११ बैशाख २०८१, मंगलवार

दुईचार जना नेताले पार्टी छोड्दैमा हाम्रो उद्देश्य कमजोर हुँदैन : ओली
  • न्युज मानसराेवर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समूहले पार्टी छोडेर गएको भन्दै दुई चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘केहीले सोचेका होलान् हामी हटेपछि अब पार्टी कसरी चल्छ भनेर। दुई चार जना मान्छे पिलो निचोरिएजसरी निचोरिँदैमा देशका जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर हुँदैन। नुहाउँदा पनि दुई चारवटा डल्ला साबुन खर्च भएर गयो। अरु के हुन्छ?,’ उनले भने, ‘०५४ सालमा पनि चोइटिएर जानेहरू थिए।’

उनले प्रचण्ड नेपाल पक्षको नेकपालाई १० सिट जितेर देखाउन पनि चुनौती दिए। ‘म वहाँहरूलाई भन्न चाहन्छु १० वटा सिटहरू ल्याएर देखाउनुस्। उहाँहरू ठूल्ठूला कुरा गरिरहनुभाछ,’ उनले भने।

ओलीले भारतले हडपेको जमिन नेपालको नक्सामा सामेल गर्दा केही नेताहरूलाई टाउको दुखेको आरोप लगाए। धनगढीमा आयोजिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘भारतसँगको हाम्रो सम्बन्ध अझै पनि राम्रो छ। हाम्रा अधिकार सुरक्षित राख्दा सम्बन्ध बिग्रँदैन। लिम्पियाधुरा, लिपुलेक र कालापानी र हाम्रो भूमि हो। ५८ वर्षदेखि हडपिएको थियो। त्यसलाई सामेल गरी संविधधान संशोधन गरेका थियौँ। संसद्‍मा एकमत थियो,’ उनले भने, ‘नेपालको भूभाग सामेल गर्दा यही प्रदेशका मान्छेलाई टाउको दुख्यो। नक्कली राष्टवादीहरू। आज सुदूरपश्चिमले ४ मन्त्री पाएको छ। यसबेला उहाँ दुखी हुनुहुन्छ। वैज्ञानिक वन व्यव्थापनका नाममा सिद्ध्याउने उहाँको योजना अलपत्र पर्‍यो। त्यही भएर उहाँ दुखी हुनुन्छ।

ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई भगौडाको संज्ञा दिएका छन्।  ‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला। केन्द्रीय कमिटीको बैठकमा नआएर  सडकमा गए,  गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन्। उहाँहरूका समर्थकहरू गालीगलौज गरेर  हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ उनले भने, ‘यहाँका  विकासका समस्या निराकरण गर्दै छौं। यी काम अघि बढाइने छ। हाम्रो सपना नै देश विकास गर्नु हो भ्रष्टाचार अन्त्य गर्नु हो।

उनले सदूरपश्चिमलाई अब पछि पर्न नदिने वाचासमेत गरे।

‘यहाँका समस्या मैले बुझेको छु। गरिबी र अशिक्षाको समस्या छ। स्वास्थ्य समस्या छ। रोजगारी र बस्ती व्यवस्थापनका समस्या छन्। यी सबै समस्या निराकरण गर्छौं,’ उनले भनेका थिए।  नेपाल लाइभ

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech