१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक सकियो, एमाले अवरोधबीच ६ अध्यादेश पेस
  • न्युज मानसराेवर

बाँके\ प्रतिनिधिसभाको हिउँदे अधिवशेनको पहिलो बैठक छोटो समय बसेर सकिएको छ । बैठक सुरू हुनसाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । अर्को बैठक पुस ६ गते बस्ने भएको छ ।

जनप्रतिनिधिमुलक थलोमा अवरोध नगर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे ।

एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाए । एमाले विरोधबीच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् । संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए।

विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech