१० मंसिर २०७९, शनिबार

बालकृष्ण खाण: अरुलाई त्यागको पाठ, आफूलाई सधैँ लाभ
  • न्युज मानसराेवर

बाँके\गत असोज ८ गते भैरहवामा शान्ति बुद्ध गुम्बा उद्घाटनका क्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा सबैलाई टिकट दिन नसकिने बताए। सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै उनले अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने भन्दै कार्यकर्तालाई त्याग गर्न आह्वान गरे।

‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाई छुनुपर्ने संकल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो’, उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ।’

अरुलाई त्यागको पाठ पढाउने उनै खाणले भने आफूले भने त्यस्तो पाठ पढ्न आवश्यक ठानेको देखिँदैन। २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष र २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष भएका उनी २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। उनी २०४८ सालदेखिका सांसद पनि हुन्। पहिलो पटक सांसद् बन्दा उनी केवल ३० वर्षका थिए।

२०४८ सालमा उनी रुपन्देही- ३ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले १६ हजार ७७८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशरमणि पोखरेलले १४ हजार ६४० र नेपाल सद्‌भावना पार्टीका ओमकार नाथ दुवेले ३ हजार ५६१ मत पाएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा भने उनी पराजित भए। रुपन्देही- ३ मा भएको प्रतिस्पर्धामा एमाले उम्मेदवार मोदनाथ प्रश्रितले १९ हजार ६७५ मत पाउँदा खाणले १५ हजार ३४९ मत मात्रै पाए। राप्रपाका प्रदीप उदयले ५ हजार ४६२ मत पाए।

२०५६ मा भने खाण उम्मेदवार भएनन्।

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा उनी रुपन्देही- ३ बाटै निर्वाचित भएका थिए। खाणले १६ हजार ७९० मत पाएका थिए। एमाले उम्मेदवार लिला गिरीले १५ हजार ४५८ र नेकपा माओवादी उम्मेदवार तेजकुमारी पौडेलले ११ हजार ५५४ मत पाएका थिए।

२०७० मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए। त्यतिबेला खाणले १९ हजार ४८१ मत पाएका थिए। एमाले उम्मेदवार घनश्याम भुसालले १८ हजार ३९५ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार झमबहादुर गुरुङले ४ हजार ६२० मत पाएका थिए।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा खाण प्रत्यक्षतर्फ उम्मेदवार भएनन्, समानुपातिक सूचीमा बसे। समानुपातिकतर्फ रहे पनि उनी सांसद बन्ने निश्चित जस्तै थियो। किनकि, उनी खसआर्य समूहको पुरुषतर्फ पहिलो नम्बरमा बसेका थिए। सोही अनुसार सांसद पनि बने।

पार्टीभित्र देउवा समूहको बलियो खम्बा रहँदै आएका खाणले त्यस अनुसारको लाभ पनि पाइरहेको घटनाक्रमले देखाउँछ। सांसद मात्रै होइन, मन्त्री समेत भइसकेका छन्। उनी २०६१ मा गठित देउवा नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए। २०६६ मा गठित माधवकुमार नेपाल नेतृत्वको सरकारमा सिँचाइ मन्त्री भएका थिए। त्यस्तै, २०७३ मा गठित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए। २०७८ मा गठित देउवा नेतृत्वको सरकारमा उनी गृहमन्त्री छन्।

अहिले त उनले श्रीमतीलाई पनि सांसद बनाउने प्रयास थालेको भनेर आलोचना खेपिरहेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ कांग्रेसको गत असोज ३ गते बुझाएको बन्दसूचीमा मञ्जु खाणको पनि नाम छ, उनी बालकृष्ण खाणकी श्रीमती पनि हुन्। त्यसो त, खाण २०७४ को निर्वाचनमा पनि समानुपातिक सूचीमा थिइन्। उनको नाम खसआर्य समूहको महिलातर्फ आठौं नम्बरमा थियो। तर, उनी भने त्यतिबेला सांसद बन्न पाइनन्।

[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech