७ बैशाख २०८१, शुक्रबार

न्यू डाँफे स्पोर्टस क्लबलाई फुटबल लिगको उपाधी
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्ला फुटबल लिगको उपाधी न्यू डाँफे स्पोर्टस क्लबले जितेको छ । नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा न्यू डाँफेले नेपालगन्जको युनाइटेड क्लवलाई ३-१ गोलले पराजित गरेको हो । खेलमा गोलको अग्रता न्यू डाँफेले लिएको थियो । २३ मिनेटमा बिमल बस्नेतले गोल गरेका थिए ।

युनाइटेडले विभुषण केसीको गोलबाट ४० मिनेटमा बराबरी गरेको थियो । मध्यान्तरपछि न्यू डाँफेले दुई गोल थपेपछि उपाधी जितेको हो । ५७ मिनेटमा विमल बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दा ७१ मिनेटमा प्रेम सुनारले अर्को गोल थपे । उपाधीसँगै न्यू डाँफेले ३१ हजार रुपैया पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

दोस्रो भएको युनाइटेड क्लवले २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डाँफेका बिमल बस्नेत भएका छन् । उनलाई नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले दुई हजार पाँच सय रुपैयाँ व्यक्तिगत रुपमा दिएर पुरस्कृत गरेका थिए ।

प्रतियोगिताका विजेता र उपविजेता, रेफ्री, पूर्व खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगर, नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिगको विजेता न्यू डाँफेले अब लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछ । संघले पूर्व खेलाडीहरु गोवद्र्धनसिंह सम्झना, गोविन्द श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, प्रदेशसिंह राठौर, निजामुद्दिन सिद्धिकी, दिपबहादुर महतरा र रितेश खड्कालाई सम्मान गरेको थियो ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech