१४ बैशाख २०८१, शुक्रबार

कोरोना बिमाको भुक्तानी दिन उच्च अदालतको परमादेश
  • न्युज मानसराेवर

बाँके\ उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोरोना बिमाबापतको रकम भुक्तानी दिन बिपक्षी बिमा कम्पनीहरुको नाममा परमादेशको जारी गरेको छ ।

कोरोना बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा अन्तिम सुनुवाइ गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकाल संयुक्त इजलासले बिपक्षी बिमा कम्पनीहरुको नाममा आदेश जारी गरेको अधिवक्ता वसन्त गौतमले बताए । रिट निवेदनको पक्षमा अधिवक्ताहरु सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवल सिंह थारु लगायतले बहस गरेका थिए । बिपक्षी बिमा कम्पनीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी, भोलासिंह हमाल अधिवक्ता ईश्वरी ज्ञवाली बहस गरेका थिए ।

कोरोना संक्रमणको बिमा गरेका बिमितले बिमा रकम पाउन नसकेको विषयमा नेपालगन्जका ७ जना अधिवक्ता र अधिकारकर्मीहरुले २०७८ कात्तिक १५ गते उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा बिमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए ।

बाँकेमा रहेका सिद्धार्थ, शिखर, राष्ट्रिय बिमा संस्थान लगायतका २० बिमा कम्पनीहरुले कोरोना बिमा गराए पनि सम्झौताअनुसार बिमा रकम उपलब्ध नगराएपछि मर्कामा परेका बिमितहरुको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, नेपाल बार एशोसिएसनका उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका अधिवक्ता सुनीलकुमार श्रेष्ठ, अधिवक्ताहरु लोकबहादुर शाह, विश्वजीत तिवारी, बलबहादुर चन्द र इन्सेकका भोला महतले संयुक्तरुपमा रिट दायर गरेका थिए । साभार

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech