२२ मंसिर २०८१, शनिबार

रुकुम पश्चिम पुगेर दाहालले भने, हामी छिट्टै सत्ता कब्जा गर्ने ठाउँमा पुग्छौं
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू छिट्टै सत्ता कब्जा गर्ने ठाउँमा पुग्ने बताएका छन्। उनले कर्णाली प्रदेशमा सरकारलाई अपदस्थ गर्न खोजिएकोमा आपत्ति जनाउँदै यस्तो धारणा व्यक्त गरेका हुन्।

जनआन्दोलन दिवसका मंगलबार रुकुम पश्चिममा मंगलबार आयोजित कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै दाहालले भने, ‘प्रदेशमा हाम्रो सरकारविरुद्ध अपदस्थ गर्ने कोसिस भइरहेको छ। सबै मिलेर अपदस्थै गरे भने पनि प्रमुख प्रतिपक्षीका रुपमा जनताको साथमा बसेर संघर्ष गर्नेछौं र छिट्टै सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौं। राष्ट्रिय रूपमा पनि हामी विजयी हुनेछौं।’

उनले कर्णाली प्रदेश सरकार टिकाउन सक्दो प्रयास भइरहेको पनि बताए।

दाहालले कर्णाली प्रदेश आफूहरुको किल्ला रहेको दाबी पनि गरे। कर्णालीका मुख्यमन्त्री माओवादी केन्द्रका हुन्। एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको छ।

दाहालले अब देशमा अर्को जनयुद्ध आवश्यक रहेको बताए। उनले भने, ‘एकले अर्कालाई मार्ने होइन, हतियार उठाएर होइन, जनतालाई विद्रोही बनाएर शान्तिपूर्ण रुपमा लानु पनि विद्रोह नै हो। यो अर्को जनयुद्ध हो।’

उनले प्रतिक्रियावादीको षड्यन्त्रविरुद्ध जनतालाई एकीकृत गरेर आन्दोलनमा सामेल गराउनु पनि एक प्रकारको जनयुद्ध नै रहेको बताए।

उनले रुकुमेली जनताको उत्साह र समर्पण देखेपछि आफू थप प्रशिक्षित र शक्तिशाली भएको बताए। अध्यक्ष दाहालले भने, ‘म यहाँ प्रशिक्षण दिन आएको हुँ तर तपाईंहरूको उत्साह देखेर थप प्रशिक्षित र शक्तिशाली भएको छु।’

उनले आफूू क्रान्तिकारी जनताको साथमा रहेको बताए। यहाँबाट आफू थप आँट र ऊर्जा प्राप्त भएको पनि बताए। उनले भने, ‘एक पटक फेरि जनतासँग गएर संघर्षमा लाग्ने आँट आएको छ।’

दाहालले जनताको बलमा प्रतिनिधिसभा विघटन बदर भए पनि अझै पनि जनयुद्धका उपलब्धि मास्न देशी विदेशी शक्तिहरूबाट षड्यन्त्र जारी रहेको बताए।

उनले भने, ‘नेपाली जनतालाई फेरि निरंकुशताले पिस्ने षड्यन्त्र भइरहेको छ। तर हामी त्यसो हुन दिने छैनौं।’

उनले काठमाडौंमा बसेर गरेको संघर्षले उपलब्धि प्राप्त नभएको भन्दै अब गाउँगाउँमा गएर निरंकुशता र प्रतिक्रान्तिविरुद्ध लड्ने बताए।

दाहालले भने, ‘सिंहदरबारभित्रै चलखेल गर्ने शक्तिसँग हारिरहेका छौं।’ उनले यस्ता षड्यन्त्र परास्त गर्ने आधार हिजोका क्रान्तिका आधारस्थलमा रहेका जनताबाट मात्र सम्भव रहेको भनाइ राखे।

दाहालले भने, ‘यहाँ पनि प्रतिगमनविरुद्ध खबरदारी गर्न आएको हुँ। खबरदार भन्न चाहन्छु।’

आफूले पार्टीमा पदोन्नति गर्दा दुःख गरेका कार्यकर्तालाई समेट्न नसकेको भन्दै दुःख व्यक्त गरे। उनले अब आफूले हिजो जनयुद्ध लडेका कार्यकर्तालाई अगाडि सार्ने संकल्प व्यक्त गरे। उनले भने, ‘यही प्रतिबद्धता व्यक्त गर्न पनि म यहाँ आएको हुँ।’

उनले प्रधानमन्त्री केपी ओलीले हारिसकेको बताए। दाहालले आफू जनताको साथमा आएकाले अब विजय प्राप्त गर्ने पनि दाबी गरे। उनले भने, ‘जो जनताको साथमा छ, उसले जित्छ, जसले जनतालाई छाडेको छ उसले हार्छ।’

आफूले रुकुमका केही गाउँ घुम्न चाहेको बताए। उनले भने, ‘म पालिका पालिकामा पुग्न चाहन्छु।’

अध्यक्ष दाहाल मंगलबार बिहान काठमाडौंबाट नेपालगन्ज हुँदै रुकुम पश्चिम पुगेका हुन्।

 

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech