७ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन : ८ बजेबाट हुने भनिएको मतदान अझै शुरू हुन सकेन
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट हुने भनिएको मतदान अझै शुरू हुन सकेको छैन ।

मतपत्र आइनपुगेको र अन्य केही प्राविधिक तयारी पूरा हुन समय लागेकाले मतदानमा ढिलाइ भएको कांग्रेस स्रोतले जनाएको छ ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा विभिन्न क्लस्टर अन्तर्गतका केन्द्रीय सदस्यका लागि मतदान गर्ने कार्यसूची छ ।

सभापतिका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् ।

देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन् ।

शेखर प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजाल प्रतिस्पर्धामा छन् ।

प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

सभापतिका लागि भएको मतदानको गणना मतदान सकिएलगत्तै आजै गर्ने तयारी छ । सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात् ५१ प्रतिशत ल्याउन नसके दोस्रो चरणमा मतदान गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

मंसिर २४ गते शुरू भएको कांग्रेसको चौधौं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech