१४ बैशाख २०८१, शुक्रबार

‘कांग्रेसको महाधिवेशनपछि राजनीतिले कोल्टे फेर्न सक्छ’
  • दिपककुमार उपाध्याय

विगतमा नेपाली कांग्रेसको महाधिवेशनका बेला देशको राजनीतिलाई दिशानिर्देश गर्नका लागि महत्त्वपूर्ण राजनीतिक निर्णय हुने गरेको थियो ।

यसपटक बाध्यात्मक परिस्थितिमा महाधिवेशन हुँदैछ । संविधान र पार्टी विधानले बाध्य नपारेको भए अहिले पनि महाधिवेशन हुन्थ्यो, हुन्नथ्यो यसै भन्न सकिन्न ।

समयमै पार्टीको महाधिवेशन गर्नेबारे नेताहरूले पटक्कै दूरदर्शिता देखाउन सकेनन् । लोकतान्त्रिक पार्टीको महाधिवेशनलाई पटक–पटक सारेर पार्टीलाई भागबण्डामा चलाउने काम भयो ।

जसरी हुन्छ, पावर ग्र्याप गर्ने नेताहरूमा जुन किसिमको चिन्तन देखियो, त्यो दुःखद् छ । समयको गति र शक्ति आकलन गर्न नसक्दा पछि पछुतो मात्र हुन्छ, कांग्रेसका लागि ।

नेपालमा लोकतान्त्रिक मूल्य मान्यता र इमानको राजनीतिको स्खलनको कुरा हामीले धेरै गर्‍यौं । संविधान सभामार्फत धेरै कुराको परिवर्तन गर्‍यौं । तर देशको अवस्था धापमा परेको जनावरजस्तो झन्झन् भासिँदै गएको देखिन्छ । देशका समस्या समाधान गर्ने मामिलामा नेताहरूमा पटक्कै दूरदर्शिता देखिएन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाध्यताको उपज बनेको छ । समावेशिता आजको आवश्यकता हो, तर यसमा यति जटिलता थप्यौं कि केन्द्रको विवाद गाउँसम्म जाने कुरालाई प्रश्रय दिएका छौं ।

नेताहरूले तेरो/मेरो गुटको कुरा गरेर तलसम्म कार्यकर्तालाई विभक्त गर्‍यौं । नेताहरू राष्ट्रको गरिमा बढाउने र पार्टीलाई बलियो बनाउने भन्दा पनि गुटको पक्षपोषणमा दंग हुनुहुन्छ । मुलुकका अगाडि देखिएका समस्या समाधान नहुँदा देश दुर्घटनाउन्मुख छ, यसमा कांग्रेस अछुतो रहन्न ।

महाधिवेशनलगत्तै मुलुकमा सबै तहका निर्वाचन सामुन्नेमा आउँदैछ । देशको राजनीतिक परिस्थितिले गर्दा मुलुक अर्ली इलेक्सनमा पनि जान सक्ला । मुलुकमा कुनै राजनीतिक उथलपुथल हुनसक्ने संकेत मैले पाएको छु । त्यसको एउटा कारण एमसीसी पनि हुनसक्छ ।

इलेक्सनअघि कांग्रेसले आफ्ना भाँचिएका र कुँडिएका मनहरूलाई मिलाउन सक्नु पर्छ । महाधिवेशनलगत्तै कांग्रेसले प्रत्येक गाउँमा गएर कुँडिएका मनलाई मिलाउन सकेन भने ठूलो भुमरीमा फस्छ ।

सबै पद प्रतिष्ठाका लागि भागदौड गरिरहेको समयमा मैले यसपटकको महाधिवेशनबाट आफूले स्वैच्छिक अवकाश जस्तो लिएको छु । समाजमा एकपटक पद र मान पाएको व्यक्तिले सधैँ पदको हानथाप गर्नुहुँदैन भनेर हानथापबाट अलग्गै रहने निर्णय लिएको हुँ । म जस्ता हजारौं कार्यकर्ताले महाधिवेशनमा भाग लिन चाहेका छैनन् ।

कतिपयले वामपन्थी दल विभाजित छन्, त्यसैले धेरै मेहनत नगरे पनि कांग्रेसले सर्लक्क जित्छ भन्छन्, तर परिस्थिति त्यस्तो पनि छैन । अस्ति एमालेको अधिवेशनमा देख्यौं नि, सत्ता र पैसाको खर्च गरेर भीड उतार्नै प्रतिस्पर्धा । यो राजनीतिमा देखिएको नैतिकताको स्खलन पनि हो ।

राजनीतिक दलका ठूला सभामा अनेक किसिमका स्रोत र साधन प्रयोग भयो भन्ने कुराको कतै चिन्ता छैन, केवल यति मान्छे आए भनेर वाहवाही मात्र गरियो ।

कांग्रेसमा विवेक शून्य जमात

अधिवेशनपछि कांग्रेसमा विवेक शून्य मानिसको जमात र भीड लाग्ने खतरा देखिएको छ । अहिले जति पनि महाधिवेशन प्रतिनिधि आएका छन्, तलैबाट गुटको आधारमा विवेक शून्य हिसाबले केन्द्रको अधिवेशनमा आएका छन् ।

यसअघि तल अलिकति विवेक प्रयोग हुन्थ्यो, जसका कारण केन्द्रमा सन्तुलित परिणाम आउँथ्यो ।

अहिलेका प्रतिनिधि हेर्दा उनीहरूले विवेक प्रयोग गर्ने छाँट देखिएको छैन । केन्द्रको महाधिवेशनमा क्षेत्रको जस्तो नहोस्, सन्तुलित परिणाम आओस् भन्नेमा प्रतिनिधि सचेत हुनुपर्छ ।

२१ औं शताब्दीको माग सम्बोधन गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो चाहना छ । नेपाली कांग्रेस देशभित्र मात्र होइन बाहिर पनि एउटा विश्वसनीयता कमाएको दल हो ।

विदेशीले अहिले पनि कांग्रेसलाई विश्वास र भरोसा गर्छन् । लोकतन्त्रको मूल्य मान्यता रहँदासम्म अझैपनि कांग्रेस अरू दलभन्दा पृथक छ, किनभने लोकतान्त्रिक अभ्यासको खुला प्रयोग अरू पार्टीमा यति पनि छैन ।

निष्ठा र निरन्तरताको कुरा गर्दा अन्य पार्टी कांग्रेसको तुलनामा पनि छैनन् । अहिले नेपालका वामपन्थी दलमा इमानको कुनै लक्षण देखिँदैन । त्यो रोग कांग्रेसमा नसरोस् भन्ने हाम्रो शुभेच्छा हो । कांग्रेसले बीपीको आदर्शको कुरा बिर्सेर अरू कुराको बहस गर्न सकिँदैन । संस्थापक नेताहरूको आदर्श अनुशरण गरेका कारण कांग्रेस अहिलेसम्म बचेको हो ।

पछिल्लो समयमा कांग्रेस नेता कार्यकर्तामा आदर्शको क्षयीकरण शुरू भएको छ । आफ्नो पार्टीको निर्वाचनमा पनि लाखौँलाख खर्च गरेर निर्वाचित हुने होड चलेको छ । त्यो मानसिकताले हामी कहाँ पुग्छौं ?

राजनीतिले कोल्टे फेर्ला ? 

समकालीन नेताहरूलाई पावरको तृष्णा मेट्न सत्तामा रहौं जस्तो लाग्छ होला । त्याग अहिलेको नेतृत्वबाट आउन सकेन ।

शेरबहादुरजीलाई पार्टीको अभिभावक बन्ने अवसर थियो यसपटक, त्यो उहाँले गुमाउनुभयो । उहाँकै पालमा पार्टी कार्यालयमा अनशन बस्नु परेको, प्रहरी लगाएर अधिवेशन गर्नु परेको जस्तो घटना अहिले भयो ।

अभिभावकत्व ग्रहण गर्नुस्, भन्ने आग्रह स्वीकार नगरेर आफ्नो गुटको पक्षपोषणमा लागेको देखियो ।

हिजो शेरबहादुरजीलाई अन्याय भयो भन्नेहरू आज शेरबहादुरजीबाट अन्याय भयो भनेर लागिरहेका छन् । विमलेन्द्र निधि र गोपालमानले आफ्नो कुरो राख्नुभएको छ ।

शेरबहादुरजीले आफ्नो एकछत्र कायम गर्ने, अर्को पक्षका आकांक्षी अलिकति पनि टसमस नहुने कुरा भयो । समयको औचित्य, आवश्यकता र जनभावनअनुसार काम गरेको देखिएन ।

पेलेर अगाडि बढ्ने जस्तो कांग्रेसमा देखियो । अझै पनि आशावादी छौं, कांग्रेसको आन्तरिक लोकतन्त्रमा यत्रो खारिएर आएको अभिमत र विचारले राम्रो नेतृत्व छान्ला भनेर विश्वास गरौं ।

महाधिवेशनपछि कांंग्रेसले आजको समस्या समाधन र चुनौती के हुन् भन्ने कुरा ब्लु प्रिन्ट गरेर जनतामा लैजानुपर्छ, सोहीअनुसार समाधानको विकल्प दिनुपर्छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा कांग्रेसप्रतिको आस्था र विश्वास घटेको छैन । लोकतान्त्रिक प्रक्रिया पनि भइरहेको छ । तर निष्ठा र इमान्दारितामा प्रश्न उठिरहेको छ । धेरै विकृति सहँदै यहाँसम्म आइपुग्यौं ।

भृकुटीमण्डपबाट निस्कँदै गरेको कांग्रेस

भृकुटीमण्डपबाट निस्कँदै गरेको कांग्रेसले देशको समस्या समाधान गर्नुपर्छ । महाधिवेशनबाट नयाँ पुस्ताको आगमन हुँदैछ ।

४० वर्षका युवाहरूले जन्मेदेखि अहिलेसम्म त्यही नेताको अनुहार देखिरहेका छन् । यस किसिमका चुनौतीलाई आशा जगाउने समाजवादउन्मुख भनेर बनायौं ।

चुनौतीलाई सामना गर्न सक्ने भिजनरी नेतृत्व आउनुपर्छ । क्षमतावान युवा नेतृत्व आउँछ भन्ने आशा गरौं । जसरी धापमा परेको जनावर जति चलायो झन् भासमा पुग्दै गर्छ, त्यसैगरी कांग्रेसलाई भासमा पर्न नदिन केही गर्नुपर्ने अवस्था छ ।

देशको अर्थतन्त्र जर्जर बनेको र असफलतातर्फ उन्मुख देशलाई सफलतातर्फ लैजान दूरदृष्टि र क्षमताको आवश्यकता छ ।

देशलाई निकास दिन सक्यो भने कांग्रेस महाधिवेशनको सार्थकता छ, होइन भने समयको बेगले कांग्रेसलाई पनि अछुतो राख्दैन ।

म भने नेपाली कांग्रेसको यो महाधिवेशनमा प्रतिस्पर्धा भन्दा बाहिर छु । किन भाग नलिने भन्दा, म जत्तिको मान्छेलाई पदको जरुरत छैन । नेताहरूले मलाई किन छाड्ने भनेर सोध्ने ? आज मैले त्याग गरे भोलि झन् राम्रो हुन्छ भन्ने कुरा बुझे हुने नि ! कांग्रेसलाई बलियो पार्टी बनाउन छाडेको हो । किसुनजी र गणेमानजीको प्रेरणा पनि हो ।

मैले त्यागें, साथीहरूले त्यागको भावना देखाएनन्, पद नै सबैथोक भनेर लड्दा कांग्रेस सिद्धिन्छ ।

(कुराकानीमा आधारित)

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech