१५ मंसिर २०८१, शनिबार

उम्मेदवार नटुंगिँदै प्रचारप्रसार
  • न्युज मानसराेवर

बाँके\उम्मेदवारको टुंगो नलाग्दै बाँकेको निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले प्रचार थालेका छन् । जसपाका लुम्बिनी प्रदेश संयोजक तथा भौतिक योजना तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरका निवर्तमान प्रमुख धवलशमशेर राणा उम्मेदवारको टुंगो नलाग्दै निर्वाचनमा होमिएका हुन् ।

मंसिर ४ मा हुने निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. २ मा राई र राणाले आफू उम्मेदवार बन्ने दाबी गरिरहेका छन् । सोही अनुरूप उनीहरू मैदानमा उत्रिइसकेका हुन् । उनीहरूले विभिन्न दलका असन्तुष्ट कार्यकर्तालाई पार्टी प्रवेश र टोलटोलमा कार्यक्रम गर्दै आएका छन् ।

सत्तारुढ गठबन्धन दलमध्येको कांग्रेसले पनि उक्त निर्वाचन क्षेत्रबाट कांग्रेस बाँकेकी पूर्वसभापति किरण कोइरालालगायतको नाम सिफारिस गरेको छ । तर, मन्त्री राई भने गठबन्धनबाट आफूले उम्मेदवारी पाउनेमा ढुक्क छन् । मन्त्री राईले चुनावमा मतदाता आकर्षित गर्न अहिले सडक, पुललगायतका भौतिक संरचना निर्माण गर्ने भन्दै धमाधम विकास योजनाका कामहरू शिलान्यास गरिरहेका छन् । सोमबार मात्रै उनले डुडुवा गाउँपालिकामा ६ वटा साना पुलको शिलान्यास गरे । त्यसअघि, राप्ती नदीमा नयाँ पुल निर्माण, आकासे पुल, चारलेन सडक स्तरोन्नतिको शिलान्यास गरिसकेका छन् । ‘मेरो उद्देश्य भनेकै बाँकेको विकासमा लक्षित छ,’ उनले भने ।

उता राणा पनि टोलटोलमा हुने कार्यक्रममा सहभागी हुँदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । उनले बुधबार एकै दिन आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाए । ‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्ना । आजको आवश्यकता भनेको मुलुकलाई भ्रष्टाचारबाट जोगाउनु हो,’ उनले भने, ‘भ्रष्टाचारलाई नियन्त्रण गर्न जनताले सही व्यक्तिलाई भोट दिनुपर्छ ।’

उक्त निर्वाचन क्षेत्रबाट मन्त्री राई २०६४ र २०७० को निर्वाचनमा दुईपल्ट संघीय सांसदमा विजयी भइसकेका छन् । त्यस्तै, राणा २०४८ र २०७४ को स्थानीय तह निर्वाचनमा नेपालगन्जको प्रमुख भइसकेका छन् । २०७४ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं. २ मा मधेसी जनअधिकार फोरमबाट मन्त्री राईले २१ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका थिए । एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ र राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत पाएका थिए ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech