१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा तत्काल सरकार परिवर्तन हुँदैन : मन्त्री शर्मा
  • न्युज मानसराेवर

बुटवल\ लुम्बिनीमा कांग्रेस नेताहरूले सत्ताको नेतृत्व सहमतिअनुसार पाउनुपर्ने विषय उठाइरहेका बेला माओवादी नेता तथा प्रदेशका आन्तरिक मामिला एवम् सञ्चारमन्त्री तिलकराम शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लुम्बिनीमा अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गरेका छन् ।

सहमतिअनुसार फागुनमा माओवादी सरकारको नेतृत्व छोड्नुपर्ने कांग्रेस नेताहरूले बताइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका शर्माले भने– हामीले बनाएको गठबन्धन होइन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । माथिबाट जे निर्णय हुन्छ, यहाँ पनि त्यहि हुने हो, अहिले नै सरकार परिवर्तन हुने अवस्था छैन ।

मन्त्री शर्माले केन्द्रीय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ती सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए ।

प्रतिगमनविरुद्व राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको बताउँदै उनले भने – व्यक्तिको चाहना र इच्छा हुँदैमा न त सरकार परिवर्तन हुन्छ न त गठबन्धन टुट्छ । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कैयौं काममा अवरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए । कम्तिमा १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरु अगाडि बढाउने पक्षमा सरकार रहेको बताउँदै संसद सुचारु गर्ने मिति भने मन्त्री शर्माले बताएनन् । अहिले संसद सञ्चालनको लागि विजेनेसको तयारी भइरहेको बताउँदै उनले मन्त्रालयहरुले विजनेस निर्माणको काम गरिरहेको जानकारी दिए ।

उनले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दाबी गर्दै भने– जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने हुन्छ । कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडि बढाएको बताउँदै ती योजनाहरु समयमा नै सम्पन्न गर्ने दाबी गरे । उनले पूर्ववर्ती सरकारले अगाडि सारेका आयोजनाहरु अगाडि बढेको बताउँदै वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको बताए ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रीय सरकारले १ अर्ब बजेट दिएको बताउँदै स्थायी राजधानी बनाउने कामले गति लिएको बताए । अहिल्यै राजधानी दाङ नजाने बताउँदै संसद भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भैरहेको मन्त्री शर्माको भनाइ छ ।

कोभिड संक्रमणका कारण विगतका वर्षहरुमा जस्तै यस वर्ष प्रदेश दिवस मनाउन नसकिएको उल्लेख गर्दै भर्चुअलको माध्यमबाट प्रदेश दिवस मनाउने तयारी भएको मन्त्री शर्माले बताए । फागुन ३ गते स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउने तयारी गरिएको र कम उपस्थितिमा दिवस मनाइने उनले जानकारी दिए ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech