१३ बैशाख २०८१, बिहीबार

कांग्रेसको चौधौं महाधिवेशन भदौ ७ देखि १० सम्म
  • न्युज मानसराेवर

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्न प्रस्ताव गरिएको छ।

बुधबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकअघिको शीर्ष नेताहरुको छलफलले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेको हो।

छलफलमा सहभागी एक नेताका अनुसार शीर्ष नेताबीच जुटेको यो प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ। कांग्रेसले यही फागुन ७ गतेदेखि पार्टीको महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर, कोरोना महामारीलाई देखाउँदै निर्धारित मितिमा महाधिवेशन हुन सकेन।

०७२ फागुन २६ गते सकिएको १३ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिएको छ। विधानअनुसार थपिएको एक वर्षको म्यादसमेत २६ फागुनमा सकिँदैछ। अब महाधिवेशन गर्न संविधानले दिएको ६ महिनाको सुविधामात्रै बाँकी छ।

संविधानमा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्नेछैन’ भन्ने उल्लेख छ ।

कांग्रेसले यही संवैधानिक सुविधाको उपयोग गर्दै बढीमा ६ महिना अर्थात् आगामी २६ भदौसम्म महाधिवेशन गर्ने गरी कार्यकाल लम्ब्याउन सक्छ। संवैधानिक व्यवस्था अनुसार नै भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याइएको हो।नेपाल समय

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech