१२ श्रावण २०८१, शनिबार

गुरुयोजनाविपरीत सुरज वैद्यलाई लुम्बिनीमा रिसोर्ट खोल्न दिने सहमति

उपाध्यक्ष असहमत

  • न्युज मानसराेवर

बाँके\लुम्बिनी विकास कोषको जग्गा गुरुयोजना विपरीत रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढाउन थालिएकाे छ ।

पछिल्लो समय पुस २० गते लुम्बिनी आएका लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री प्रेम आलेको अध्यक्षमा बसेको कोषको बैठकले संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गरेको हो ।

संसार वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो । यो निर्णय मंसिर ११ गते भएपनि यसलाई गोप्य राखिएको छ । लुम्बिनी विकास कोषले पनि यो सूचना बाहिर ल्याउन चाहेको छैन ।

यसअघि वैद्य आफै लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गरेपनि सफल नभएको पर्यटन व्यवसायीहरुको भनाइ छ । उनी आफैले बनाएको योजना पटक पटक सरकार फेरिदाँ पनि सफल भएको थिएन ।

संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट संचालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावमा मेडिटेसन संचालन गर्ने मेडिटेसनको लागि आउने पाहुनाहरुको आवासको लागि रिसोर्ट संचालन गर्ने उल्लेख गरिएको छ ।

तर जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा भने चार विगाह क्षेत्रमा फैलिएको

क्याम्पियन ग्राउण्डमा आठ÷नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ ।

लुम्बिनी विकास कोषका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेश गरिएको थियो ।

संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट संचालनको लागि दिन नहुने पक्षमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेसकुमार त्रिपाठी भिक्षु मेत्तेय रहेका थिए ।

तर रिसोर्टका लागि विकास कोषको जग्गा दिन नहुने भन्दै अडान राख्दै आएका मेत्तेयलाई नै नबोलाई विकास कोषका पदाधिकारी/सदस्यहरुको गत मंसिर ११ गतेको बैठकले रिसोर्ट संचालनको लागि जग्गा दिने निर्णय गरेको हो ।

सोही जग्गाकै विषयमा मन्त्री आलेसँग कुरा नमिलेपछि पछिल्लो एक महिनायता उपाध्यक्ष त्रिपाठी क्यानडा गएर बसेको त्रिपाठी निकट श्रोतले जानकारी दिएको छ ।

यता लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराज शाक्यले भने उपाध्यक्षलाई बैठकमा नबोलाएको नभई उनी आफै उपस्थित नभएको दावी गरेका छन् ।

शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन संचालन गर्ने र मेडिटेसन गर्न आउनेहरुलाई बस्ने सुविधासहितको रिसोर्ट संचालनका लागि प्रस्ताव पेश गरेकोले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिए ।

लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्टको लागि दिइनसकिएको र प्रस्ताव गरेको कम्पनीको विस्तृत योजना माग गरिएपनि गुरुयोजना विपरीत आउने प्रस्तावमा विकास कोषले निर्णय नगर्ने दावी गरे । नेपाल प्रेस

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech