८ बैशाख २०८१, शनिबार

सरकारले अपराधीलाई कानुनी दायरामा ल्याउन सकेन : संग्रौला
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले सरकारले छोरीचेलीहरुको सुरक्षा गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य डा. संग्रौलाले छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदासमेत सरकारले अपराधीलाई कानुनको दायरमा ल्याउन नसकेको टिप्पणी गरिन् ।

उनले बैतडीमा यसै साता बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्टको अपराधीलाई तत्काल कानुनी कठ्घरामा ल्याई कडा सजाय दिन माग गरिन् । हत्या, हिंसा र बलात्कार वर्तमान सरकाको उपहार जस्तो बनिरहेको टिप्पणी गर्दै डा.संग्रौलाले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको जिकिर गरिन् ।

संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उनले कानुनलाई टेकेर सर्वोच्च अदालतले उचित न्याय निरुपण गर्ने विश्वास व्यक्त गरिन् ।

अवैधानिक सरकारले संवैधानिक परिषद्लाई कब्जामा लिएर गरेको असंवैधानिक नियुक्ति कांग्रेसलाई मान्य नभएको उनको स्पष्टोक्ति छ । नेपाली जनतालाई करको भारी बोकाउने सरकार जनप्रिय हुनै नसक्ने भन्दै उनले कोरोना कहरमा पनि भ्रष्टाचारको आहालमा डुबेको सरकार सर्वत्र बद्नाम भएको टिप्पणी गरिन् ।

डा. संग्रौलाले पार्टीभित्र एक तिहाई महिला प्रतिनिधित्व भएपनि अब नेतृत्व वा पदाधिकारीमै महिला सहभागिताका लागि आफूहरु लडिरहेको बताइन् । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति किरण कोइराला लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech