१२ असार २०८१, मंगलवार

पञ्चेबाजा बाट आम्दानी गर्दै आँटिला महिला
  • न्युज मानसराेवर

प्युठान\ प्युठानको प्युठान नगरपालिका क्वाडीका स्थानीय अचेल पञ्चेबाजा बजाउन व्यस्त छन्। प्राय: घरको काममा व्यस्त हुने महिलासमेत नौमती बाजा बजाउने तालिममा निकै चाखका साथ सहभागी भएका छन्। उनीहरुले फरक अनुभूति मात्रै गरेका छैनन्, मौलिक संगीतलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने विश्वास जुटाउँदैछन्।

‘डोकोमा घाँसदाउरा गरिएकै हो, गाग्रीमा पानी पनि बोकेकै थियौं। अब दमाहा पनि मज्जैले बोकिन्छ,’ प्युठान नगरपालिका क्वाडीकी सीता नेपालीले भनिन्। उनी मात्रै होइन, पञ्चेबाजाको तालिमबाट मीना विक पनि त्यस्तै उत्साहित छिन्। ‘हामीले त बाजा पुरुषले मात्रै बजाउने हो भन्ने ठानेर सिकेनौं, तर यो सिक्दा आनन्द लागेको छ,’ मीनाले भनिन्, ‘अब बाजा बजाएर पनि आम्दानी गर्न सकिन्छ भन्ने हिम्मत पलाएको छ।’

पञ्चेबाजालाई अन्य समुदायले समेत व्यावसायिक बनाइरहेका बेला दलित समुदायले समेत यसबाट लाभ लिनुपर्ने मत छ प्युठान नगरपालिका क्वाडीका राजकुमार विकको। नेपालमा रोजगारी नपाएकै कारण १० वर्ष कुवेतमा बसेर सुपरभाइजरको काम गरेका थिए। ‘मौलिक संगीत र राष्ट्रिय बाजा बजाउन पाउँदा गर्व लागेको छ,’ उनले भने, ‘अब बाजालाई नै व्यावसायिक बनाउन सकिन्छ कि भन्ने आँट आएको छ। यसैबाट आम्दानी गर्न सके विदेश किन जानु?’

भगत सर्वजित सीप विकास प्रवर्धन कार्यक्रमअन्तर्गत  प्युठान  नगरपालिका वडा नं.  २ क्वाडीमा सञ्चालन गरिएको ४५ दिने नौमती बाजा बजाउने तालिमले सहभागीमा ऊर्जा थपिदिएको छ। तालिम सञ्चालनको सातौं दिनसम्म आइपुदा सहभागीहरु उत्साहित त छन् नै, अब व्यावसायिक रुपमा बाजा बजाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको छ।

घरेलु तथा साना उद्योग कार्यालय प्युठानद्वारा आयोजना गरिएको तालिममा ३ जना पुरुष र १० जना महिला सहभागी छन्। उनीहरु सबै दलित समुदायका हुन्। विदेशमा गएर ज्याला–मजदुरी गर्नुभन्दा आफ्नै  देशमा आफ्नै कलासंस्कृतिको जगेर्ना गर्दै जीवन जिउने माध्यम बनाइनु निकै राम्रो भएको बताउँछन् प्युठान नगरपालिका–२ का  वडाध्यक्ष मुक्ति पोखरेल। यसले दलित समुदायको आफ्नै मौलिक संस्कृतिको संरक्षणमा टेवा पुुग्ने उनको विश्वास छ।

४५ दिनसम्म चल्ने नौमती बाजा तालिमको प्रशिक्षण भने रुपन्देही सैनामैनाका अनिल परियारले गरिरहेका छन्। नौमती बाजा र समाजबीचको सम्बन्धका विषयमा अध्ययन गरी स्नातकोत्तर तहको शोधसमेत गरेका परियारले सोही विषयबाट एमफिल तहको शोधका लागि अध्ययन गरिरहेका छन्। नेपालको राष्ट्रिय सम्पत्ति नौमती बाजा जोगाउने दायित्व  युवा वर्गमा आएकाले यो तालिम फलदायी हुने उनको भनाइ छ। परियारले ४५ दिनको अवधिमा नगरा, मंगलधुन, तीन ताल, ख्याली ताल, चुड्के ताल र सराय नाच तालको बारेमा प्रशिक्षण गराइने जानकारी दिए।

सहारा महिला बहुउद्देश्यीय सहकारी संस्था हरिखोलाकी अध्यक्ष नारायणी पौडेल, मातृभूमि टोल विकास संस्था हरिखोलाका अध्यक्ष ताराबहादुर केसीले मौलिक पञ्चेबाजाको संरक्षणका लागि चासो दिँदै तालिम सञ्चालनका लागि पहल गरेका हुन्। घरेलु तथा साना उद्योग कार्यालय प्युठानको ३ लाख ५० हजार लागत सहयोगमा नौमती बाजा वाद्यवादन हस्तान्तरण सहितको तालिम सञ्चालन गरिएको हो। पछिल्लो समय नौमती पञ्चेबाजा लोप हुन लागेकाले यसको जगेर्नाका लागि सरकारी चासो बढ्न थालेको छ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech