बुटवल\कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुवेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजिराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजिराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उक्त एयरलाइन्सले अहिले सोमवार, मंगलवार र शुक्रवार उडान गरिरहेको छ ।
यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र यात्रु संख्या बढ्ने प्रक्षेपणसहित उडान संख्या थपिएको जजिराले बताएको छ । कम्पनीले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलंका र यूरोपमा उडान सञ्चालन गर्दै आएको छ ।
जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । जजिराले नियमित उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको छ । थप एयरलाइन्सले भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले बताएको छ ।
उक्त विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ (३० अक्टोबर) देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान गर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।
हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ । यससँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने एयरलाइन्स दुई पुगेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ एयरलाइन्सले उडान गर्दै आएका छन् । कोभिड–१९ महामारीपछि मुलुकको अन्तरराष्ट्रिय उडान विस्तारै लयमा फर्कंदै गरेको प्राधिकरणले बताएको छ । अहिले अन्तरराष्ट्रियमा ७० प्रतिशत बढी अकुपेन्सी रहेको प्रवक्ता निरौलाले बताए । कोभिडपूर्व ३० भन्दा बढी एयरलाइन्सले काठमाडौं विमानस्थल भएर उडान गर्दै आएका थिए । रासस