६ बैशाख २०८१, बिहीबार

विष्णु पौडेलले राजनीतिबारे मुख खोलेनन्, गृहनगरमै घनश्याम भुसाल किन बोलेनन्?
  • न्युज मानसराेवर

बुटवल– मञ्चमा पुगेपछि प्रायः नेताहरु राजनीतिक भाषण गर्न तम्सन्छन्। तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंगलबार बालमैत्री स्थानीय शासन नगर घोषणा कार्यक्रममा सहभागी दलका नेताहरुले अलि फरक व्यवहार देखाए। मञ्च पाउनेबित्तिकै राजनीतिक आरोप प्रत्यारोपमा होमिने नेताहरु कोही बोल्दै बालेनन् भने बोल्ने पनि विषयमा मात्रै केन्द्रित भए, राजतीतितिर प्रवेश गरेनन्।

मञ्चभरि नेताहरुको लामै लस्कर थियो। तिलोत्तमा नगरपालिकाले निकै तामझाम गर्दै विद्यार्थी, नगरका टोल समिति तथा शिक्षक गरी नगरपालिकाको कम्पाउण्ड भरि नै मानिसहरु जुटाएको थियो। तर, पनि नेताहरुले राजनीतिक भाषण गरेनन्।

प्रमुख अतिथि थिए, नेकपा एमालेका उपाध्यक्ष, रुपन्देहीका प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल। विशिष्ट अतिथि थिए, एमालेका नेता नेता घनश्याम भुसाल। तिलोत्तमा भुसालको गृह नगर हो।

यीबाहेक नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम शर्मा न्यौपाने, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती मगर, सांसद रमा अर्याल, बुटवल नगरका प्रमुख शिवराज सुवेदी र अन्य राजनीतिक दलका प्रतिनिधिले मञ्च नै भरिएको थियो।

एमालेको महाधिवेशनपछि पहिलो पटक गृहजिल्ला आएका उपाध्यक्ष पौडेल र नेता भुसालको भाषण सुन्न सहभागीहरु इच्छुक देखिन्थे। तर, त्यो इच्छा  पूरा भएन। प्रमुख अतिथि रहेका पौडेलले भाषण त गरे, तर उनले पनि वर्तमान राजनीति, एमालेको महाधिवेशन लगायतका कुनै पनि सन्दर्भ कोट्याएनन्। भुसाल त झन् आफ्नै गृहनगरमा भएको कार्यक्रममा बोल्दै बोलेनन्।

एमाले महाधिवेशनपछि भुसालले सार्वजनिक कार्यक्रममा बोलेका छैनन्। एमालेको उपाध्यक्ष पदबाट पराजित भएपछि उनको अभिव्यक्ति कस्तो आउँछ, त्यो धेरैको चासोको बिषय बनेको छ। त्यसैले कार्यक्रममा सहभागी पत्रकारहरुले भुसाल के बोल्छन् भनेर पर्खिएका थिए। कार्यक्रम सञ्चालक तथा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले मञ्चमै रहेका भुसालको तर्फबाट शुभकामना छ भनी सुनाए। त्यसपछि प्रमुख अतिथि पौडेललाई बोल्न आग्रह गरे।

आफ्नै नगरको कार्यक्रममा भुसाल नबोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि कार्यक्रममा सरिक भएका राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपानेले समेत बोलेका थिएनन्।

भुसाल निकट मानिने नगरप्रमुख वासुदेव घिमिरे पछिल्लो समय एमाले उपाध्यक्ष विष्णु पौडेलसँग नजिक भएका छन्। संसद विघटनको विषयमा शुरुमा भुसालकै पक्षमा रहेपनि घिमिरे पौडेलसँगको भेटपछि केपी ओलीकै पक्षमा फर्केका थिए। त्यसयता भुसालसँग घिमिरेको सम्बन्ध चिसिएको थियो।

१० बुँदे सहमतिपछि भुसाल एमालेमै फर्किएपछि तिलोत्तमाका नगरप्रमुखसँग सम्बन्ध सुधार भएको छ। तर, घिमिरेले आफ्नै नगरको कार्यक्रममा पौडेललाई प्राथमिकता दिँदै प्रमुख अतिथि बनाएकाले भुसाल चिढिएको कतिपय नेताहरु बताउँछन्।

मंगलबारको कार्यक्रममा उनी नबोल्नुले त्यही संकेत गरेको एक नेताले बताए। तर, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले भने प्रमुख अतिथिको समय नभएकाले सल्लाहमै भुसालले भाषण नगरेको बताए।

घोषणासभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष पौडेलले रुपन्देहीलाई विकासको नमुना बनाउने प्रतिबद्धता जनाए। उनले भौतिक पूर्वाधारका हिसाबले रुपन्देहीको तिलोत्तमा अब्बल बनेको बताउँदै अब मानवीय विकासलाई पनि ध्यान दिनुपर्ने बताए।

तिलोत्तमा नगरपालिका अरुका लागि सिक्ने थलोका रुपमा रहेको बताए। घोषणासभामा लुम्बिनीका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगर, कांग्रेस लुम्बिनीका सांसद रमा अर्याल, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले तिलोत्तमा बालमैत्री नगर घोषणा भएकाले यसलाई व्यवहारमै कार्यान्वयन गर्न सुझाव दिएका थिए।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech