१६ चैत्र २०८०, शुक्रबार

ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरे : प्रचण्ड
  • न्युज मानसराेवर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेको बताएका छन्। बुधबार आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताए।

विगतमा राजकीय र सार्वभौम अधिकार राजा-महाराजामा अन्तरनिहित हुने गरेको भए पनि अहिले सार्वभौम नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान जारी गरेको उनले चर्चा गरे। ‘पहिलो पटक इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न भनिएको छ। पहिलोचोटी उत्पीडित आदिवासी, जनजाति, दलित, महिला, मधेसी, मुस्लिम सबैको पहिचान र अधिकारलाई मान्यता दिएर त्यसलाई विकसित गर्दै लैजाने, परिमार्जित गर्दै लैजाने संकल्प गरिएको छ’, उनले भने।

संविधानमा नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका हक अधिकार संस्थागत गरिएको उनको भनाइ छ। तर, त्यसमाथि ओलीले निर्ममतापूर्वक प्रहार गरेको उनले बताए।

‘देशलाई ठूलो संकटमा पुर्‍याउने, संविधानलाई अतिक्रमण गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हमला गर्ने दुस्साहस गरिएको छ’, उनले आह्वान गरे, ‘हामी अहिले देशमा यो संविधान कार्यान्वयन गर्दै संविधानलाई अझ परिमार्जन गर्दै जानुपर्ने ठाउँमा संविधानको रक्षाका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि, यसमाथि भएको निरंकुश र स्वेच्छाचारी हमलाका विरुद्ध संघर्षको मैदानमा जानुपर्ने अवस्था छ।’नेपाल लाइभ

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech