८ बैशाख २०८१, शनिबार

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा
  • दीपकराज जोशी

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्रको लडाइँ लड्यौं ।

बुवाले जेलमा बस्दाको सबैभन्दा धेरै समय यहाँहरूसँग नै बिताउनुभयो। सबैभन्दा नजिकबाट सुखदु:खका कुरा पनि तपाईंहरूसँग नै साट्नुभयो होला । मलाई थाहा भएसम्म तपाईंमध्ये थुप्रैको घरको समस्यालाई आफ्नै सम्झेर अहोरात्र खटिने मान्छे हुनुहुन्छ, मेरा बुबा । तर, आज तपाईंको भाइभतिजो तपाईंकै पार्टी नेपाली कांग्रेसका कार्यकर्ताद्वारा निर्मम तरिकाले कुटिएको छ । जसमा ज्यान मार्ने उद्योगसम्मको कसूर भएको छ र, पनि तपाईंहरू निन्द्रामा नै हुनुभयो या बुझपचाउनुभयो । तपाईं आफैं जान्नुस्, मान्छे सबैभन्दा पहिले मान्छे हुन्छ, अनि मात्रै कुनै पनि पार्टीको झोले बन्छ । मान्छेले आफ्नो स्वधर्म कुनै पार्टीको भरौटे भएकै आधारमा यसरी पनि बिर्सन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेर उभिनुभएकोमा तपाईंहरूलाई धन्यवाद ।

मैले अपेक्षा गरेका तपाईंमध्येका कसैबाट पनि भेटघाट र सहानुभूति त टाढाको कुरा शीघ्र स्वास्थ्यलाभको कामना पनि आएन । हुन त मेरो बुवाको स्वास्थ्यमा समस्या आएर भारत लैजाने समयमा जोशी मर्‍यो कि जिउँदै छ भनेर हेर्न आउनेहरूको अनुहार मेरो आँखाअगाडि अहिले पनि कहालीलाग्दो तबरले घुम्छ । त्यो समयमा पनि मान्छे यतिविघ्न निकृष्ट हुन सक्ने कुरा मैले आफ्नै आँखाले देखें, अनुभव गरें ।

म यतिबेला आफैँसँग एउटा अनुत्तरित प्रश्न गरिरहेको छु- तपाईंहरूले लडेको त्यो प्रजातन्त्रको लडाइँमा मानवीयताको गुञ्जायस बाँकी छ कि छैन ? कि पद र पैसाको तागत त्यति धेरै हुन्छ र बिर्साइदिन्छ तमाम कुराहरू?

आजसम्म मैले तपाईंहरूलाई ककाको हैसियतले हेर्ने गल्ती गरिरहेको रहेछु भन्ने कुराले आफैंलाई पिरोलेको छ । म त दुश्मन पो रहेछु । एउटा दुश्मनले अर्को दुश्मनलाई भाइचाराको नजरले हेर्ने दुष्प्रयास भएपछि मान्छेले उन्नति गर्दैन भन्ने कुरा साबित गरिदिनुभयो।

सम्झनुस् त, आज ममाथि आइलाग्ने जमात भोलि तपाईंका छोरा नतिमाथि आइलाग्यो र त्यसको परिणाम आजभन्दा विकराल भयो भने तपाईंलाई कस्तो महसूस हुन्छ होला?

तपाईंको आँखाअगाडि तपाईंको छोरीनातिनी बालात्कृत हुँदै गर्दा कसैले हेरिरह्यो भने तपाईंलाई कस्तो लाग्छ ? यो देशमा कानून छ कि छैन ? कि कानून पनि पार्टी विशेष हुन्छ ? मलाई आक्रमण भएको समयमा त्यहाँ खटिएको प्रहरी प्रशासन लाचार बन्यो । कि किनिन्छ यो देशमा कानून र दिइन्छ मौलाउन दण्डहीनताको खेती ? जिम्मेवार निकायमा रहनुभएका तपाईंहरूले जवाफदेही हुनुपर्छ कि पर्दैन ?

मेरो मात्रै नभएर कानूनी राज्यको पक्षमा उभिने नेपाली जनताको नजरमा आज तपाईंको नैतिकता एक्कासि तल झरेको छ। इतिहासमा नेपाली कांग्रेस कायर नामले लेखिएको छ । बेइमान भनेर चिनिएको छ। नैतिकहीन भनेर उभिएको छ । यसको जिम्मा तपाईंहरूले लिनुपर्छ।

निर्वाचन त केवल एउटा माध्यम हो। जनताको मनमा बस्नलाई चुनावी नतिजा मात्रैले भूमिका खेल्दैन । संसार जितेर के गर्नुहुन्छ, जब कुनै दिन तपाईं आफैसँग हार्नुपर्छ भने ?

ऐनाअगाडि उभिएर प्रश्न सोध्नुस्, र आफैँलाई दिने उत्तर छ या छैन विचार गर्नुस् ।

मेरा देखावटी कांग्रेसी काकाहरू, तपाईंहरूले लडेको प्रजातन्त्रको लडाइँ केका लागि थियो भनिराख्नु पर्दैन होला, किनकी यसको जवाफ तपाईंहरूले व्यवहारबाटै दिनुभएको छ ।

सिद्धान्तमा आदर्श खोक्ने तपाईंहरूको धोती नमज्जाले खुस्किएको छ।

आज मैले जे भोग्नुपर्‍यो यो कुरा इतिहसले सम्झने छ, र तपाईंका छोरा नातिले पनि सुन्नेछन् दण्डहीनताको पक्षधर तपाईंको कथा ।

हुन त मलाई तपाईंको बनावटी सहानुभूतिको जरुरत थिएन र छैन पनि । तर राजनीतिक दलका वरिष्ठ भनिएकाहरूको यो किसिमको प्रवृत्तिले हामीले कुन राजनैतिक संस्कार बोकिरहेका छौँ भन्ने कुरा प्रस्ट भएको छ ।

देखावटी नै सही तपाईंका कपटी सहानुभूतिले समाज र राष्ट्रमा एउटा अनुशासित राजनीतिको सन्देश दिन सकिन्थ्यो भन्ने मात्रै हो, तर त्यो भएन। राजनैतिक आचारसंहिता र अनुशासन सामान्य कुरा होइन र त्यो तपाईंहरूसँग अपेक्षा गर्नु मेरो ठुलो भ्रमबाहेक केही होइन ।

पद, पैसा र शक्तिको आडम्बरमा मानवता हराएको देशमा मैले यति ठूलो आशा राख्नु नै गलत हो। तर पनि चिन्ता नमान्नुस् काकाहरू, बुढेसकालमा कतै लौरो हातबाट खस्दा यो भतिज तपाईंको लौरो बनेर आउने छ । आत्मग्लानिले आँसु झर्दा त्यो आँसु रुमाल लिएर मेरै हातले पुछियोस्। मभित्र त्यो संस्कार छ । र गर्व छ मलाई कि म तपाईंहरू जस्तो छैन र बन्दिनँ पनि ।

मानवता त्यसबेला समाप्त हुन्छ, जब मानिसहरू अरूको दुख:मा हाँस्न थाल्छन् । यो ठीक त्यही समय हो जहाँ नैतिकता नष्ट भएको छ र मानवता हराएको छ ।

वाक स्वतन्त्रताको धज्जी उडाउने र मजाक बनाउने यो कस्तो प्रजातन्त्र हो,  जहाँ अन्याय भएको देख्दादेख्दै पनि कुनै पार्टीको मान्छे भएकै कारण बोल्न पाइँदैन। शायद यसका लागि थिएन होला बीपी र गणेशमानको त्याग, कृष्णप्रसाद भट्टराईजस्ता महान् नेताको नेतृत्व ।

आज कानूनी राज्य र दण्ड व्यवस्था केवल निर्धाहरूका लागि मात्रै लागू हुन्छ, किनकी पार्टीका स्वघोषित वरिष्ठहरूको सोचलाई दरिद्रताले ढाकेको छ।

केपी ओलीले कुनैबेला विश्वेरप्रसाद कोइराला अहिलेसम्म जीवितै भएको भए कांग्रेस छाडेर एमालेमा प्रवेश गर्थे भनेको सुन्दा थोरै दुःख लागेको थियो। तर अहिले आएर उहाँले भनेको कुरा सही रहेछ जस्तो लाग्यो । एमालेमा जान्थे कि जन्थेनन् त्यो त थाहा भएन, तर बीपी कोइराला आहिलेसम्म जीवित रहेको भए नेपाली कांग्रेस मा रहन्थेनन्, किनभने भट्टराई र गणेशमान पनि पार्टीबाट निकालिएका थिए । मानवताविनाको राजनीति र सामजिक रूपान्तरणको के नै अर्थ हुन्छ र ?

राजनीतिमा फरक धारमा रहेर फरक विचार बोकेर हिँड्नेहरू आफ्ना दुश्मन होइनन् र स्वस्थ प्रतिस्पर्धा गरेर नै निर्वाचन सफल बनाउनु प्रजातन्त्रको धर्म पनि हो भन्ने कुराको हेक्का शायदै यहाँहरूमा छ होला । हुन त अझै पनि बीपी कोइरालाको विचार बोकेका थोरै काकाहरू जीवितै छन्, बाटो बिराएका काकाका सन्तानलाई बीपीको विचार पढाउनका लागि ।

म चाहन्नँ मेरा काकाका छोरानाति काकाहरू जस्तै पद र पैसाको लागि दरिद्र बनून्, साथीको छोराको हत्याको प्रयास हुँदा आँखा चिम्लेर लाचार भएर बसून्। म चाहन्छु तिनले बोल्न सिकून्, अन्यायका विरुद्ध, अत्याचारका विरुद्ध र यो बेथितिका विरुद्ध । ती पार्टीका अन्धभक्त होइन, सचेत र निडर नेतृत्वको पर्याय बनून्।

तिनले राजनीतिलाई पेशा बनाएर नबदलून् आफ्नो जीवन मात्रै । देश र जनताको निम्ति बोल्न र लड्न सकून् ती ।

महामानवको संगतबाट पनि मानव हुन नसकेका मेरा काकाहरूमा मानवताको टुसा पलाओस् भन्दै अन्त्यमा सत्ता र सम्पत्तिको आडमा मानवीय मूल्य र मान्यताबाट विचलित हुँदै विवेक गुमाएका तपाईं सम्पूर्णको सुस्वास्थ्यको कामना गर्दछु । साभार

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech