२९ भाद्र २०८१, शनिबार

अल्लोका कपडाबाट चिनिएकी चित्रकली

उद्यम

  • न्युज मानसराेवर

बुटवल\ प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढामगर सानैबाट अल्लोको भाङ्ग्रो बुन्थिन् । बाल्यावस्थामा चित्रकलीलाई आमाले अल्लोको कपडा बुन्न लगाउँथिन् ।

अल्लो भनेको के हो भन्ने नबुझ्दै उनले कपडा बुन्न जानिन् । यस्ता काम महिलाका भागमा पर्थे । समयक्रममा उनले बुन्ने त्यो अल्लो उद्यम रहेछ भन्ने बुझिन् ।

अल्लो सिस्नो प्रजातिको वनस्पति हो भने भाङ्ग्रो भनेको मगर समुदायको पोशाक । गाईवस्तु जंगलमा चराउन जाँदा खोला बगर र चिस्यानमा पाइने धागो (सिस्नोको रेसा) निकालेर ल्याउँथिन् उनी ।

जिल्लाको दुर्गम स्याउलीबाङ गाउँमा भाङग्रोबाट चाखका साथ तानमा बुनेर कपडा तयार पार्थिन् उनी । सानैदेखिको सीपलाई कार्मक्षेत्र बनाउँदै आएकी चित्रकलीले त्यसै खेर गएको अल्लोलाई व्यावसायिक उद्यममा विकास गर्दै नेपालका कुनाकन्दरा छिचोल्दै युरोप अमेरिकासम्म आफ्ना उत्पादन पुर्‍याएर उद्यममा सफलता पाएकी छन् ।

गत हप्ता रूपन्देहीको तिलोत्तमा भएको लुम्बिनी प्रदेशको घरेलु तथा साना उद्योग महासंघको अधिवेशनमा आएकी चित्रकलीले भनिन्, ‘जाँगर हुनेले राज्यको मुख नताकी देशमै केही गरेर देखाउँछन्, दृढ इच्छा हुनेले परदेश भाँसिनु पर्दैन ।’

लामो समय अल्लो धागो बचेर आम्दानी गर्दै आएकी चित्रकलीले २ दशकअघि हिमाल अल्लो कपडा उद्योग दर्ता सञ्चालन गरेकी छन् । उनको उद्योगबाट कोट, झोला, पर्स, टोपी, चप्पल, जुहारी कोट, इस्टकोट तयार हुन्छ । अल्लोले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै लगेको छ ।

उनका उत्पादन देशमा मात्र सीमित नभई दायरा फराकिलो हुँदै विश्वका धेरै देशसम्म पुगेका छन् । घरभन्दा बाहिर निस्केर त्यसको व्यावसायिकता खोज्ने प्रयास गरिन् उनले तर उनको यो प्रयास परिवार र समुदायका लागि मात्र नभई समग्र महिलाको प्रेरणाको स्रोत बनेको छ ।

घरबाहिर व्यावसायिक रूपले कपडा बनाउन अझै पनि महिलालाई पहिला सामाजिक र पारिवारिक बन्धनसँग लड्नुपर्छ, जुन चित्रकलीले पनि गरिन् तर उनको क्षमता, समाज, परिवार, चुलोचौको कुनैले पनि रोक्न सकेन । ९० हजार लगानीबाट थालेको उद्योगको पूँजी अहिले ८० लाख पुगेको छ । उनी आफ्नो घरेलु उद्यमबाट मासिक लाखौं रूपैयाँ आर्जन गर्छिन् । गाउँकै मौलिक सामग्री र पूर्खासँग पनि जोडिएकाले धेरैले मन पराउन थालेका उनी बताउँछिन् ।

नौबहिनी गाउँपालिकाको केन्द्र बाहाने बजारमा चित्रकलीको उद्योग छ । गाउँगाउँबाट चाल्ने सिस्नो अर्थात् मगर भाषामा पुवाको रेसा बनाएर महिलाहरूले उनको उद्योगमा पुर्‍याउँछन् । नौबहिनीसँग जोडिएको छिमेकी जिल्ला रोल्पाको सिर्प, गाम, भित्रीगाम, बागलुङको याङम्याङसहित जिल्लाको स्यालिवाङ, लिघा, डामृ, खवाङ, लुङ लेक, अर्खा, रजवारा, पुँजा र स्वर्गद्वारीबाट अल्लोको रेसा आउने गरेको छ । रेसालाई प्रतिकिलो ५००–७५० रुपैयाँसम्ममा उनले खरिद गर्छिन् ।

सामान्य लेखपढ गर्ने ५४ वर्षीया चित्रकली प्यूठानकी अल्लो अभियन्ताको रूपमा स्थापित छिन् । उनी नाम–दाम आर्जनसँगै परम्परा–संस्कृतिको सम्बद्र्धनमा पनि सफल देखिन्छन् । अल्लोलाई बजारमा ‘ब्रान्ड’को रूपमा स्थापित गराउन उनी सफल भएकी छन् ।

उनी लुम्बिनी प्रदेश सरकारबाट प्रदेश रत्न पदकबाट समेत विभूषित भएकी छन् । अल्लोले नै उनलाई २ दर्जनभन्दा बढी पुरस्कार दिलाएको छ । अल्लोबाटै उनी देशविदेश घुमेकी छन् । अहिले लुम्बिनी प्रदेश सभाका सांसदहरूले अल्लोलाई प्रबद्र्धन गर्न अल्लोको कोट लगाउने गर्छन् ।

सानैमा उनको बिहे खिमबहादुरसँग भएको थियो । बिहेपछि पनि परिवार समाज मिलाउँदै आफ्नो उद्यमलाई पनि निरन्तर अगाडि बढाउँदै लगिन् । त्यसमा उनका पति खिमबहादुरले पनि साथ दिए । उनको उद्योगमा उत्पादित अल्लोका कपडा अहिले साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुरसम्म निर्यात हुन्छन् ।

‘बरु धेरै नेपालीले चाइनिज कपडा सस्तो खोज्छन्,’ उनी भन्छिन्, ‘युरोप र अमेरिका लगायत विश्वका धेरै देशमा मेरो उत्पादनको खोजी भइरहेको छ अहिले ।’

बुढामगरको उद्योगमा अहिले २० जनाभन्दा बढी कामदारले रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा अल्लो उत्पादनमा हजारौं व्यक्ति जोडिएका छन् । उनको उद्योगलाई २ वर्षदेखिको कोरोना महामारीले केही संकुचन गरेको छ । चित्रकली अल्लोका कपडा बिक्री गर्न मेला–महोत्सव र प्रदर्शनमा पुगिहाल्छिन् तर अहिले मेला महोत्सव चलेका छैनन् ।

अल्लोका उत्पादन प्राकृतिक चिकित्सासँग पनि जोडिएको उनको भनाइ छ । सिस्नो पोल्ने वनस्पति भएकाले यसका उत्पादन लगाउँदा उच्च रक्तचाप भएका बिरामीलाई धेरै फाइदा हुने उनी बताउँछिन् । अल्लो उत्पादनप्रतिको उनको लगावमा कुनै कमी आएको छैन । उनका २ छोराहरू पनि अहिले व्यावसायिक सिस्ने खेती गरी आमाले शुरू गरेको उद्यममा जोडिएका छन् ।

बुढामगरले प्यूठान घुम्न आउने पर्यटकहरूका लागि फर्किंदा लैजाने चिनोको रूपमा ‘अल्लो’ एउटा गतिलो कोसेली बनाएकी छन् । चित्रकलीको काम गर्ने उत्साह र अल्लोलाई व्यावसायिक बनाउने जोसलाई पहिले गलत व्याख्या गर्नेहरू पनि आज आफूहरू पनि अल्लोबाट कपडा बनाउन चाहन्छन् ।

बजारका रेडिमेट सामग्रीको तुलनामा अल्लोका सामग्री उत्पादन गर्न मेहनत र खर्च धेरै लाग्ने भएकाले बजार मूल्यभन्दा महंगो हुने उनको भनाइ छ ।

गाउँघरमा सञ्चालन भएको उद्योगबाट उत्पादित सामग्रीहरूको बजारीकरण र प्रबद्र्धनमा सबै तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनी आग्रह गर्छिन् । उनी उद्यमी महिलाका लागि प्रेरणाको स्रोत हुन् ।

  • ४ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech