१३ बैशाख २०८१, बिहीबार

२० औं कृष्ण सेन स्मृति दिवस: माओवादीले सम्झियो मात्रै !
  • न्युज मानसराेवर

बाँके\ आज पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज २० औं स्मृति दिवस । भूमिगत अवस्थामा रहेको तत्कालीन नेकपा माओवादीमा आस्थावान उनी गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाएवापत हिरासतमै मारिएका थिए ।

२०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतहरुमा कठोर यातना दिइ जेठ १३ गते हिरासतभित्रै उनको हत्या भएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा र उनी आवद्ध भएको पार्टी पटक पटक सरकारमा जाँदा पनि सेनका हत्याराहरुमाथि कारबाही हुन सकेको छैन । बहुप्रतिभाशाली कृष्णसेन कवि, लेखक र युद्धमोर्चाका पत्रकार, राजनीतिक विचारक तथा सशक्त मानवअधिकारवादी थिए ।

को हुन् कृष्णसेन ?

माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका सम्पादक रहेका कृष्णसेन इच्छुकको जन्म पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गतेका भारतको देहरादुनमा भएको थियो । पुख्र्यौली घर प्यूठान जिल्लाको साराङकोटमा भएपनि उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके बसाइँ सरेका थिए । ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बिताएका सेनका बुवा भारतीय सेनाका जागिरे थिए ।

कक्षा १ देखि ८ सम्म दाङको देउखुरीमा रहेको आदर्श माविमा पढेका इच्छुकले कक्षा ९ र १० जिल्लाकै लालमटियास्थित सरस्वती हाइस्कुलमा पढेका थिए । २०३२ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने उनको चाहना हुँदाहुँदै पनि गरिबीले उनी पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थालेका थिए ।

काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट बी।एड परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एमए अध्ययन गर्न थाले तर आन्दोलनमा लाग्दा उनले एम।ए।को पढाई पूरा गर्न सकेका थिएनन् ।

२०४८ सालमा तक्मा केसीसँग विवाह गरेका सेनको एक छोरी छन् । राजनीति,पत्रकारितासँगै साहित्य क्षेत्रमा पनि विशेष दख्खल उनले राखेका थिए । २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति‘ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका सेनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रमणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जलि’ काव्य लेखेका थिए । २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भएको थियो ।

पटक–पटक जेलमा बसेका सेनले इतिहासको यो घडिमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जलि लगायतका झण्डै आधादर्जन कृतिहरू छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी सेन प्रशासनको गिरफ्तारमा परेका थिए । जेलबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भएर विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०३९ सालमा पुनः पक्राउ परेका सेन साढे ५ वर्ष जेलमा बसेर २०४४ सालमा छुटेका थिए ।

विद्यालय तहदेखि कृष्ण सेन राजनीतिक विचारधारामा प्रभावित भएका थिए । २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बनेका थिए ।

२०४६ सालमा कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बनेपछि संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए । राजनीतिक जिम्मेवारीसँगै सेनले अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद, पत्रकार महासंघका पार्षद, दक्षिण एसियाली पत्रकार संघका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech