८ बैशाख २०८१, शनिबार

जोर्डन जित्न’ यस्तो छ नेपालको रणनीति
  • न्युज मानसराेवर

बाँके । फिफा विश्वकप २०२२ र एसियाकप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा आज सोमबार नेपालले जोर्डनको सामना गर्दैछ।

विश्वकप छनोटको तेस्रो चरण खेल्ने नेपालको सम्भावना कम रहे पनि एसिया कप छनोटका लागि नेपालको सम्भावना अझै कायम छ।

त्यसैले सोमबार (आज) राति जबर अल–अहमद रंगशालामा हुने खेलबाट जोर्डनलाई हराउँदै नेपाल एसिया कपको छनोटमा पुग्ने बाटोमा रहने छ। संयुक्त छनोटको समूह ‘बी’ मा रहेको नेपाल अहिले ६ अंकका साथ चौथो स्थानमा छ।

यदि नेपालले चाइनिज ताइपेईबाहेक कुनै एक टिमसँग जित निकाल्न सके एसिया कपको  छनोट चरणमा पुग्ने सम्भावना रहन्छ। त्यसैले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध जितको मानसिकताका साथ खेल्ने बताएका छन्। उनी खेल अवधिभर नै एकै लयमा खेल्ने बताउँछन्।

यता जोर्डन भने नेपालका लागि बलियो प्रतिद्वन्द्वीका रुपमा लिइन्छ। नेपालले जोर्डनविरुद्ध तीन खेल खेल्दा कुनै खेलमा जित निकालेको छैन।

यसकारण नेपाल र जोर्डनबीचको खेलमा त्यही नतिजा दोहोरिने अनुमान पनि लगाउन थालिएको छ। तर, प्रशिक्षक अलमुताइरी अहिले नै नतिजाको अनुमान लगाउनु गलत हुने जनाउँदै खेल प्रतिस्पर्धात्मक हुने बताउँछन्।

‘जोर्डन पनि राम्रो छ। यसो भन्दैमा नतिजा जोर्डनकै पक्षमा जान्छ भन्ने छैन। सायद हाम्रो पक्षमा पनि हुन सक्छ,’ उनले भने, ‘हाम्रो लक्ष्य जित्ने हुनेछ। तर अहिले नै रिजल्टबारे आकलन गर्नु हुँदैन। नेपाली टिमले ९० मिनेट नै खरो प्रतिस्पर्धा गर्नेछ।’

सन् २०११ को जुलाईमा विश्वकप छनोटअन्तर्गत नेपालले जोर्डनसँग पहिलोपटक खेलेको थियो। पहिलो लेगको छनोटमा नेपाल ९–० गोल अन्तरले पराजित भयो। सोही महिनामा सम्पन्न रिटर्न लेगमा भने नेपालले घरेलु मैदान दशरथ रंगशालामा गोलरहित बराबरी खलेको थियो।

त्यस्तै जारी छनोटको पहिलो लेगको खेलमा पनि घरेलु टिम जोर्डनसँग नेपालले ३–० गोलको हार बेहोरिसकेको छ। २०१९ मा भएको पहिलो लेगमा जोर्डनले नेपाललाई सहजै हराएको थियो। तर, कोभिड–१९ को महामारी कारण एएफसीले न्युट्रल भेन्यूमा खेल गराउने भएपछि घरेलु मैदानमा हुनुपर्ने नेपालको खेल चाहिँ अहिले कुवेतमा भइरहेको छ।

समूह बी का सम्पूर्ण खेल कुवेतमा नै भइरहेका छन्। नेपाली टिमले पछिल्लो १० दिन इराक र कुवेतमा रहेर अभ्यास गरिरहेको छ भने यसबीच दुई खेल खेलेको छ।

चाइनिज ताइपेईविरुद्धको जितपछि नेपाली टिमको आत्मबल थप बढेको नेपाली टिमका कप्तान किरणकुमार लिम्बूले बताएका छन्। साथै प्रशिक्षकले उनले कुवेतको गर्मीका बाबजुद् जोर्डनविरुद्धको खेलले सबै नेपालीलाई खुसी दिने दाबी गरेका छन्।

उनले भने, ‘हामीले जित्छौं वा जित्दैनौ भनेको छैन। अष्ट्रेलिया वा जोर्डन दुवैसँग संघर्ष गरेरे खेल्ने हो। हामीले जितको मानसिकताका साथ खेल्ने छौं। हामीले डिफेन्सिभ मात्र खेल्दैनौं।’

त्यस्तै जोर्डनका प्रशिक्षक विटाल बोर्केल्मान्सले पहिलो लेगको खेलको तुलनामा नेपालको खेल्ने शैली र गुणस्तरमा परिवर्तन पाएको बताएका छन्।

‘नेपालको पछिल्ला दुई खेल नै (इराक र चाइनिज ताइपेईविरुद्ध) हेरेको छु। नेपालको टिमसँगै क्वालिटी र खेल प्रणालीमा पनि परिवर्तन रहेछ। उनीहरूले राम्रो खेलेका छन्,’ विटालले खेलअघि भने, ‘मेरा खेलाडी नेपालविरुद्ध खेल्न तयार छन्। नयाँ प्रशिक्षकसँग खेल्न हामी तयार छौं। उनलाई पनि गुडलक तर खेलबाटै सबै कुरा स्पष्ट हुनेछ।’

विश्वकप छनोटमा दोस्रो चरणबाट मात्र १२ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणका आठ समूहका विजेता र चार उपविजेता अर्को चरणमा जानेछन्।

अहिलेको तालिकामा जोर्डन समूह बी को तेस्रो स्थानमा छ। समान १० अंक भएको कुवेत दोस्रो स्थानमा छ। तर, जोर्डनले पाँच र कुवेतले ६ खेल खेलेका छन्। यसकारण जोर्डन बाँकी तीन खेल जित्दै छनोटको अर्को चरणमा पुग्न चाहन्छ। जसका लागि उसले कम्तीमा पनि नेपाललाई हराउनै पर्ने दबाब रहने छ।

त्यसैले जोर्डनका प्रशिक्षक विटाल पनि जितकै लागि खेल्ने बताउँछन्। ‘हामी तीन अंकका लागि खेल्ने छौं। तर फुटबल हो, जे पनि हुन सक्छ। मेरो टिम राम्रो स्तरमा छ। जित निकाल्नुपर्छ भनेर खेलाडीलाई भनेको छु,’ उनले भने।

उनले नेपाली टिमलाई सम्मान गर्दै दबाबरहित खेलेर जित निकाल्ने बताएका छन्। उनले भने, ‘हाम्रो खेल्ने आफ्नै स्टाइल छ। जोर्डनका लागि यसमा बेस्ट दिने छौं।’

उनले नेपालविरुद्ध जित निकाल्दा अंक तालिकामा फाइदा हुने बताएका छन्। उनले जोर्डनको टिममा सबै राम्रा खेलाडी भएकाले कसलाई चुन्ने भन्ने चुनौती रहेको बताए।

आजको खेलमा जोर्डन विश्वकप यात्रामा रहँदा नेपाल एसिया कप छनोटका केन्द्रित हुनेछ। तर, एसियाली छनोटको समूह एच मा रहेको उत्तर कोरियाले आफ्नो नाम फिर्ता लिएका कारण कुनै पनि समूहको पुछारको टिमविरुद्ध जित निकाल्दै प्राप्त गरेको अंक एसिया कप छनोटका लागि मान्य नहुने समीकरण बनेको छ।

त्यसैले अहिले एसिया कप छनोटका लागि नेपाल अंकविहीन छ। अब नेपालले दुईमध्ये कुनै पनि खेल जितेमा तीन अंक बनाउने छ। त्यो जितले नेपाललाई एसिया कपको छनोट खेल्नमा प्लेअफको झन्झटिलो बाटो सीधा गरिदिन्छ।

अहिले अवस्था हेर्दा नेपाल समूह बी को चौथो स्थानमा रहने पक्काजस्तै छ। र, यो प्रक्रियामा अन्य समूहका चौथो स्थानमा रहेका टिमको नतिजाले पनि फरक पार्नेछ। यदि अन्य समूहको चौथो स्थानमा रहेका चार टिमको अंक नेपालको भन्दा धेरै भए नेपालले प्लेअफमै जानुपर्ने बाध्यता आइपर्ने छ।

‘त्यसैले हाम्रो उद्देश्य कम्तीमा पनि एसियन कपको छनोटमा पुग्नु हो यसकारण हामीले जोर्डनलाई हराउनै पर्छ,’ प्रशिक्षक अलमुताइरीले भने।

अहिले चौथो स्थानमा रहेका टिममध्ये मलेसिया, सिंगापुर र म्यानमारको समान तीन अंक छ। त्यस्तै दुई अंक रहेको इन्डिया पनि चौथो स्थानमा रहँदै एसिया कप छनोटको बाटोमा छ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech