१५ चैत्र २०८०, बिहीबार

केपी शर्मा ओली बने तेस्रो पटक प्रधानमन्त्री
  • न्युज मानसराेवर

काठमाडौं– केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि उनी २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म नेपालका पहिलोपटक प्रधानमन्त्री भएका थिए भने २०७४ चैत ३ गते संविधानका् धारा ७६ को उपधारा २ बमोजिम दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

ओलीले धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि गत सोमबार राखेको प्रस्ताव पारित हुन नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन्।

तर बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ भोलि शुक्रबार अपराह्न हुनेछ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्छ। नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ। त्यो असफल भएमा मुलुक मध्यावधि चुनावतिर जानेछ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech