१५ चैत्र २०८०, बिहीबार

जोगिएला कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी?

२०७७ असोज २५ गते तत्कालीन नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध गरेकाे अविश्वासको प्रस्तावसँगै सुरु भएको सत्ता संघर्षको टुंगाे आज लाग्ने छ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन्। दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौं अधिवेशनमा शाहीले विश्वासको मत लिन लागेका हुन्।

गएको चैत ५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले अहिलेकै सरकारको निरन्तरताका लागि विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीलाई २० जना सांसदले विश्वासको मत दिए अहिलेकै सरकारले निरन्तरता पाउने छ। तर, २० जना सांसदको विश्वासको मत लिन नसकेको खण्डमा भने नयाँ सरकार गठनको बाटो खुल्ने छ।

मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना निकै न्यून छ। ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्यमध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी पदमुक्त भएपछि ३९ सदस्यीय बनेको छ।

३९ सदस्यीय प्रदेशसभामा सत्तारुढ दल माओवादीसँग १२ जना सांसद मात्र छन्। प्रदेशसभामा एमालेका सभामुख (राजबहादुर शाही) सहित २०, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्।

माओवादी, कांग्रेस र राप्रपा मिल्दा पनि सरकारले बहुमत पाउँदैन। यही कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार छैन।

यता कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने संकेत जनाएको छ। ‘कांग्रेसले समर्थन गर्दैमा सरकार टिक्ने अवस्था छैन,’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘यही कारण हामी सरकारको विपक्षमै उभिन्छौँ।’

कांग्रेसले शुक्रबार बिहानसम्म सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा पनि यकिन निर्णय गरेको छैन। ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने पक्षमा कुनै निर्णय गरेका छैनौँ,’ उनले भने, ‘कांग्र्रेस हिजो पनि प्रतिपक्षमै थियो, अब पनि प्रतिपक्षमै हुन्छौं।’ तर, बैठक अवधिसम्म हुने राजनीतिक घटनाले विशेष भूमिका खेल्ने उनको तर्क छ। ‘सरकार बनाउने र टिकाउने विषयमा कांग्रेस निर्णायक छैन,’ उनले भने, ‘निर्णायक नभएकै कारण हामी प्रतिपक्षमै उभिने सम्भावना छ तर अधिवेशनसम्म के हुन्छ अहिले नै भन्न सकिन्न।’

मुख्यमन्त्री भने एमालेका केही सांसदहरूले विश्वासको मत दिने आशामा छन्। एमालेभित्र देखिएको अन्तरसंघर्षका कारण कम्तीमा तीनजना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादीका सांसदहरू बताउँछन्।

एमालेकै केही सांसदहरूले फ्लोर क्रस गरेर आफूलाई सघाउने आशमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस, राप्रपा, माओवादी र एमालेका एकजना सांसदले विश्वासको मत दिएको खण्डमा मुख्यमन्त्रीको कुर्सी जोगिन्छन्।

प्रदेशसभामा एकल बहुमत रहेको एमाले भने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छ।

एमालेका २० सांसदमध्ये सभामुख राजबहादुर शाहीसहित अध्यक्ष केपी शर्मा ओली समूहमा ११ र माधवकुमार नेपाल समूहमा ९ जना सांसदहरू छन्।

सरकार गठनका सन्दर्भमा केन्द्रमा देखिएको जस्तो विवाद सतहमा छैन। दुवै पक्षका सांसदहरूले एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्नुको विकल्प नरहेको बताउँदै आएका छन्।

आज मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेको खण्डमा एमालेले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने सम्भावना छ।

कर्णालीमा विगत ६ महिनादेखि नयाँ सरकार गठनको प्रयास भइरहेको छ। २०७७ असोज २५ गते तत्कालीन नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध गरेकाे अविश्वासको प्रस्तावसँगै सुरु भएको सत्ता संघर्षको टुंगाे आज लाग्ने छ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech