१६ चैत्र २०८०, शुक्रबार

‘प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलुक भुमरीमा फस्यो’
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगञ्जमा विरोधसभा गरेको छ । त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा वलीको असंवैधानिक र प्रतिगामी कदमका कारण मुलुक अस्थिरताको भूमरीमा फसेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमेत संविधानको बलात्कार गर्ने प्रधानमन्त्री वलीको मतियार बनेको उनीहरूले बताए ।

पूर्वमन्त्री एवं जसपाका केन्द्रिय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अदालतले प्रतिनिधिसभा पुनःस्थापित नगरे सडकबाटै संसद् पुनःस्थापित गरिने चेतावनी दिए । उनले संविधानमै नभएको व्यवस्थालाई टेकेर गैरसंवैधानिक कदम चाल्ने प्रधानमन्त्री वली अहंकारी भएको बताए ।

विरोधसभामा कार्यकारिणी सदस्य अकबाल अहमद शाह र अमृता अग्रहरीले प्रधानमन्त्रीको सनकका भरमा प्रतिनिधिसभा विघटन भएकाले तत्काल पुनःस्थापित हुनुपर्ने बताए । प्रधानमन्त्री वलीले लोकतन्त्रको हत्या गरेको दुबै जनाको जिकिर थियो ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech