कोहलपुर, साउन १०। निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा दुईदिने निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS) सम्बन्धी तालिमको उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख रविलाल मिजार ले शैक्षिक क्षेत्रमा एकरूपता कायम गर्दै शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धि गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (CAS) महत्वपूर्ण रहेको बताए।

उनले सामुदायिक विद्यालय, प्याब्सन, एनप्याब्सन तथा क्रिसासँग समन्वय र सहकार्य गर्दै समग्र कोहलपुर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखाले निरन्तर काम गरिरहेको उल्लेख गरे। साथै, तालिममा सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकालाई सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसी ले प्याब्सनमा आबद्ध शिक्षक–शिक्षिकाको अध्यापन कार्यलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय बनाउन तालिम आयोजना गरिएको जानकारी दिए। उनले प्याब्सन कोहलपुरले शैक्षिक विकास र गुणस्तर सुधारका क्षेत्रमा निरन्तर महत्वपूर्ण योगदान पुर्याउँदै आएको पनि बताए।
कार्यक्रममा प्याब्सन बाँकेका जिल्ला सचिव लक्ष्मण सिंह, जिल्ला सल्लाहकार दिनेश सिग्देल, कोहलपुर प्याब्सनका सल्लाहकार गोविन्द सुवेदी लगायतको उपस्थिति रहेको थियो।
तालिममा गण्डकी प्रदेश तालिम केन्द्र, दमौली (तनहुँ) का प्रशिक्षक तथा सहजकर्ता दामोदर कार्की ले दुई दिनसम्म सहजीकरण गर्नेछन्। तालिममा प्याब्सन कोहलपुरमा आबद्ध २८ वटा विद्यालयका १४० जना शिक्षक–शिक्षिका सहभागी रहेका छन्।










