११ श्रावण २०८१, शुक्रबार

कोहलपुर नगरपालिकाको सूचना प्रकरण : पत्रकार महासंघद्धारा खेद प्रकट
  • न्युज मानसराेवर

बाँके\कोहलपुर नगरपालिकाले कार्यादेश बिना भुक्तानी नगरिने सम्बन्धी सूचनाका नाममा पत्रकार र पत्रकारिता क्षेत्रप्रति लगाएको गम्भीर आरोप सहितको सार्वजनिक सूचनाका बिषयमा नेपाल पत्रकार महासंघ बाँके सहित बिभिन्न पेशागत संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उक्त सूचना समग्रमा पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने नियतबाट प्रेरित भई प्रकाशन भएको, त्यहाँका जनप्रतिनिधि र कर्मचारीतन्त्रको संचारक्षेत्रप्रति हेर्ने गलत दृष्टिकोण उजागर भएको सामुहिक निष्कर्ष निकालिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै समग्र पत्रकार र पत्रकारिता पेशाप्रति गम्भिर लान्छना लगाएका थिए ।

कुनैपनि कार्य गरे बापत विभिन्न कागज पत्र हेरेर भुक्तानी गर्ने नगर्ने अधिकार र कानुनी प्रावधान स्वयं कोहलपुर नगरपालिकालाई भएको, तर संचार माध्यमलाई र स्वतन्त्र रुपमा काम गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई बदनाम गराउने उद्देश्यले निकालिएको सूचना प्रति खेद प्रकट पनि गरिएको छ ।

‘खरिद ऐन नियमावली, कार्यादेश, कार्यसम्पन्न प्रतिवेदन लगाएतका प्रावधान पश्चात मात्र रकम भुक्तानी गरिने कानुनी प्रावधान हुँदाहुँदै त्यसको पालना गर्नुको साटो समग्र संचारमाध्यम र पत्रकारको नाम जोडेर सार्वजनिक सूचना निकाल्नु बदनियतपूर्ण कार्य भएको हाम्रो निष्कर्ष छ,’ महासंघ बाँकेका सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो समय सञ्चार माध्यममा प्रशारण/प्रकाशन हुने आलोचनात्मक बिषयलाई स्वीकार गर्न नसक्ने तर त्यसको बदलामा आर्थिक बिषय जोडेर पत्रकार र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्दै प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न खोज्ने प्रबृत्ति पटक पटक दोहोरीरहेको हामीले महशुस गरेका छौं ।’

विज्ञप्तीमा अगाडी भनिएको छ, ‘पेशागत मर्यादा, आँचारसंहिताको पूर्णपालना, स्वस्थ्य व्यवसायीक प्रतिस्पर्धा र राज्यद्धारा निर्देशित नियम कानूनको परिपालनामा हामी कसैसँग सम्झौता गर्दैनौ, यो बिषयमा हामी सदैव सचेत र सजग छौं, तर पेशागत मर्यादा र आचार संहिताको पूर्णरुपले पालना गर्दागर्दै पनि अनावश्यक र सत्य नठहर्ने बिषयलाई जोडेर अमुर्त शैलीमा पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने प्रवृत्तिको निन्दा र भत्र्सना गर्दै त्यसको सामुहिकरुपमा कडा प्रतिबाद गर्दछौं ।’

महासंघले आमसंचारमाध्यम र पत्रकारप्रति कोहलपुर नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ । अन्यथा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ । उक्त विषयमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा शुक्रबार छलफल समेत भएको थियो । छलफलमा विभिन्न आस्थागत संघ, संगठनका प्रमुख तथा प्रतिनिधी उपस्थित थिए ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech