१६ चैत्र २०८०, शुक्रबार

धम्काउने अस्त्र मात्रै हो, नेपाल पक्षले सामूहिक राजीनामा दिँदैन- ओली पक्ष
  • न्युज मानसराेवर

काठमाडौं – सत्तारुढ नेकपा एमालेभित्र देखिएको शक्ति संघर्ष बिग्रह हुने निश्चित बाटोमा पुगेको छ।

असन्तुष्ट माधव–झलनाथ पक्षले ओलीलाई सच्चिन आज अन्तिम मौका भन्दै नसच्चिएमा सामूहिक राजीनामा दिने निर्णय गरेको छ।

तर, यता एमालेको संस्थापन पक्ष भने माधव–झलनाथ पक्षले सामूहिक राजीनामा दिने भनि गरेको निर्णय भ्रम छर्ने काम मात्रै भएको टिप्पणी गरेको छ।

‘यो उनीहरूको सबै धम्की हो। अरु केही पनि होइन,’ओली निकट एक नेता भन्छन्,‘धम्की दिएर डर देखाएका हुन्। झुकाउनका लागि प्रयोग गरिएको अस्त्र हो। माधव नेपालको मात्रै चल्ने भए अस्ति उता लिएर मिलाइ सक्थे। तर, त्यहाँ माधव नेपाल मात्रै छैनन्।’

उनले पार्टीमा विवाद देखिए पनि मिल्नै नसक्ने अवस्था भने नरहेको भन्दै कुराकानी भइरहेको र मिलाउने प्रयास जारी रहेको बताए।

‘त्यो पक्षमा माधव नेपाल मात्रै छैनन्। अरु मानिस पनि छन् उनीहरू सबै त्यसको पक्षमा छैनन्,’उनी भन्छन्,‘यीनीहरूले राजीनामा दिदैनन्। संसदमा राजीनामाको प्रावधान व्यक्ति व्यक्ति गएर सनाखत गर्नुपर्छ। समूहमा बुझाएर राजीनामा त हुँदैन। मानिसलाई भ्रम पार्न जे भने पनि भयो। त्यति ठूलो संख्यामा कुनै पनि हालतमा राजीनामा हुँदैन्।’

उनले विपक्षीहरूको बहुमत पुग्न नेपाल पक्षले सामूहिक राजीनामा नदिएर नपुग्ने अवस्था भएकाले उनीहरूलाई सामूहिक राजीनामा दिन भनिएको बताए।

‘भोली विश्वासको मत लिएपछि नयाँ हिसाबले राजनीतिक कोर्स अगाडि बढ्छ। असन्तुष्ट पक्षसँग छलफल निरन्तर भइरहेको छ,’उनले भने।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई पूर्ववत रुपमा नलगेको भन्दै असन्तुष्ट बनेको एमालेको माधव पक्षले अन्ततः पार्टी एक हुन नसक्ने ठहर गर्दै अन्तिम निर्णायक निर्णय गर्ने अवस्थामा पुगेको हो।

शनिबार ललितपुर सातडोबाटो स्थित राष्ट्रिय खेलकुद परिषदको नेपाल ओलम्पिक भवनमा भएको लामो छलफलले ओलीलाई आज अन्तिम मौका दिने निष्कर्ष निकाल्दै नसच्चिएमा सामूहिक राजीनामा दिने निर्णय गरेको हो।

नेपालपक्षका प्रत्यक्ष तर्फका २३ जना प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाएका छन्। अब सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने दिन अघि नै यो पक्षले राजीनामा गर्छ या के गर्छ त्यो भने हेर्न बाँकी छ। नेपाल समय

 

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech