१४ बैशाख २०८१, शुक्रबार

बाह्रौं महाधिवेशन : कृष्णप्रसाद भट्टराईले कांग्रेसलाई ‘निरर्थक र नक्कली’ पार्टी भनेपछि
  • किशोर दहाल

बाँके\ एघारौं र बाह्रौं महाधिवेशनको बीचमा नेपाली कांग्रेस र समग्र राजनीतिले नै महत्त्वपूर्ण परिघटनाहरु बेहोर्‍यो। २०५९ सालमा शेरबहादुर देउवाले पार्टी विभाजन गर्दै गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) २०६४ असोज ७ गते पुनः नेपाली कांग्रेसमै मिसियो। त्यहीबेला तत्कालीन राजा ज्ञानेन्द्रको ‘शाही कू’ विरुद्ध उठेको आन्दोलनले जनआन्दोलनकै रुप लियो र २०६२/६३ सालको जनआन्दोलन सफल भयो। माओवादी शान्ति प्रक्रियामा आयो। संविधानसभाको निर्वाचन भयो।

संविधानसभा निर्वाचनको नतिजा कांग्रेसका लागि अकल्पनीय थियो। त्यहीबीचमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भयो। कोइरालाको निधन भएपछि सुशील कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

यही अवस्थाबीच कांग्रेसको बाह्रौं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न भयो। पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई पनि कांग्रेस महाधिवेशनमा सहभागिताका लागि चिठी पठाइएको थियो। तर, उनले सहभागी हुन अस्वीकार गरे। कांग्रेसको गणतान्त्रिक नीतिबाट असन्तुष्ट रहेका र केही वर्षयता निष्क्रिय रहेका उनले भदौ ३१ मा कार्यवाहक सभापति सुशील कोइरालालाई पत्र लेख्दै कांग्रेस जस्तो ‘निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झिएको’ बताए। ‘परम आदरणीय एवम् हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय बीपी एवं गणेशमान सिंहजीलाई पनि बिर्सिइसकेको संस्था आजको तथाकथित गणतान्त्रिक कांग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद दिँदै म यस्तो निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झी सो को जनाउ तपाईंलाई दिन चाहन्छु- यही पत्रद्वारा,’ भट्टराईको पत्रमा उल्लेख छ।

महाधिवेशनको उद्घाटनसत्र असोज १ गते खुलामञ्चमा सम्पन्न भएको थियो। भोलिपल्ट भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो। असोज ५ गते नयाँ नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन भएको थियो। बन्दसत्रमा महामन्त्री विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै, वरिष्ठ नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जुन असोज ४ गते पारित भएको थियो।

‘पार्टी विभाजनको सम्पूर्ण पीडा र प्रभावलाई बिर्साउँदै तथा २०६४ असोजमा भएको नेपाली कांग्रेसको एकतालाई अझ सुदृढ बनाउने अभिभारा पनि बाह्रौं महाधिवेशनको काँधमा छ। यसका साथै संविधानसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको अनपेक्षित परिणामको गम्भीर मूल्याङ्‍कन गर्दै पार्टीको नीति, नेतृत्व र संगठन संरचनामा ल्याउनुपर्ने नयाँ परिवर्तन र परिमार्जनको विषय पनि बाह्रौं महाधिवेशनको गम्भीर छलफलको विषय हो,’ १२औं महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ।

बाह्रौं महाधिवेशनमा पदाधिकारीका तीनबाहेक केन्द्रीय कार्यसमितिका ६१ सदस्यको लागि निर्वाचन भयो। जसअनुसार, खुलाबाट २५, अञ्चलबाट १४, महिलाबाट ६, दलितबाट २ महिलासहित ५, मधेसीबाट २ महिलासहित ५, आदिवासी जनजातिबाट २ महिलासहित ५ र मुस्लिमबाट १ जनाका लागि निर्वाचन भएको थियो। त्यस अतिरिक्त सभापतिले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, २१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था भयो। २१ जनामा पनि महिला, मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिम एक-एक जना र अन्य १६ जना मनोनीत गर्ने व्यवस्था थियो।

यस महाधिवेशनमा सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्यासी थिए। कोइरालाको प्यानलमा महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी उम्मेदवार थिए। देउवाको प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार भएका थिए। तेस्रो धार भन्दै सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्यले उम्मेदवारी दिएका थिए। कोइराला र देउवाले सदस्यसम्मै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

महाधिवेशनमा मत दिन र गणना गर्न सहजताका लागि सभापति, अन्य पदाधिकारी, खुलातर्फका केन्द्रीय सदस्य, अञ्चलतर्फका केन्द्रीय सदस्य, समावेशीका पाँच समूहका गरी नौवटा मतपत्रमा मत दिने व्यवस्था गरिएको थियो। सभापतिको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा पहिलो र दोस्रो उम्मेदवारका लागि पुनः मतदान गर्ने प्रावधान भए पनि त्यस्तो अवस्था आएन। कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत पाए। त्यस्तै, देउवाले १३१७ र तामाङले ७८ मत पाए। कूल तीन हजार ८८ मध्ये तीन हजार ६२ मतमात्रै खसेको थियो। मतदानमा २६ जना अनुपस्थित थिए। १५ मत बदर भएका थिए। महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भए।

केन्द्रीय सदस्यमा खुलातर्फबाट (२५ जना) गगन थापा, अर्जुननरसिंह केसी, खुमबहादुर खडका, शशांक कोइराला, प्रदीप गिरि, सुजाता कोइराला, रामचन्द्र पौडेल, रामशरण महत, बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, कृष्ण सिटौला, चन्द्र भण्डारी, नारायण खड्का, बलबहादुर केसी, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, शंकर भण्डारी, कुलबहादुर गुरुङ, मनमोहन भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, दीपकुमार उपाध्याय निर्वाचित भए।

केन्द्रीय सदस्यमा अञ्चलतर्फबाट (१४ जना) नरेन्द्र नेम्वाङ, आमोदप्रसाद उपाध्याय, रामकुमार चौधरी, आनन्द ढुंगाना, नवीन्द्रराज जोशी, रमेश रिजाल, सुरेन्द्र पाण्डे, कृष्णचन्द्र नेपाली, अर्जुन जोशी, दीपक गिरी, जीवनबहादुर शाही, किशोरसिंह राठौर, बद्री पाण्डे र दिलेन्द्र बडु निर्वाचित भए।

त्यस्तै, केन्द्रीय सदस्यमा महिलातर्फबाट (६ जना) पुष्पा भुसाल, मीना पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डिना र ईश्वरी न्यौपाने निर्वाचित भए। दलिततर्फबाट (२ महिला सहित ५ जना) मानबहादुर विक, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार र कविता सरदार निर्वाचित भए। मधेसीतर्फबाट (२ महिला सहित ५ जना) उमाकान्त चौधरी, अजय चौरसिया, महेन्द्र यादव, मिनाक्षी झा र पार्वती डिसी चौधरी निर्वाचित भए। आदिवासी जनजातितर्फबाट (२ महिलासहित ५ जना) भीष्म आङ्दम्बे, सूर्यमान गुरुङ, धनबहादुर गुरुङ, सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए। मुस्लिम तर्फबाट (१ जना) मो. अफताव आलम निर्वाचित भए।नेपाल लाइभ बाट

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech