१२ बैशाख २०८१, बुधबार

नक्सामा अटाएको कालापानी जनगणनामा समेटिएला ?

२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि लिम्पियाधुरा र कालापानीका बासिन्दाको जनगणना हुन सकेको छैन

  • प्रेम चन्द

बाँके बैजनाथ ।  सरकारले राष्ट्रिय जनगणनाको तयारी तीव्र रूपमा अघि बढाएको छ। गत वर्ष नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा र कालपानी क्षेत्रका बासिन्दा जनगणनामा कसरी समेटिएलान् त ?

२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभागका बासिन्दाको जनगणना हुन सकेको छैन।

नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो। केही जनगणनामा दार्चुलास्थित लिम्पियाधुरा र कालापानीका बासिन्दा पनि नेपालको जनसंख्यामा समेटिएका थिए।

२०१८ को जनगणनामा अग्रज पत्रकार भैरव रिसाल सो क्षेत्रमा शाखा अधिकृत भएर खटिएका थिए। त्यति बेला व्यास क्षेत्रका गुन्जी, नावी, कुटी, तिङ्कर र छाङ्रु गाउँको जनगणना गरिएको केन्द्रीय तथ्यांक विभागको अभिलेखमा उल्लेख छ।

त्यसपछिका जनगणनामा ती भूभागका बासिन्दा समेटिएका छैनन्।

सरकारले गत जेठ ४ गते नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सामा लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएका हुन्। सरकारले अद्यावधिक प्रशासनिक नक्सा सार्वजनिक गरे पनि नयाँ नक्साभित्रका नागरिकको जनगणना कसरी गर्ने भन्ने अन्योल कायमै छ। त्यसैले आगामी जनगणनामा सो क्षेत्रका बासिन्दालाई समेट्नुपर्ने चुनौती सरकारसामु छ।

कालापानी र लिम्पियाधुराको जनगणना गर्दा भारत रिसाउने र नगर्दा स्वयम् नेपालकै भूभाग गुम्ने चुनौती रहेको केन्द्रीय तथ्यांक विभागका अधिकारी बताउँछन्।

विभागका निर्देशक ढुण्डीराज लामिछाने नेपाली भूभागको जनगणना गर्ने आफ्नो जिम्मेवारी रहे पनि कसरी गर्ने भन्नेबारे अस्पष्टता कायमै रहेको बताउँछन्।

उनी भन्छन्, ‘कालापानी र लिम्पियाधुरामा जनगणना कसरी गर्ने भन्ने विषयमा हामी अन्योलमा छौं। यसबारे मन्त्रिपरिषद्मा छलफल अगाडि बढाएका छौं।’  उनले मन्त्रिपरिषद्बाट जे निर्णय हुन्छ, सोहीअनुसार गरिने बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल कालापानी–लिम्पियाधुरा क्षेत्रका नेपालीलाई जनगणनामा कसरी समेट्ने भन्ने विषय गृह मन्त्रालयको पनि चासो रहेको बताउँछन्।

उनी भन्छन्, ‘यसमा गृहको पनि चासो छ। ती क्षेत्रको जनगणना कसरी गर्ने भनेर छलफल चलाइरहेका छौं। निष्कर्ष आएको छैन।’

भारतीय प्रशासनले नेपालीलाई दार्चुलाको छाङ्रुसम्म मात्रै जान दिन्छ। कालापानी, गुन्जी, नावी र कुटीमा नेपालीलाई प्रवेश निषेध छ।

त्यसैले गुन्जी, नावी र कुटीमा रहेको नेपालीको विवरण छाङ्रुबाटै संकलन गर्नुपर्ने अवस्था रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘गणनाको सिद्धान्त त घरघरमा गएर संकलन गर्नुपर्छ र कोही नछुटून् तथा कोही नदोहोरियून् भन्ने हो। तर अन द स्पट घरैमा पुग्न नसकेपछि छाङ्रुबाटै भए पनि विवरण संकलन गरेर ल्याउनुपर्छ।’

गणनामा नावी, गुन्जी, कुटी लगायतका क्षेत्र पनि समेटिनुपर्ने श्रेष्ठ बताउँछन्। उनका अनुसार ती ठाउँको विवरण पनि गुन्जीमा रहेका नेपालीबाट संकलन गर्न सकिन्छ।

‘जनगणना गर्दा ती गाउँको जनगणना भुर्चअलबाट गरिएको थियो भनेर त्यसको तथ्यांक आउनुपर्छ,’ श्रेष्ठ भन्छन्।

सीमाविद् श्रेष्ठले भारतले कश्मीरमा पाकिस्तानी भूमितर्फ रहेका आफ्ना नागरिकको जनगणना पनि यसैगरी गरेको उदाहरण दिए। उनले भने, ‘भारतले कश्मीरबाट पाकिस्तानी क्षेत्रमा रहेका आफ्ना नागरिकको विवरण संकलन गर्दै आएको छ। त्यसैलाई आधार मानेर कालापानी क्षेत्र जनगणना छाङ्रु गएर संकलन गर्नुपर्छ।’

तयारी तीव्र

राष्ट्रिय जनगणना २०७८ को गृहकार्य निकै अघि बढिसकेको छ। आगामी जेठ २५ देखि असार ८ सम्म राष्ट्रिय जनगणना हुने कार्यतालिका छ।

जनगणनामा खटाइने गणक र सुपरीवेक्षक नियुक्तिका लागि माग गरिएका आवेदन संकलन भइसकेको विभागले जनाएको छ।

विभागले गणक र सुपरीवेक्षक दुवै पदका लागि करिब ४७ हजार कर्मचारीका लागि आवेदन मागेको छ। बुधबार दिउँसोसम्म एक लाख ८२ हजार २८२ जनाले आवेदन दिएका छन्। तीबाहेक अनलाइनबाट आवेदन दिएका ३५ हजार आवेदकको नाम ड्राफ्टमा छ।

‘ड्राफ्टमा बसेका आवेदन पनि हामी तान्छौं,’ निर्देशक लामिछानेले नेपाल समयसँग भने, ‘कागजात पुगेका आवेदन स्वीकृत गर्छौं।’ आवेदन दिने म्याद बुधबारसम्म थियो।

कार्यतालिकाअनुसार चैत २० गतेभित्र सुपरीवेक्षकको प्रारम्भिक सूची जिल्लामा पठाइनेछ। वैशाख १३ देखि १५ सम्म जिल्लाबाट सुपरीवेक्षक नियुक्त हुनेछन्। १५ वैशाखभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ।

वैशाख १६ देखि २२ सम्म जिल्लास्तरमा सुपरीवेक्षकलाई तालिम दिइनेछ। २५ वैशाखभित्र सुपरीवेक्षक कार्य क्षेत्रमा पुग्ने र २६ देखि १४ जेठसम्म घरपरिवारको सूचीकरण गर्ने कार्यतालिका छ। १० देखि १४ जेठसम्म गणकको जिम्मेवारी बाँडफाँट गरिने लामिछाने बताउँछन्।

१७ देखि २२ जेठसम्म गणकलाई तालिम दिइनेछ। २४ गतेभित्र गणकलाई कार्य क्षेत्रमा खटाइनेछ। जेठ २५ देखि असार ८ सम्म गणना कार्य हुनेछ।

विभागले आगामी वर्ष हुने जनगणनाको तयारी गत असारदेखि  थालेको थियो। असारमा जनगणनाका लागि प्रश्नावली तयार पारेको विभागले गत भदौमा राजपत्रमा प्रकाशित गरेको थियो।

जनगणनाको सामग्री जिल्ला पठाउने, हेल्प डेस्क स्थापना गर्ने लगायतका तयारी विभागले गरिसकेको छ। त्यस्तै राष्ट्रिय प्रशिक्षक सहजकर्तालाई तालिम दिने काम पनि विभागले गरिसकेको छ।

जनगणनाको डाटा प्रशोधन केन्द्र तयार गर्ने, स्थानीय जनगणना कार्यालय स्थापना गर्ने लगायतका काम १ वैशाखभित्रै गर्ने तयारी विभागको छ।

असार ८ गतेसम्म गरिएको जनगणनाको प्रारम्भिक नतिजा आगामी असोज मसान्तभित्र सार्वजनिक गरिनेछ। जनगणनाको अन्तिम नतिजा २०८० वैशाखभित्र सार्वजनिक गर्ने तालिका विभागको छ।

गणकहरू विभागले बनाएको प्रश्नावलीसहित घरघरमा खटिनेछन्। गणकले घरमूली वा घरमा उपस्थित व्यक्तिलाई सोधेर आएको जवाफअनुसार प्रश्नावली भर्नेछन्।

प्रश्नावलीमा घरपरिवारको खानेपानीको स्रोत, खाना पकाउने इन्धनको स्रोत, उज्यालोको स्रोत लगायतका प्रश्न समावेश छन्।

प्रश्नावलीमा अनुपस्थितको विवरण पनि राखिएको छ। जसअन्तर्गत ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्?’ भन्ने प्रश्न राखिएको छ। जवाफमा तीनवटा विकल्प छन्– छन्, छैन र थाहा छैन।

विदेश गएका व्यक्तिको विवरण माग गर्ने विकल्प पनि प्रश्नावलीमा समावेश छ। विदेश जानुको कारणसमेत उल्लेख गुर्नपर्नेछ।

विभागका निर्देशक लामिछाने विदेश गएर सम्बन्धित देशको बासिन्दा भइसकेका व्यक्तिलाई गणनामा नसमेटिने बताउँछन्। ‘उतैको नागरिकता लिएका व्यक्ति समावेश हुँदैनन्,’ उनले भने, ‘काम गर्न गएको, पढ्न गएको भए घरमूलीले बताएअनुसार समावेश गरिन्छ।’ नेपाल समयमा प्रकाशित

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech