१६ चैत्र २०८०, शुक्रबार

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमती
  • न्युज मानसराेवर

काठमाण्डौ । सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । बिहीवार बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो ।

सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । बिहीवार संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच हिजो पहिलो चरणको औपचारिक वार्ता भएको थियो । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ ।

यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता टोली गठन भएको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech