१४ बैशाख २०८१, शुक्रबार

एक चोटी विचार गरौँ पृथ्वी किन तात्दैछ?
  • न्युज मानसराेवर

बाँके\ विश्व तापमान डेढ डिग्री सेल्सियसले बढ्ने एक अध्ययनले प्रक्षेपण गरेको छ। बेलायतका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अबको पाँच वर्षमा विश्वको तापमान १.५ डिग्री सेल्सियसका बढ्ने प्रतिवेदन सार्वजनिक गरेका हुन्।  सन् २०२६ मा सबैभन्दा धेरै गर्मी महसुस हुने बेलायतको राष्ट्रिय मौसम पूर्वानुमान निकायका अनुसन्धाताहरुको दाबी छ।

यद्यपि तापक्रममा हुने यस्तो वृद्धिदर २०२६ पछिका वर्षमा भने केही कम हुने आकलन छ। विगत तीन दशकदेख वायुमण्डलको तापमान बढाउने ग्यास उत्सर्जन तीव्ररुपमा बढेकाले तापमान बढ्दो क्रममा रहेको अध्ययनमा बताइएको छ।

औद्योगिक युग सुरु भएपछि विश्व तापमान वृद्धि हुन थालेको थियो। त्यसको रेकर्ड राख्ने कामको सुरुवात भने १९औँ शताब्दीको मध्यतिरबाट मात्र राख्न सुरु गरिएको हो।

सन् २०१५ मा विश्वतापमान १ डिग्री सेल्सियसले बढेको थियो।  जलवायु परिवर्तनबारेका समस्या समाधानका लागि पेरिस सम्झौता भएकै वर्ष विश्व तापमान १ डिग्री सेल्सियसले बढेको थियो। पेरिस सम्झौतामा शक्तिशाली राष्ट्रका नेताहरुले विश्व तापमान १.५ डिग्री सेल्सियस भन्दा तलै राख्न आवश्यक नीति कार्यान्वयन गर्ने सम्झौता गरेका थिए। गत नोभेम्बरमा भएको कोप-२६ सम्मेलनमा पनि उनीहरुले यसमा प्रतिबद्धता रहेको जनाउ दिएका थिए।

गत सात वर्षयता विश्व तापमान वृद्धि १ डिग्री सेल्सियस कायम रहँदा २०१६ र २०२० लाई सबैभन्दा तातो वर्षको रुपमा रेकर्ड राखिएको छ। विश्व तापमान १ डिग्री सेल्सियसले बढ्दा नै त्यसका नकारात्मक असरहरु देखिएका थिए। उत्तर अमेरिकाले गतवर्ष भयानक डढेँलोको सामान गर्नुपर्‍यो भने भारत र पाकिस्तानले सबैभन्दा बढी गर्मी खेप्नुपर्‍यो।

बेलायती अनुसन्धानकर्ताहरुको अध्ययनमा सन् २०२२ देखि २०२६ मा विश्व तापमान १.१ देखि १.७  डिग्री सेल्सियसम्म पुग्ने उल्लेख छ। २०२२ देखि २०२६ बीचका कुनैपनि वर्षमा विश्व तापमान १.५ डिग्री सेल्सियसले बढ्ने सम्भावना ४८ प्रतिशत रहेको अध्ययनमा भनिएको छ।

विश्व तापमान बढ्दा जलवायु परिवर्तनका कारण निकै गडबढी देखिएका छन्। चीनले अप्रत्यासित वर्षाको सामाना गर्नुपरेको थियो।

‘वायुमण्डलमा कार्बनडाइअक्साइड बढिरहेको छ। यसकै प्रभावस्वरुप जलवायु परिवर्तन देखापरेका छन्। मानिसहरु मौसमको अप्रत्यासित परिवर्तनका कारण निकै चिन्तित छन्,’ बेलायतका मौसम विभागका अधिकारी लियोन र्हर्म्यानसन भन्छन्, ‘पेरिस सम्झौताको थ्रेसहोल्ड नै नाघ्ने गरी विश्व तापमान बढ्ने संकेत देखापर्नु सुखद् होइन। पेरिस सम्झौतालाई व्यवहारमा कार्यान्वयनका निम्ति नवीकरणीय उर्जाको प्रयोगलाई बढाउनैपर्छ।’

नेपाल समय

पूर्वी जर्मनीको पिज नजिकैको पावर स्टेसनको दृश्य (सन् २०१९ नोभेम्बर ३०)। तस्बिर : जोन म्याकडोगल/एएफपी

प्राध्यापक पेट्री तालास हिउँ पग्लिँदै जाँदा समुन्द्री सतह बढ्दै जाने र मौसममा  देखिने खराबी बढ्दै जाने बताउँछन्। ‘जबसम्म समुद्रहरु बढी अम्लीय हुँदै जान्छन्। हिउँ पग्लिँदै जाँदा समुन्द्री सतह बढ्दै जानेछ र हाम्रो मौसम झनै खराब हुँदै जानेछ,’ उनले भने, ‘त्यसैले ग्रीन हाउस ग्यासलाई कटौती नगरेसम्म विश्व तापमानमा नकरात्मक असर बढ्दै जानेछन्।’

बेलायती मौसम अध्ययन निकाय मेट अफिसको उक्त  अध्ययनका अनुसार तापमान वृद्धिले आर्कटिक क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछ। अन्यत्रको भन्दा यस क्षेत्रको तापक्रम तीन गुणाले बढ्ने अध्ययेताहरुको दाबी छ। २०२२ देखि २०२६ बीच सबै वर्षमा २०१६ र २०२० को रेकर्ड ‘ब्रेक’ गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ।

हिमाली क्षेत्रमा खतरा
विश्वकै उच्च हिमशृंखला नेपालमा पर्छन्। हिमाली क्षेत्रमा गरिएका अध्ययनका अनुसार यहाँ सामान्यभन्दा ३ गुणा बढीको दरमा तापक्रम बढिरहेको छ। सामान्यतया ०.०२ डिग्री सेल्सियसका दरले बढ्नुपर्ने यस भेगको तापक्रम अहिले ०.०६ डीग्री सेल्सियसका दरले बढेको अध्ययनले खुलाएको छ। यस्तो असामान्य तापक्रम वृद्धिका असर छर्लङ्गै देखिन थालेका छन्। यद्यपि यो अध्ययनले सन् २०२२-२०२६ का वर्षमा हिमाली क्षेत्रमा कति तापमान वृद्धि हुन्छ भन्ने विषय समावेश गरेको छैन।

नेपालका हिमतालमा पानीको मात्रा बढ्दो छ। तापमान वृद्धिका कारण हिउँ अत्यधिक पग्लिएर नयाँ हिमताल सिर्जना हुने क्रम जारी छ। यसले हिमपहिरोको जोखिम बढाएको छ। तिलिचो  ताल समुद्री सतहभन्दा ४९१९ मिटरको उचाइमा छ। तिलिचोलाई विश्वको सबैभन्दा उच्च स्थानमा रहेको ताल भनेर चिनिन्छ। तापक्रम वृद्धिका कारण तिलिचो ताल फुट्ने सम्भावना बढिरहेको छ। तिलिचो जस्तै च्छो-रोल्पा, तल्लो वरुण, होङ्गुजस्ता नेपालका ५० भन्दा बढी हिमताल फुट्ने जोखिममा छन्।

सन् २०१२, जुन १२ का दिन सगरमाथाको काखमा रहेको ईम्जा ग्लेसियर पग्लेर बनेको हिमताल फुटेर बाढी आउँदा करिब २० लाख क्युविक लिटर पानी गाउँ पसेको थियो। सौभाग्यवश सही समयमा स्थानीय संस्था ‘खुम्बु अल्पाइन कन्जरभेसन काउन्सिल’ले बाँध निर्माण गरेका हुनाले जनधनको क्षति हुन भने पाएन।

ईम्जामा लगभग ८ करोड क्युबिक लिटर पानी छ। उक्त हिमताल पूर्ण रुपमा फुटेर बाढी आउने हो भने पानीले भेट्ने क्षेत्रमा सर्वस्व गुम्ने छ।

नेपाल समय

२० वर्ष अघिपछि लिइएका एकै ठाउँका दुई तस्बिर।

गुगल म्याप/अर्थबाट साभार यी तस्विर नेपालको थुलागी तालका हुन्। २० वर्षको अन्तरालमा खिचिएका दुई तस्विर दाँज्दा समय क्रमसँगै ताल बढेको देखिन्छ।

‘यदि थुलागी फुट्ने हो भने मर्स्याङ्दी, नारायणी हुँदै १०० किलोमिटर तलसम्म क्षति पुर्‍याउन सक्छ। यसका बाटामा पर्ने जलविद्युत परियोजना, सडक, बस्ती बगाएर लैजान सक्छ,’ ईसिमोडका पूर्ववैज्ञानिक प्रदीप मूल भन्छन्।

हिमतालको विषय त छँदै छ। तापक्रम वृद्धिका कारण सगरमाथा क्षेत्रमा पछिल्लो समय शव देखिन थालेका छन्। हिउँले पुरिएका ती शवहरू पनि सतहमा देखापर्नुको कारण तापमानमा भएको वृद्धि हो। हिउँ पग्लिएकाले शवहरू देखिन थालेको वैज्ञानिकहरू बताउँछन्। सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्म ३०० भन्दा बढी आरोहीले ज्यान गुमाइसकेका छन्, जसमध्ये दुई-तिहाईको शव त्यहीँ पुरिएका छन्।

बीबीसीका लागि नवीनसिंह खड्काले तयार पारेको सामग्रीमा सगरमाथामा हिउँ पग्लिएर मृतकका शरीर सतहमा देखापर्न थालेको कुराको उल्लेख गरिएको छ।

नेपाल समय

सगरमाथा क्याम्प ४ मा समतल भूभागका कारण अत्याधिक लाश देखापर्न थालेका छन्। ‘शवका हात तथा खुट्टाहरु विगत केही समययता आधार क्याम्पमै पनि देखिन थालेका छन्,’ गैर-सरकारी संस्थामा आवद्ध एक कर्मचारीले भने,’आधार क्याम्पमा पनि हिउँको सतह पातलिएको छ,त्यसैले शव बाहिर आइरहेका छन्।’

जलवायु परिवर्तनका असर र तिनले सिर्जना गर्ने पीडा हामीले भन्दा पनि आउँदो पुस्ताले व्यहोर्नुपर्ने हुन्छ। यसले मानिस र प्रकृतिबीचको सम्बन्ध सन्तुलनमा खैलाबैला ल्याउँनेछ। हामीले छोटो समयको फाइदा सोचेर उठाएका गलत कदमले भोलिका पिँढीलाई बाँच्नै अप्ठ्यारो पर्ने स्थिति खडा गरेका छौँ।

उत्तरदेखि दक्षिणसम्म जम्मा १८० किलोमिटरको दूरी मात्र ओगटेको नेपालमा अग्ला हिमशिखरदेखि समतल तराईसम्ममा विविध मौसम छन्। यस विविधताले प्राकृतिक धन प्रदान गरे तापनि अर्को जटिलता निम्त्याउँछ। मरुभूमि भएका देशमा एकैखाले संकट आइपर्छ, तर नेपालजस्तो देशमा एकैपटक बहुआयामिक समस्या सिर्जना हुन्छन्। हामीलाई यस्ता समस्यासँग जुध्न अरु देशभन्दा बढी श्रोत साधनको खाँचो पर्छ।

जल तथा मौसम विज्ञान विभागकी सर्जु वैद्य भन्छिन्, ‘पानीको मात्रा घटे पनि हिमताल फुटेर सुनामी जसरी बाढी आउने खतरा कायम नै रहन्छ। त्यसैले पूर्वाधार संरक्षण गर्न सम्भव नभएपनि मानिसहरुको जीवन बचाउनका लागि च्छो-रोल्पा र ईम्जाजस्ता उच्च जोखिमयुक्त तालहरुमा नियमित निगरानीको आवश्यकता छ।’

पेट्रोल, डिजेललगायतका खनिज र इन्धनको अनियमित प्रयोगका कारण ग्यासको उत्सर्जनले वायुमण्डलमा सूर्यबाट आएको तापलाई उम्कन नदिई यहीँ राख्छ। यसरी ताप वायुमण्डल प्रवेश त गर्ने तर बाहिर निस्किने नपाउने हुँदा यहाँको तापक्रम बढ्न जान्छ। पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि यहाँको प्राकृतिक प्रक्रियामै परिवर्तन आएको हो।

मनसुन समयभन्दा कहिले ढिलो र कहिले छिटो आउँछ। हिउँदमा अत्यधिक चिसो हुन्छ। गर्मीयाममा गर्मी उत्तिकै। यो मौमसमा देखिएको बदलाव हो। यसको कारण जलवायु परिवर्तन।

वैज्ञानिकहरुका अनुसार तीन दशकमा अलि-अलि बदलाव देखिनु खासै ठूलो खतराको संकेत होइन। यसलाई अस्वाभाविक नमान्दा पनि हुन्छ। तर,पछिल्लो समय परिवर्तन हुनका लागि तीन दशक धेरै लामो समय हुन्छ। छोटो समयमै ठूलो मात्रामा बदलाव देखिन थालेका छन्।

जलवायुको सन्तुलन बिग्रेसँगै आजभोलि अनपेक्षित वर्षा,बाढीपहिरो र खडेरीजस्ता प्राकृतिक घटनाक्रम बढिरहेका छन्।

(यो सामग्री समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो।) 

  • ३१ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech