१३ बैशाख २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा सजाइँदै सभा कक्ष, बन्दसत्र कभर्डहलमा
  • न्युज मानसराेवर

बाँके\ नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन शुरू गरिएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।

मञ्च व्यवस्थापन समितिका सदस्य डा. प्रदीप पराजुलीले मञ्च निर्माणका लागि आवश्यक सामग्री भृकुटीमण्डप पु-याइसकेको बताए। मञ्च सुरक्षा घेरबारका सामग्री पनि थुपार्न थालिएको छ । त्यस्तै, कभर्डहलभित्र पनि मञ्च निर्माण र सिट व्यवस्थापनको काम शुरू हुँदै छ । तीन दिनको अवधिमा मञ्च निर्माणदेखि सिट व्यवस्थापनलगायतका निर्माणकार्य पूरा भइसक्नेछन् ।

महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित पाहुनाको सवारी पार्किङ महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ ।

त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यको मतदानका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृह गरी तीन स्थानमा मतदान केन्द्र राखिनेछन् । काँग्रेस महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

महाधिवेशन व्यवस्थापनका लागि काँग्रेस पार्टी समर्थक भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयम्सेवकका रूपमा महाधिवेशन स्थलमा खटिनेछन् ।

महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना नै बनाएको छ । प्रहरी उपरीक्षक दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ । देवबहादुर कुँवरले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech