१४ बैशाख २०८१, शुक्रबार

महामारीमा महँगियो भान्छा, सबैभन्दा बढी तेलमा मूल्यवृद्धि
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि सरकारले जारी गरेको निषेध आदेशको मौका छोपी व्यवसायीले दैनिक उपभोग्य सामग्रीमा चर्को मूल्य वृद्धि गरेका छन्। वैशाख १५ देखि जेठ ९ को बीचमा दाल, चामल, खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। उपभोग्य सामग्रीमा अचाक्ली मूल्य वृद्धि हुँदा निम्न स्तरका श्रमिक परिवारलाई छाक टार्नै समस्या भएको छ।

उपभोक्ता अधिकारकर्मी सरकारी अनुगमन फितलो हुँदा महामारीका बेला व्यवसायीले मनपरी गरेको बताउँछन्। व्यवसायी भने ढुवानीमा समस्या रहेका कारण मूल्यवृद्धि गर्नुपरेको दाबी गर्छन्। ‘एक महिना भयो आम्दानी गर्न नपाएको। खानेकुराको मूल्य बढेर आकाश छुन लागिसक्यो, बाँच्नै कठिन भो’, निर्माण व्यवसायका श्रमिक  पूर्ण तामाङ गुनासो गर्छन्।

खुद्रा व्यापार संघले विगत एक महिनामा उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि भइरहेको जनाएको छ। संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यका अनुसार वैशाख १५ मा प्रतिकेजी १६० रुपैयाँ रहेको रहर दाल अहिले १८५ रुपैयाँ पुगेको छ। मुसुरो दाल प्रतिकेजी ११० रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ।  यस्तै मासको दाल प्रतिकेजी १६० बाट बढेर १८० रुपैयाँका दरले बिक्री भइरहेको छ।

भान्सामा प्रयोग हुनेमध्ये खाने तेलको मूल्यमा अत्यधिक भाउ बढेको छ। सनफ्लावर तेलको मूल्य २८० रुपैयाँ प्रतिलिटर पुगेको छ। निषेध आदेश जारी हुनुपहिले प्रतिलिटर २४० रुपैयाँ थियो। तोरीको तेल २३० रुपैयाँ प्रतिलिटरबाट बढेर २५० रुपैयाँ र भटमासको तेल २३० रुपैयाँ प्रतिलिटरबाट बढेर २५५ रुपैयाँमा बिक्री भइरहेको छ।

जिरा मसिना चामल २५ केजी बोराको मूल्य ब्रान्डअनुसार १५५० रुपैयाँ देखि १८५० रुपैयाँसम्म पुगेको छ। वैशाख १५ अघि यी चामल बोरोको १५०० देखि १७०० रुपैयाँसम्ममा पाइन्थ्यो। ३० केजीको सोना मन्सुली मूल्य प्रतिबोरामा ५० रुपैयाँदेखि सय रुपैयाँसम्म बढेको बज्राचार्य बताउँछन्। चिनीको मूल्य पनि प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ।

किन बढ्यो मूल्य?

थोक विक्रेताले नै मूल्य बढाएर दिएका कारण खुद्रा मूल्य  बढेको हो। उनले भने, ‘सरकारले सानासान पसलमा मात्र अनुगमन गर्छ। थोक विक्रेता र उद्योगमा अनुगमन गर्न कर्मचारी डराउँछन्।’ सरकारले ठूला व्यवसायमा अनुगमन गर्नै नसक्ने, गर्नै नचाहने र साना व्यवसायीलाई मात्रै अनुगमन गरेर तर्साउने गरेको उनको आरोप छ।

थोक विक्रेता संघका अध्यक्ष देवेन्द्र भट्ट यस्तो अवस्थामा मूल्य वृद्धि हुनु स्वाभाविक भएको बताउँछन्। उनी भन्छन्, ‘ढुवानी गर्न कठिन छ। ढुवानीकर्ताले बढी मूल्य लिइरहेको अवस्थामा पाँच, सात रुपैयाँ मूल्य बढ्नु स्वाभाविक हो। यसलाई अन्यथा लिनु हुँदैन।’

सरकारी मूल्य थोरै सस्तो

व्यवसायीको खुद्रा मूल्यको तुलनामा सरकारी मूल्य भने थोरै सस्तो देखिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार दाल, चामल, खाने तेल लगायत वस्तुको मूल्य बजारको तुलनामा थोरै सस्तो छ। यद्यपि विगतको तुलनामा भने केही वस्तुको मूल्य बढेको कम्पनीले जनाएको छ।

वैशाख दोस्रो साता सनफ्लावर तेल र तोरीको तेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ थियो। उक्त मूल्य बढेर आइतबार क्रमशः २५५ रुपैयाँ र २४० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। भटमासको तेलको मूल्य भने यथावत् रहेको कम्पनीले जनाएको छ। आइतबार भटमास तेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ लिटरका दरले रहेको छ।

सनफ्लावर तेल र तोरीको तेलको मूल्यवृद्धिका सम्बन्धमा आफुलाई जानकारी नरहेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन्। मूल्य वृद्धि भएको विषयमा जानकारी छैन’ उनले भनिन्, ‘यो पुरानै मूल्य सूची हो।’

के भन्छ नियामक निकाय?

वाणिज्य विभाग भने बजार अनुगमन निरन्तर भइरहेको दाबी गर्छ। विभागका निर्देशक सागर मिश्रले विभागले निषेध आदेशको समयमा पनि ३ देखि ४ टोलीले निरन्तर अनुगमन गरिरहेको बताए। उनले भने, ‘खाद्यान्न पसलको अनुगमन बिहान बिहान टोली परिचालन भइरहेको छ।  विभागका अनुसा वैशाख १५ यत खाद्यान्नका ४१ वटा पसलमा अनुगमन गरेको छ।

खाने तेल लगायतका वस्तुमा भएको मूल्य वृद्धिका सम्बन्धमा व्यवसायीबाट बिल मगाएर अध्ययन भइरहेको निर्देशक मिश्रले बताए। विभागले मूल्य नियन्त्रणका लागि अनुगमन गरेको दाबी गरे पनि खुद्रा व्यवसायीले भने जस्तै उद्योगी एवम् ठूला व्यवसायमा अनुगमन भएको देखिँदैन। उद्योगी र ठूला व्यवसायमा प्रभावकारी अनुगमन नभएका कारण अचाक्ली मूल्य वृद्धि भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्।

वस्तु                  मूल्य (१५ वैशाख)               मूल्य (जेठ ९)
रहर दाल             १६० रुपैयाँ प्रतिकेजी            १८० रुपैयाँ प्रतिकेजी
मुसुरो दाल           ११० रुपैयाँ प्रतिकेजी            १२५ रुपैयाँ प्रतिकेजी
सनफ्लावर तेल     २४० रुपैयाँ प्रतिलिटर           २६५ रुपैयाँ प्रतिलिटर
तोरीको तेल          २३० रुपैयाँ प्रतिलिटर           २५० रुपैयाँ प्रतिलिटर
भ्ट्मासको तेल     २३० रुपैयाँ प्रतिलिटर            २५५ रुपैयाँ प्रतिलिरट
जिरा मसिना       १५५० देखि १७५० (२५केजी)    १६०० देखि १८००
सोना मन्सुली      १५५० देखि १७५० (३०केजी)    १६०० देखि १८००
चिनी                  ८५ रुपैयाँ प्रतिकेजी               ९५ रुपैयाँ प्रतिकेजी

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech