१६ चैत्र २०८०, शुक्रबार

क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको अध्ययन हुन्छ : मन्त्री रायमाझी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।    उर्जामन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले कुनै पनि हालतमा साथ नछाड्ने स्पष्ट पारे। उनले भने, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि, हामीलाई केही चिन्ता छैन।’

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए। उनले तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे।

मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने बताए। उनले प्रधानमन्त्री ओलीलाई तत्कालीन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए। देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भए पनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए। अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए।

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आइपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए। आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे।

रायमाझीले सञ्चारकर्मीको एक प्रश्नको जवाफ दिँदै आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको पनि स्पष्ट पारे। बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरुको भेलामा प्रसंगवश त्यो कुरा उठेकाले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए।

उनले भने, ‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो। व्यापक रुपमा यो विषय उठाउनुभयो। पहिले पनि उठिराखेकै थियो। त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबले, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो। हो, मैले भनेको कुरा के हो भने–हो, यी कुरा उठेका छन्। यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ। मैले यत्ति भनेको हो। मैले आँफै उब्जाएर भनेको होइन।’

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने, ‘हामी त्यसको अध्ययनमा छौँ। अब त्यो विभिन्न निकायबाट खोज्ने काम होला, औचित्य र आवश्यकताको आधारमा अगाडि बढ्छ होला।’

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिए पनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे। बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे। उनले अब लोडसेडिङ हुने कुनै पनि सम्भावना नहरेको जिकिर गरे। आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुने पनि उनले घोषणा गरे।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech