरो दिमाग चलायमान हुन थाल्यो। हो नि त हगि म भँगेराकै पछि लाग्दा लाग्दै पातल प्रवासमा आइपुगेको छु।

मैले हाम्रो नजिकै बस्न आइपुगेका भँगेरामै आँखा गाडेँ। तिनीहरु भुइँमा खसेका पिजाका टुक्राटाक्रीमा रमाउँदै थिए। उनीहरु चिरचिर चुरचुर गरिरहेका थिए।

उनीहरुको चिरबिर सुनेर मेरी उनीले सोधिन्, ‘के कुरा गरिरहेका छन् हँ यिनीहरू? तिमीलाई त थाहा होला नि। तिमी त चराविज्ञ !’

म मान्छेको बोली त बुझ्दिनँ झन् चराले बोलेको के बुझ्नु?? तर उनको आशय थियो कि चराको पछि लागेको यत्रो वर्ष भएको मान्छेले चराको बोली बुझ्ला नि।

उनको प्रश्नले मलाई एकाएक कविवर माधवप्रसाद घिमिरेको भँगेरा र भँगेरी कविता स्मरण गरायो।

कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी 

चुरचुर गर्छ भँगेरो, चिरचिर गर्छे भँगेरी

तिनीहरु पनि चिरचिर–चुरचुरमा व्यस्त थिए। उनीहरू एक अर्कासँग कुरा गर्दै थिए।

चराविद्हरुको भनाइ छ– भँगेरोको चिरचिर–चुरचुर सहवासको आह्वान हो। तर त्यसबाहेक पनि उनीहरुको चिरबिर एक अर्कालाई वरिपरिको खतराबाट सचेत वा सतर्क राख्ने संकेत हो। पिजाको टुक्रा खाँदै गर्दा वरपर नहेरी नखानु केही आउन सक्छ है भन्दै थिए होलान्।

कविवरको कविताको अर्को हरफमा भनिएझैं शायद उनीहरूमा डर थियो। धेरैजसो बाजको आहारा भँगेरा नै हुने गरेका छन्। उनीहरू डराउनु स्वाभाविक हो। शायद त्यो चिरबिरले भनिरहेको होला ‘तिम्रो एउटा आँखाले सिकारीतिर हेर, अर्को आँखाले मतिर हेर। म एउटाले हेर्छु, अर्कोले तिमी हेर। घरजम गर्ने मौसम आउँदैछ। मजाले खानु छ र बच्चाबच्ची हुर्काउन तयार हुनु छ।’

शायद उनीहरू भन्दै थिए— जे भेटिन्छ फ्याट्ट टिपेर खाइहाल्नु।  मान्छे वा केही जन्तु आए उडिहाल्नु। म हेरिरहेको थिएँ, ती भँगेरा जोडी बाटोमा कोही आएको देखे उडिहाल्थे। रेस्टुरेन्टको वेटर केही बोकेर नजिक आउँदा पनि उनीहरू उडिहाल्थे।

शायद तिनले एकर्कालाई भनेथे— आयो है आयो, मान्छे आयो। वा, आयो है आयो बाज आयो वा त्यस्तै केही। जे होस् उनीहरूको समन्वय प्रभावकारी थियो।

प्रभावकारी समन्वयका लागि भँगेराहरु कति सिपालु छन् भने विश्वमै सबैभन्दा धेरै चरा मार्ने घरेलु बिरालो पनि उनीहरूको बठ्याइँले ट्वाँ पर्दा हुन्।

मेरी उनीसँग बसेर बियर र पिज्जामा रमाउँदै गरेको मन के गम खाइरहेको छ भने ती भँगेराहरुलाई घरेलु बिरालोले जति चरा शायद अरू केसैले मार्दैन भन्ने पनि थाहा पनि कि नाइँ।

तर म के कुरामा चकित हुन्छु भने संसार खाएका यी भँगेराले ती बिरालोलाई पनि चकित पार्छन्। भँगेराहरू एसिया, उत्तरी युरोप र अफ्रिकाका आदिवासी प्राणी हुन्। ती अहिले जताततै पाइन्छन्। अन्टार्कटिकाबाहेक भँगेरा नपाउने कुनै महाद्वीप नै छैन।

भँगेरा गुणकारी चरामा पर्छन्। उत्तरी अमेरिकामा त यिनीहरू आक्रामक प्रजातिहरू (इन्भेसिभ स्पिसिज) मा पर्छन्।

नेपालमा भने भँगेरा हराउँदै गएको पाइन्छ। भँगेराहरू घरको कुनै प्वालमा गुड बनाउने क्याभिटी नेस्टर्स हुन्। तर, मानवीय अतिक्रमणका कारण भँगेराको वासस्थान नासिँदै छ भने अचेल हामीले बनाउने सिमेन्टेड घरमा पनि मान्छेलाई बस्ने ठाउँ छ, भँगेरालाई छैन।

पहिलाका घरमा चरालाई गुँड बनाउन प्वाल नै बनाइएको हुन्थ्यो। नेवार आर्किटेक्टमा ‘भौंप्वाचा’ भनेको त्यस्तै प्वाल हो जुन चराका लागि भनेर बनाइन्थ्यो। बनेपाका नेवार कपडा व्यापारको लागि देशभर प्रसिद्ध भएजस्तै, मकवानपुर जिल्लाको टिस्टुङ–पालुङका कर्मीहरु जो घर बनाउन खप्पिस र चर्चित थिए, तिनले बनाउने घरमा प्राणीको लागि पनि ठाउँ हुन्थ्यो। टौवा हुन्थे, पाली हुन्थे। अब ती कुरा शब्दकोशमा मात्र सीमित भएका छन्।

तर अझै पनि ढिलो भने भएको छैन। माधवप्रसाद घिमिरेको कवितामा रमाउनलाई हामीले अर्को पुस्तालाई पनि मौका दिन सक्छौं। आफ्नो घरमा काठको गुँड वा त्यस्तै केही संरचनाहरू राखिदिने हो भने, बिहान उठेर चिया पिउँदै कविको कविताको भाव आफैंले देख्न र भोग्न सकिन्छ। घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्।नेपाल समयमा प्रकाशित

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech