१२ श्रावण २०८१, शनिबार

बाँकेमा कांग्रेस निर्वाचनका सबै कार्यक्रम पछाडी धकेलिए
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा तय भएका निर्वाचन सम्बन्धी सबै कार्यक्रम पछाडी धकेलिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले यसअघि कात्तिक २७ गते वडा, कात्तिक ३० गते गाउँपालिका/नगरपालिका, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र र मंसिर १० गते जिल्लाको निर्वाचन गर्ने समय तय गरेको थियो ।

क्रियाशिल सदस्यताका विषयमा विवाद उत्पन्न भएर निर्वाचन परिचालन समितिको सचिवालयमा तालाबन्दी गरिएपछि सबै निर्वाचन कार्यक्रम पछाडी धकेलिएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले बताए । कांग्रेसको असन्तुष्ट समुहले २ सय ३९ जनाको क्रियाशिल सदस्यता थप भएर आउन लागेको भन्दै निर्वाचन परिचालन समितिको सचिवालयमा बुधबार बेलुका एक्कासी तालाबन्दी गरेको थियो ।

सचिवालयमा लगाइएको ताला उक्त समुहले बिहीबार आफै खोलिसकेको छ । तालाबन्दी खुलेपनि निर्वाचन कार्यक्रम प्रभावित भएकाले पछाडी धकेलिएको निर्वाचन अधिकृत भट्टराईले बताए । ‘ताला खुलेपनि पुर्वनिर्धारित तालिका अनुसार निर्वाचन गराउन सम्भव भएन, त्यसकारण वडादेखी जिल्ला तहको निर्वाचन कार्यक्रम एक दिन पछाडी धकेलिएको छ,’ उनले भने ।

भट्टराईका अनुसार बिहीबारका लागि तय भएको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम शुक्रबार (भोली)नेपालगन्जमा गर्न लागिएको छ । यस्तै शुक्रबारका लागि तोकिएको उम्मेदवार मनोनयन कार्यक्रम शनिबार हुनेछ, भने कात्तिक २८ गते आइतबार ८१ वटै वडाको निर्वाचन गराइनेछ ।

निर्वाचन कार्यक्रम एकदिन पछाडी धकेलिएपनि निर्वाचन सम्पन्न गर्न तयारी तिब्र पारिएको निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले बताए । ‘तालाबन्दीले हामीलाई कामको प्रेसर बढाएको छ, तर दिनरात काम गरेर भएपनि निर्वाचन सम्पन्न गराउन लागिपरेका छौं,’ निर्वाचनको ब्यवस्थापकीय जिम्मेवारी निभाइरहेका यादवले भने । तालाबन्दी खुलेपछि जिल्ला निर्वाचन परिचालन समितिका पदाधिकारीले बिहीबार बेलुका अबेरसम्म निर्वाचन कार्यक्रमको तयारी गरेको समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष ज्ञवालीले बताए ।

उनका अनुसार जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम निर्वाचन अधिकृत भट्टराई, सहायक निर्वाचन अधिकृत अधिवक्ता चित्रबहादुर शाही, निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, समितिका सदस्य एवम् शिक्षक संघ बाँकेका अध्यक्ष यादव, समितिका सदस्य(प्रवक्ता)एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रजातान्त्रिक प्राध्यापक संघ बाँकेका अध्यक्ष अशोक बस्नेत लगायत ब्यक्तिहरु निर्वाचन सम्बन्धी काममा खटिएका थिए ।

निर्वाचन कार्यक्रम एकदिन पछाडी धकेलिँदा कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुने सहायक निर्वाचन अधिकृत शाहीले बताएका छन् ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech