११ बैशाख २०८१, मंगलवार

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान
  • न्युज मानसराेवर

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएकी छन् ।

उनले अपरान्ह चार बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकी हुन् ।

दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । पूर्वप्रधानमन्त्रीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक दलबीच तिक्तता बढेको थियो ।

त्यस्तै गएको फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पुर्याइदिएपछि वर्तमान सरकारको भविष्य अन्योलमा परेको छ ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech