१२ श्रावण २०८१, शनिबार

एमालेमा सहमतिमै नेतृत्व चयनको प्रयास, आजदेखि बन्दसत्र
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेले सहमतिबाटै नेतृत्व चयनको प्रयास थालेको छ । दशौ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ भने त्यसअघि नै नेताहरुले सहमतिमा नेतृत्व चयनका लागि प्रयास गरिरहेका हुन् ।

नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । बन्दसत्रको उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

एमालेले सहमतिको प्रयासस्वरुप गएराति बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप गर्न प्रस्ताव गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन् ।

सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन ओली पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । यस्तै उपाध्यक्ष, उपमहासचिव पनि थप गर्ने निर्णय भएको छ भने यसअघि खारेज गरिएको पोलिटब्युरो पनि ब्युताइएको छ । केन्द्रीय कमिटी सदस्यको एक तिहाइ नबढ्ने गरी पोलिटब्युरो बनाउने एमालेले प्रस्ताव गरेको छ । यो प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएर बन्दसत्र हलले पारित गरेपछि लागु हुनेछ ।
केन्द्रीय कमिटी बैठकपछि एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले सहमति नै नेतृत्व चयनको सम्भावना बढेर गएको बताए । एमालेको बन्दसत्र आज सुरु भइ आइतबार नयाँ नेतृत्व चयन गरेर महाधिवेशन नै सकिनेछ ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech