१२ श्रावण २०८१, शनिबार

प्रतिपक्षको नजरमा प्रधानमन्त्रीको सम्बोधनः ‘६ महिनाको असफलता ढाकछोप गर्ने तुष्टि मात्रै’
  • न्युज मानसराेवर

काठमाडौँ\प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत गरेका कुरा सरकारको असफलता ढाकछोप गर्ने प्रपञ्च भएको प्रतिक्रिया दिएको छ ।

आर्थिक वृद्धि, पुँजीगत खर्च, संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र जनतालाई आशा जगाउने हिसाबमा सरकार पूरै असफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।

प्रधानमन्त्री देउवाले शुक्रवार गरेको सम्बोधनपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै सचिव विष्टले सरकारको ६ महिना सम्पूर्ण रूपले असफलतामै केन्द्रित रहेको बताए ।

सम्बोधनका क्रममा देउवाले ६ महिनामा शान्ति सुरक्षा कायम भएको, आर्थिक क्रियाकलाप बढेको र जनतामा सरकारप्रति आशा बढेको बताएका थिए ।

‘वास्तवमा सरकार बनेयता सरकारले विकास निर्माण, सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना र संविधानको कार्यान्वयनमा जुन प्रकारको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्थ्यो, अहिले सरकार छ कि छैन भनेर खोज्नुपर्ने स्थिति भयो,’ एमाले सचिव विष्टले लोकान्तरसँग भने, ‘विगत सरकारले अगाडि बढाएका विकास आयोजना कैयौ कटौती गर्‍यो । चालू आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न सकेन । पुँजीगत खर्च ६ महिनामा १३ प्रतिशतभन्दा बढ्न नसक्नु यो सरकारको असक्षमता पुष्टि हुन्छ ।’

प्रधानमन्त्रीले सरकारको कमजोरी ढाकछोप गर्न कोसिस गरेको टिप्पणी एमालेले गरेको छ । ‘प्रधानमन्त्रीको हैसियतले सम्बोधनबाट दाबी गर्ने एउटा कुरा भयो । तथ्यगत रूपमा परिणाम हेर्दा सरकारको प्रभावकारिता कतै देखिँदैन । चालू आयोजनाको स्थिति, पुँजीगत खर्चको अवस्था, बैंकिङ क्षेत्रमा तरलताको अभाव, मूल्यवृद्धि लगायतका कुराले सरकारको असफलता सिद्ध गर्छ,’ विष्टले भने ।

‘संसद चलाउन सभामुखको राजीनामा या १४ जनामाथि कारवाही’

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले ‘संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद र सहमतिको माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याइने’ बताएका थिए ।

देउवाको सम्बोधनपछि लोकान्तरसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसद सुचारु गर्नका लागि सभामुखको राजीनामा या एमालेले कारवाही गरेका १४ सांसद माथिको कारवाही कार्यान्वयन बटमलाइन भएको बताए ।

‘एमालेलाई विश्वासमा लिनका लागि या सभामुखको राजीनामा गराउनुपर्‍यो अथवा ढिलै भएपनि १४ जना सांसद माथिको कारवाही सदर हुनुपर्‍यो,’ भट्टराईले लोकान्तरसँग भने, ‘अदालतमा उहाँहरूको सेटिङ रहेकोले अदालतबाट फैसला गराउनुभयो भने पनि हामी बाटो खोल्दिन तयार छौं ।’

भट्टराईले देउवा सरकारले ६ महिनाको समय खेर फालेको टिप्पणी गरे । ‘यो बीचमा जनतालाई निराश बनाउने र राष्ट्रिय स्वाभिमानलाई गिराउनेबाहेक केही काम भएको छैन,’ भट्टराईले भने ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech