११ श्रावण २०८१, शुक्रबार

जिल्लाका प्रमुख दुई शक्ति जुटे जिल्ला अधिवेशनमा
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको जिल्ला अधिवेशनको तिब्रता  शुरु भएको छ । एकहप्ता बीचको अन्तरमा काँग्रेस र एमालेको जिल्ला अधिवेशन शुरु हुनेछ  ।

नेकपा एमालेको यही पुष २३ गते र नेपाली काँग्रेसको २७ गते अधिवेशन हुन लागेको हो । यो अधिवेशनबाट नेतृत्व समेत छानिने भएपछि दुवै पार्टीलाई अधिवेशनको चटारो छ ।

नेपाली काँग्रेसभित्र जिल्ला नेतृत्वका लागि आधा दर्जनबढी आकांक्षी देखिएका छन् । जिल्ला पार्टी सभापतिका लागि लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, संविधानसभा सदस्य बादशाह कुर्मी, नेताहरु राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, नारायण गौडेल र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने तयारी गरेका छन् ।

गौडेलको संस्थापन इतरबाट उम्मेदवार निश्चित भइसकेको छ । अन्य ६ जना हमाल, राणा, कुर्मी, बर्मा, सिजापति र शाह भने संस्थापन पक्षको हुनुहुन्छ । आफू सभापतिमा लड्ने बताएका उम्मेदवारहरुले प्यानल भने अझै बनाएका छैनन् ।

आकांक्षी नेताहरुको छलफल, भेटघाट र अन्तरक्रिया बाक्लिन थालेको छ । आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरुको दौडधुप शुरु भएको छ ।

यस्तै नेकपा एमाले बाँकेलाई पनि आठौं जिल्ला अधिवेशनले छोइसकेको छ । जिल्ला अधिवेशनको मिति नजिकिएसंगै नेता कार्यकर्ताको व्यस्तता बढेको छ ।

एमाले विभाजनपछि हुन लागेको पहिलो जिल्ला अधिवेशनको नेतृत्वमा पुग्न चार जना नेताले दाबेदारी प्रस्तुत गरेका छन् । वर्तमान अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किष्मतकुमार कक्षपति, सचिव रत्न खत्री र जिल्ला कमिटी सदस्य डिल्ली बिसीले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् ।

गुरुङ यसअघि सातौं अधिवेशनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित भएका थिए । तर, माओवादीसँगको एकता भंग हुनु र तत्कालिन एमाले बाँकेका अध्यक्ष अशोक कोइराला माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेपछि गुरुङ अध्यक्ष बनेका हुन् ।

खजुरा गाउँपालिकाका अध्यक्षसमेत रहेका अहिलेका उपाध्यक्ष कक्षपति पनि अध्यक्षको दावी गरेका छन् । वद्यार्थी राजनीतिबाट उदाएका वर्तमान सचिव रत्न खत्री पनि जिल्ला अध्यक्ष बन्ने दौडमा रहेका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापति समेत भइसकेका खत्री अध्यक्षको दावी गर्दै कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् ।

यस्तै लामो समयदेखि पत्रकारिता गर्दै आएका डिल्ली विसी पनि अध्यक्षको तयारीसहित कार्यकर्तासँगको भेटघाटमा ब्यस्त छन् । जिल्ला अधिवेशनका लागि एमालेले यही १७ गते प्रतिनिधि चयन गर्दैछ । ८१ वटै वडाबाट करिब एक हजारको हाराहारीमा प्रतिनिधि चयन हुनेछन् ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech