१४ बैशाख २०८१, शुक्रबार

ओलीले लिए प्रधानमन्त्री पदको शपथ
  • न्युज मानसराेवर

काठमाडौं– एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। ओलीसँगै २० मन्त्री र तीन राज्य मन्त्रीले शपथ लिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। ओली मन्त्रिपरिषद्मा साबिककै मन्त्रीहरु रहेको बताइएको छ।

ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
यसअघि उनी २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म नेपालका पहिलोपटक प्रधानमन्त्री भएका थिए भने २०७४ चैत ३ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

ओलीले धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि गत सोमबार राखेको प्रस्ताव पारित हुन नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन्।

तर बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्छ। नभए धारा ७६ उपधारा ५ अनुसार सरकार गठनको प्रयास हुनेछ। त्यो असफल भएमा मुलुक मध्यावधि चुनावतिर जानेछ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech