१२ बैशाख २०८१, बुधबार

कार्टुन ओछ्याएर सडकमा बसेका दाहाल–नेपाल प्रदेश सांसदको गीतमा ताली बजाएर नबोली हिँडे

झलनाथले भने– ओली सरकार आफैं कुहिएर झर्छ

  • न्युज मानसराेवर

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आइतबार माइतीघरमा धर्ना कार्यक्रम राख्यो। कार्यक्रममा दाहाल, नेपाल, झलनाथ खनाल लगायतका शीर्ष नेताहरु उपस्थित थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेका विरोधसभालाई सम्बोधन गर्न देश दौडाहामा रहेका नेताहरु आइतबार भने फरक भावभंगीमा देखिए। धर्ना कार्यक्रममा उनीहरुको आसनका लागि स्टेज र सोफा हुने कुरा भएन। बरु माइतीघरको सडकमा नेताहरुको आसनका लागि कार्टुनका टुक्रा ओछ्याइएको थियो। तिनै कार्टुनका टुक्रामा पलेंटी कसेर बसेका थिए– दाहाल र नेपाल। खनाल भने सडकमा देखिएनन्।

करिब एक घण्टा चिसो सडकमा बसेका दाहाल शान्त तर थकित देखिन्थे। नेपालको हाउभाउ भने फुर्तिलो नै थियो।

धर्नाको बीचमै बागमती प्रदेशकी सांसद मीना ज्ञवालीले माहोल तताइन्। प्रतिनिधिसभा विघटनले संविधानमाथि प्रहार भएको र त्यसलाई बचाउनुपर्ने आशयको गीत सुनाएर उनले सहभागीको ताली पाइन्।

यस्तो थियो उनले सुनाएको गीतको अंशः      

तयार छौं सडकमै मर्नलाई
संविधानको सुरक्षा गर्नलाई
रातो झण्डा रातै रुमाल
लोकतन्त्रलाई बचाउने हो भने कस कम्मर रगत उमाल
संघीयता जोगाउने हो भने कस कम्मर रगत उमाल
सूर्य हाम्रो छ साथमा झलमल
फटाहाले नपार अलमल
लाखौं वीरको जीवन र रगतले
होली खेल्यो ओलीको सनकले
रातो झण्डा रातै रुमाल 

सांसद ज्ञवालीले गीत सुनाइरहँदा वरिष्ठ नेता नेपालले ताली पिटिरहे। दाहालले भने त्यति जाँगर चलाएको देखिएन। ज्ञवालीको गीत सकिएपछि मात्र दाहालले ताली पिटेका थिए। आफूसँगै बसेका सुरेन्द्र पाण्डेलगायत केही नेताहरुसँग कानेखुसी गर्ने बाहेक दाहाल घोत्लिएरै बसिरहे।

देशभरका विरोधसभामा प्रधानमन्त्री केपी ओलीमाथि दाहाल र नेपाल विष वमन गर्थे। कुनै बेलाका आफ्नै सहकर्मीमाथि नखनिएको कुनै कार्यक्रम हुन्थेन। अधिकांश समय ओली र उनको समूहको आलोचनामा समय खर्चने दाहाल–नेपाल आज भने मौन रहे। एक घण्टा कार्टुनका ‘चकटी’मा पलेंटी मारेर बसेका उनीहरु अरुका कुरा सुनेर उठेर हिँडे।

ओलीको आन्दोलनमा राजावादीलाई सर्कुलर र हिन्दू राष्ट्र

धर्ना कार्यक्रममा नेता सुरेन्द्र पाण्डे र पम्फा भुसालले बोलेका थिए। दुवै नेताले नेकपा ओली समूहले यही २३ गते गर्ने आमसभामा उपस्थित हुन राजावादीले सर्कुलर गरेको र हिन्दू राष्ट्र ब्युँयाउने खेल भइरहेको बताए।

नेता पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमलाई आधुनिक महाभारतको संज्ञा दिए। ‘म अहिलेको यो परिस्थितिलाई आधुनिक महाभारत भन्छु। महाभारतमा हस्तिनापुरको एउटै परिवारको बीचमा युद्ध भएको थियो। अहिले नेपालमा अर्को त्यस्तै महाभारतको युद्धमा हामी सहभागी छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले सरकारी गाडी र सम्पत्ति दुरुपयोग गरेर देश दौडाहा गरिरहेको आरोप पाण्डेले लगाए। ओली अब कम्युनिस्ट नरहेको उनको तर्क थियो। ‘ओली अब कम्युनिस्ट रहेनन्। मन्दिर र देउताको भाकल गर्न अग्रसर बनेका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन खोजेका छैनन्,’ उनले भने, ‘अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन्। नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोसिस गरिरहेका छन्।’

ओलीले हिन्दू राज्य घोषणा गर्ने चर्चा सुनिएको र उनले त्योे बाटो समात्न सक्ने पाण्डेले बताए। २३ गतेको जनसभामा सहभागी हुन राजावादी संघ–संगठनले उर्दी जारी गरेको सुनिएको उनको भनाइ थियो। ‘त्यही सभामा ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ। ओलीले यो गर्न सक्छन्,’ पाण्डेले भने।

नेतृ पम्फा भुषालले पनि नारायणहिटी अगाडि सभा गरेर ओलीले इतिहास भइसकेको राजतन्त्र र हिन्दू राज्यको मुद्दा ब्युँताउन लागेको बताइन्।

’सरकारी स्रोतसाधनको प्रयोग गरेर पञ्च र्‍याली गर्ने रे। त्यसको सभा नारायणहिटीको गेटमा रे। यसले के संकेत दिन्छ ? संविधान र संघीयता समाप्त गर्ने, हिन्दू राज्य ल्याउने,’ उनले भनिन्, ‘नेपाली जनताले २०६२–०६३ मै आर्यघाटमा जलाइसकेको प्रतिगामीका कुनै निकायलाई फेरि पुनर्स्थापित गर्ने एउटा षड्यन्त्र छ रे।’

आजको २ घण्टाकाे हुने कार्यतालिका थियाे। तर, करिब १ घण्टा बितेपछि भुषालले जारी धर्ना अन्त्य भएको घोषणा गरिन्। २१ गतेसम्म हुने भनिएको धर्ना आगामी विरोध प्रदर्शनका कार्यक्रमको तयारीका लागि १८ गते नै सकिएको घोषणा भुषालले गरिन्। उनले धर्ना कार्यक्रम सकिएको घोषणा गरेपछि दाहाल–नेपाल कार्यक्रमस्थलबाट उठे र नजिकै रहेकाे गाडी चढेर बानेश्वरतर्फ हुइँकिए।

‘केपी ओली मुर्दावाद’को हुटिङ ! 

शीर्ष नेताहरु मौन रहँदा कार्यकर्ता भने आक्रामक देखिन्थे। सांसद ज्ञवालीले गीत गाउँदा होस् वा पाण्डे र भुषालले भाषण गर्दा, पछिल्लो लरहमा बसेका कार्यकर्ताले हुटिङ लगाइरहेका थिए, केपी ओली मूर्दावाद भन्दै नारा लगाइरहेका थिए। हुटिङ सुनेर अघिल्लो लहरमा बसेका नेताहरु मुस्कुराइरहेमात्र।

झलनाथको टिप्पणी– ओली सरकार कुहिएर झर्छ 

धर्नाबाट उठेर दाहाल–नेपाल पत्रकारहरुबाट उम्किहाले। तर, वरिष्ठ नेता झलनाथ खनालले भने नबोली धरै पाएनन्। संसद् पुनर्स्थापना हुने सम्भावना कति छ ? खनाललाई पत्रकारहरुले प्रश्न तेर्स्याए। खनालले कन्फिडेन्टका साथ भने, हन्ड्रेड पर्सेन्ट।

खनाललाई अर्को प्रश्न सोधियो– संसद् पुनर्स्थापनापछि केपी ओलीलाई हटाउनेबारे के सोच्नुभएको छ ? खनालको जवाफ थियो– केही दिनपछि संसद् पुनर्स्थापना हुन्छ। त्यसपछि ओली सरकार कुहिएर आफैं झर्नेछ।

गएको पुस १० गते पनि पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेता–कार्यकर्ताहरु ‘हामी यहाँ छौँ’ लेखिएको प्लाकार्ड बोकेर माइतीघरमा धर्ना दिएका थिए। नेपाल समय

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech