बाँके\ चिसापानीस्थित राराबस्तीकी निशा बुढाले रारा तालको सौन्दर्य तस्बिरमा मात्रै देखेकी छन् । आफ्नो गाउँको नाम त्यही सुन्दर तालबाट बनेको हो भन्ने उनलाई थाहा छ । त्यही भएर पनि उनको मनमा राराको सौन्दर्यप्रति अनेक प्रश्न जन्मिएका छन् । ‘त्यहाँ जान मन छ तर घरबाट जान पाइँदैन । फोटो हेरेरै मन बुझाउँछु,’ उनले भनिन्, ‘त्यहाँका त फूल पनि राम्रा हुन्छन् रे ∕ फोटो हेर्दा अहिल्यै गइहालौंजस्तो हुन्छ ।’निशाजस्तै राराको सम्झना गर्नेहरू यस बस्तीमा थुप्रै छन् ।
सूर्योदय माविमा अध्ययनरत उमादेवी भट्टले पनि भविष्यमा रारा घुम्ने योजना सँगालेकी छन् । ‘ताल राम्रो छ रे ∕ पानी पनि हरियो ∕’ उनले भनिन्, ‘१० कक्षा पास गरेपछि जसरी पनि जाने हो घुम्न ।’ मधेसको रारा बस्तीमा जन्मे पनि उनीहरू मुगुको रारा तालका बारेमा धाराप्रवाह बोल्न सक्छन् । कक्षा १० की तुलसी बुढाको कुरा सुन्दा रारामै जन्मेकी, हुर्केकीजस्तो भान हुन्छ । ‘यहीं जन्मे पनि मलाई रारा जाने तीव्र इच्छा छ । किनभने, निकै रमणीय ठाउँ हो रे । फोटो हेर्दा त आफैं गएर घुमेजस्तो लाग्छ,’ उनले भनिन्, ‘त्यहाँ गएर हिउँमा चिप्लेटी खेल्ने रहर छ । हिउँकै गोलगप्पा बनाएर खान मन छ । त्यहाँ स्याउ, आरु र काफल पाइन्छन् रे । त्यहाँ पुग्न पाए फोटो खिचेर टिकटक पनि बनाउँथे ।’
२०३३ सालतिर रारा क्षेत्रबाट बसाइँ सरेकाहरूका नयाँ पुस्ता राराको सौन्दर्य बखान गर्दा पुराना दिनको सम्झनाले हुरुक्कै हुन्छन् । बाबुआमाबाट सुनेको त्यहाँको स्मृतिकथाले मात्रै पनि उनीहरूको मनमा राराको अनेकन चित्र बनेको छ । रारा राष्ट्रिय निकुञ्ज स्थापना गर्न राजा वीरेन्द्रले मुगुको तत्कालीन रारा गाउँ पञ्चायतका बासिन्दालाई स्थानान्तरण गराएका थिए । त्यहाँका करिब ३ सय ६५ घर–परिवारलाई बर्दियाको मोतीपुर र दमौलीमा सारिएको थियो । बर्दियामा आएकाहरू पछि बाँके सरे । ‘राजा वीरेन्द्र त्यहाँको भिरपाखा घुम्दै आउनुभयो । जनताले आलु, जौ र फापर खाएको नजर भयो । त्यो दुःख देखेर उहाँले नै हामीलाई तराईमा सार्नुभयो,’ हरिसिंह लोहारले हिमालको काखबाट मधेसको बाँके झर्नुको कारण सुनाए । त्यहाँ खानेपानीको संकट र औलो लागेर धेरै वृद्धवृद्धाको ज्यान गएको उनी बताउँछन् ।
अर्का मुगाली बल बुढाले खाद्यान्नसँगै औषधि उपचारको चरम संकटका कारण अकालमा ज्यान जान थालेपछि राजा वीरेन्द्रले आफूहरूलाई तराईमा सारेको बताए । ‘राजालाई भेट्न र समस्या सुनाउन हामी उतै गयौं,’ बुढाले भने, ‘राजाले ठाकुरद्वारा बोलाउनुभयो । त्यसपछि यता पठाइदिनुभयो ।’ जहाँ बसे पनि राराको सम्झना भने झलझली आइरहने उनले बताए । ‘तराईको गर्मीमा पसिना पुछिरहँदा राराको सपना खुबै देख्छौं,’ उनले भने, ‘कतिखेर उता जाऊँ भन्ने लाग्छ । उडेर/गुडेर जसरी भए पनि उतै जान मन लाग्ने ।’ हरि सिंह तराई झरेपछि ६ पटक रारा पुगेर फर्किएका छन् । ‘सम्झना आउँछ । अति माया लाग्छ । के गर्ने फर्केर जाऊँ भने सकिँदैन,’ भावुक हुँदै उनले भने, ‘रारा तालय आँसु झारय… भन्ने गीत पनि बिर्सिंदै गइयो ।’
मुगुमा कोही बिरामी भए उपचारै नपाई प्राण त्याग्नुपर्ने अवस्था रहेको राम सिंह बताउँछन् । ‘यहाँ त तुरुन्तै अस्पताल पुर्याउन सकिन्छ । यता यही सुविधा बढी हो । बसोबास, रहनसहन र खानपान भने उतैको राम्रो लाग्छ,’ उनले भने, ‘घट्टमा पिसेको गहुँ र जौको पिठो निकै स्वादिलो हुन्थ्यो ।’ वैशाख र जेठमा राराको बढी सम्झना आउने उनले बताए । ‘त्यस बेला जंगलमा चराचुरुंगी र न्याउली बास्छन्,’ उनले भने, ‘रारा छेउमा ढकमक्क गुराँस फुल्छन् । रमाइलो हुन्छ । त्यो सम्झिँदा उतै फर्किन मन लाग्छ । तर, सबै कुरा मनले सोचेजस्तो हुँदो रहेनछ ।’ इकान्तिपुर