१२ श्रावण २०८१, शनिबार

एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य
  • न्युज मानसराेवर

काठमाडौँ\नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्। यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ। पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरूलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए। उनले भन्नुभयो, “अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ।”

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन , पुर्चौडी र मैलौली  नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन्।  यस्तै  दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास  गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन्।

यसैबिच  जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते गर्ने   छ। प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ।   एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म  चितवनमा हुँदैछ।

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech