१४ बैशाख २०८१, शुक्रबार

पर्यटन र रैथाने कृषिबालीले समृद्धि उन्मुख बन्दै डोल्पा
  • रासस

बाँके\डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे होटल चलाउँछन् । उनी बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारी समेत गराउँछन् ।

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्या बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ । उपल्लो डोल्पा आउन चाहने व्यक्तिले त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा फोन, इन्टरनेटमार्फत दोर्जेलाई सम्पर्क गरी जानकारी लिने गर्दछन् ।

उपल्लो डोल्पाको चर्चित ठाउँ धोमा अहिले उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउन उपयुक्त समयको खोजीमा छन् । उवा उपल्लो डोल्पाको मुख्यबाली रूपमा लिइन्छ । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ ।

वैशाखमा लगाएको उवा बाली असोजमा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ । उपल्लो डोल्पाका स्थानीयवासी अबको एक हप्तामा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताए ।

उपल्लो डोल्पाको फोक्सुण्डो ताल, प्राचिन गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्न देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्दछन् । उपल्लो डोल्पालाई चिनाउन वर्षेनि विभिन्न नाम दिएर मेला तथा महोत्सव हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती सीमासम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।

११औं शताब्दीमा निर्मित शे गुम्बाको यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिश गरिएको छ । जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली शहरको नीति ल्याएर काम शुरू गरेको छ ।

उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाट समेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी रहेको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्न काम निरन्तर जारी छ ।

जिल्लाको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण जारी छ । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ ।

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूवमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ ।

भेरी कोरिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण जारी रहेको छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी छ । यो पर्यटकीय रूटको रूपमा स्थापित हुँदै आएको छ । यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण कार्य जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ ।

यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउले समेत बजार
पाउनेछ । आर्थिक रूपमा सक्षम बनाउन यहाँको स्याउ आम्दानीको स्रोत हो । यार्सागुम्बासहित अन्य मूल्यवान् जडीबुटी डोल्पाका आम्दानीका आधार हुन् ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech