२२ बैशाख २०८१, शनिबार

स्वदेश फर्किएका नेपालीलाई पुनःस्थापना गर्न ‘रिटर्नी फेडेरेसन’
  • माधव ढुंगेल

सरकारी सर्वेक्षणलाई नै आधार मान्दा प्रतिवर्ष ५ लाखभन्दा बढी नेपाली युवाहरु विदेशिने गरेका छन् । जसमध्ये ७४ प्रतिशत शैक्षिक प्रमाणपत्रधारी अदक्ष युवाहरु, जसको सबैभन्दा ठूलो हिस्सा दुबइ, कतार, मलेसिया, बहराइन, साउदी अरब, अफगानिस्तान, इराक, ईरान, कोरिया, ईजरायल, ओमनलगायत देशमा जाने गरेकाछन् ।

२४ प्रतिशत शैक्षिक प्रमाणपत्रधारी अर्धदक्ष युवाहरु, जसको एउटा महत्वपूर्ण हिस्सा १२–१५ लाख रुपैयाँ लगानी गर्नसक्ने पारिवारिक सहयोगमा युरोप, अमेरिका, अष्ट्रेलिया र जापान जस्ता विकसित देशहरुमा जान्छन् र दुख कष्ट गरेर उतैको नागरिक हुने प्रयासमा हुन्छन् ।

बाँकी युवाहरुको यात्रा गल्फ देशतिरै हुने गरेको छ । र मात्रै दुई प्रतिशत दक्ष युवा, जो संसारभर सजिलै आउने जाने गर्छन् । उनीहरुले स्वदेश र विदेश दुवैतिर आवास व्यवस्थापन गर्ने हैसियत बनाएका हुन्छन् ।

पछिल्लो जनगणनापछि भारत पलायन र रोजगारीमा गएको डाटालाई छोडेर २२ लाखको हाराहारीमा विदेशमा रहेका नेपालीको संख्या भरखरै सार्वजनिक भएको छ । उनीहरुको पक्षमा बोल्ने, उनीहरुका मुद्दा उठाउने, उनीहरुको तर्फबाट हक अधिकारको बहस र पैरवी गर्ने र सरकारसँग आवश्यक समन्वय गर्न स्वदेश फर्किएका नेपालीहरुलाई संगठित गर्ने संस्थाको आवश्यकताले राष्ट्रिय युवा परिषद्को पहलमा २०७५ साल असार २७ गते स्वदेश फर्किएका नेपालीहरुको राष्ट्रिय भेला आयोजना गरी ‘रिटर्नी माईग्रेण्ट नेपाल’ जन्मियो ।

को हुन् त वास्तविक रिटर्नी ?

विदेश जानु वाध्यता, रहर र आवश्यकता के हो ? राम्रैसँग छलफल गर्न सकिन्छ । यस विषयमा लामो बहस गर्दैगर्दा केही मान्छेहरुले ‘देश छोडेर हिँड्ने भगौडाहरु’को संज्ञा पनि दिए । केही मान्छेहरुले ‘आफ्नो देशको नागरिकता त्यागेर विदेशी हुन रुचाउने जमातको के कुरा गर्नु ?’ पनि भने । तर रिटर्नी र उनीहरुको भावना बुझ्ने प्रयास कम भयो ।

बुँदागतरुपमा यसरी बुझौं रिटर्नीबारे

१. विदेशमा रहँदा आफ्नो देशको झण्डाप्रति असाध्यै प्रेम गर्ने, सगरमाथाको चित्र र बुद्धको मूर्ति सिरानीमा राख्ने राष्ट्रवादी नेपाली युवाहरुको समुदाय हो ।

२. वैदेशिक रोजगारी या अध्ययनमा रहँदा छिमेकी देशले नाकाबन्दी र सीमा अतिक्रमण गर्दा सामाजिक सञ्जालमा खबरदारी गर्ने र त्यसको डटेर सामना गर्ने राजनीतिक नेतृत्व र सरकारलाई जमेर साथ दिने सारथि नेपालीहरूको समूह हो ।

३. हाम्रो राजनीतिक अस्थिरता र रोजगारीको अभावमा वाध्यताले पलायन हुन परेको र थोरै भए पनि पुँजी, ज्ञान, सीप र अनुभव बोकेर स्वदेश फर्किएका नेपाली युवाहरुको समुदाय हो ।

४. विदेशमा रहँदा सरकारी प्रतिनिधि र राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो कडा ड्युटीसमेत मिलाएर एयरपोर्टमा स्वागत गर्न आउने र महत्वपूर्ण पर्यटकीय स्थलसँगै विकासका दृष्टान्त भिजिट गराउन सहजीकरण गर्ने र सानो गिफ्टसमेट दिएर स्वदेश फर्कँदा बिदाई गर्न एयरपोर्ट आउने नेपाली युवाहरुको समुदाय हो ।

५. आफ्नै आँखाले विकास देखेको, आफ्नो अविभावकको अभावमा विदेशी कानून र सिस्टमसँग मितेरी गाँसेर मिसिनको गतिमा आफूलाई समाहित गरेको र आफ्नै श्रमले विदेशी मरुभूमिलाई विकसित देश बनाएको नेपाली युवाहरुको समुदाय हो ।

६. नेपाली कुल ग्राहस्थ उत्पादनको झण्डै ३०% हिस्सा योगदान गरेको वैदेशिक रोजगारीमा सामेल भएर राष्ट्रको आह्वानमा एउटा उ,र्जा र लक्ष्य बोकेर देश बनाउन फर्किएको नेपाली युवाहरुको समुदाय हो ।

७. राजनीतिक परिवर्तनको मुद्दा लगभग पूरा भएको र मुलुकले समृद्धिको यात्रा तय गरेको परिप्रेक्ष्यमा समृद्धिको सारथि शक्तिको रुपमा योगदान गर्न सक्ने ज्ञान, सीप, पुँजी र प्रविधिमा अनुभवी, स्थिर मानसिकता भएको नेपाली युवाहरुको समुदाय हो ।
८. कडा श्रमसँग आफ्नो पहिचान गुमएर पनि मन आफ्नै देशमा, मिडिया र सूचना आफ्नै देशको लिएर नेपाली राजनीति, संस्कृति र सरकारलाई छिन–छिनमा नियाल्दै रमाइरहेको नेपालीहरुको समुदाय हो ।

त्यसैले, राजनीतिक अस्थिरता, आर्थिक अभाब, बेरोजगारी र भूमण्डलीय प्रभावका कारण रोजगारी र अध्ययनको सिलसिलामा देशबाट बाहिरिएको राष्ट्रवादी युवा जमात, जोे कम्तिमा एक भिषा वर्ष पूरा गरेर केही ज्ञान, सीप, अनुभव, पूँजी र प्रविधिको प्याकेजसहित एउटा लक्ष्य बोकेर स्वदेश फर्किएका छन् । र ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय अभियानमा महत्वपूर्ण योगदान गर्नसक्नेहरुको समुदाय नै रिटर्नी नेपाली हो ।

घुम्ने, मनोरञ्जन गर्ने, कुनै सभा–समारोहमा सहभागी भएर फर्कने नेपालीहरु यो रिटर्नीको परिभाषा भित्र पर्दैनन् उनीहरुले कम्तिमा एक भिषा वर्ष (दुई वर्ष)को अनुभव संगालेको हुनै पर्दछ ।

पार्टी जनसंगठनको रुपमा रिटर्नी संगठन किन ?

बहुदलीय व्यवस्थामा दलहरु नै महत्वपूर्ण मानिन्छन् । नीतिमा परिवर्तन गर्नु पर्यो भने राजनीतिक दल र त्यसको केन्द्रीय निकायमा छलफल र बहस नभएसम्म त्यस्तो विषयले प्राथमिकता पाउन सक्दैन । पार्टीहरुले रिटर्नीहरुको भावलाई बुझ्न सकेनन् भने सरकार र राष्ट्रको प्राथमिकतामा रिटर्नीका मुद्दाहरु पर्न सक्दैनन् ।

रिटर्नीको क्षमता र योगदानको क्षेत्रलाई राजनीतिक पार्टीहरुले राम्रो गरी बुझ्न आवश्यक छ । लाखौंको संख्यामा विदेशिएको जनशक्ति र सोही मात्रामा नेपाल फर्कँदै गरेको जनशक्तिलाई उसको ज्ञान, सीप, पुँजी र प्रविधिको भरपुर उपयोगको बारेमा राजनीतिक पार्टीहरुले नै निश्चित योजना र कार्यक्रम तय गर्न आवश्यक छ । अनि मात्र यो मुद्दाले प्राथमिकता पाउन सक्छ भन्ने निष्कर्षका साथ पार्टीको जनसंगठनको रुपमा विकास गर्न आवश्यक ठानी नेकपा एमाले पार्टी रुचाउने रिटर्नी साथीहरुले पार्टी समक्ष ‘रिटर्नी फेडेरेसन नेपाल’ नामको संगठन निर्माण गरी पार्टीसँगको आवद्धा खोजी गरे ।

पार्टीका तीनवटा बैठकमा प्रस्तावसहित विषय आरम्भ गरी लामो समयको छलफल, बहस र अन्तरक्रियापछि गत २०७८ पुस १६ गते नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भक्तपुरस्थित जर्मन होम्समा विभिन्न देशबाट स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधि मूलक राष्ट्रिय भेला आयोजना गरियो ।

भेलाले आफूहरु र यो संस्था मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको लक्ष्यसहित पार्टीको जनसंगठनको रुपमा आवद्ध भएर संगठित र परिचालित हुन चाहेको विषयलाई सकारात्मक रुपमा ग्रहण गरी पार्टीले रिटर्नीको यो प्रस्ताव र मुद्दालाई बोक्ने सन्देश दियो । यससँगै पार्टीको सचिवालयको बैठकबाट एउटा जनसंगठनको रुपमा स्वीकार गरी नियमावली र जनसंगठन निर्देशिका उल्लेख गरेपश्चात् यसले अरु जनसंगठनसरहको मान्यता प्राप्त गरेको छ ।

यस क्षेत्रसँग जोडिएर काम गरेको हिसाबले रिटर्नीका दुःख, पीडा बुझ्ने, उनीहरुको क्षमता पहिचान गर्ने, उनीहरुलाई संगठित गर्न पहलकदमी र सहयोग पुर्याउने दायित्व निर्बाह गर्ने मौका मलाई प्राप्त भयो । पार्टीको केन्द्रीय कमिटी सदस्यको नाताले यो मुद्दालाई पार्टी केन्द्रीय कमिटीको छलफलमा पुर्याउने कामको जिम्मेवारी निर्वाह गर्ने अवसर मैले पाएको भए पनि सिंगो एमाले केन्द्रीय कमिटीले यो भावलाई सर्वसम्मतिका साथ ग्रहण गरेपश्चात् नेपालको सबैभन्दा ठूलो राजनीक दलको जनसंगठनको रुपमा ‘रिटर्नी फेडेरेसन नेपालको जन्म भएको छ ।

अब विदेशिनु पर्दा टाढिएको पारिवारिक, सामाजिक र राजनीतिक सम्बन्धलाई पुनःस्थापित गर्ने र प्राप्त ज्ञान, सीप, पुँजी र प्रविधिको उपयोग गर्ने लक्ष्य राखेर जन्मिएको ‘रिटर्नी फेडेरेसन नेपाल’ले विदेश जान तयार भएको जनशक्तिलाई राम्रो मार्गदर्शन गर्नेछ ।

यसले विदेशमा रहेको जनशक्तिलाई प्रवासका पार्टी कमिटीसँग जोडाउँदै उनीहरुको दुःख, पीडामा अफ्ठेरोको साथी बनेर नेपाल सरकारसँग मुद्दाहरु उठाउने र समाधानका लागि सेतुको काम गर्नेछ । स्वदेश फर्कन अनुकुल वातावरण बनाउनुको साथै कमाएको पुँजीलाई उनीहरुको हितमा प्रयोग गर्न सहजीकरण गर्नेछ । त्यस्तै फर्किएका नेपालीहरुको पुनःस्थापन र परिचालनको नेतृत्व समेत फेडरेसनले गर्नेछ ।

देशभर विस्तार गरिने लक्ष्यसहित स्थापित यो संस्था साँचो अर्थमा समृद्धिको लागि कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । फेडरेसनलाई शुभकामना ।

(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech